
काठमाडौं । पर्खाइ १८ वर्ष लामो । विश्वकै उत्कृष्ट क्रिकेटरले एउटा घरेलु ट्रफी जित्न पर्खिएको समय हो यो । र, यो पर्खाइको सुरुआत हुन्छ, सन् २००८ बाट । जबदेखि भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल)को सुरुआत भयो । पर्खाइको यो सिलसिला १८ वर्षपछि २०२५ मा आएर समाप्त भयो ।
आईपीएल–२०२५ को फाइनलमा पञ्जाव किंग्सका ब्याटर शशांक सिंहले अन्तिम ओभरको दोस्रो बलमा बाउन्ड्री प्रहार गर्न चुकेपछि बेंगलुरुको जित लगभग पक्का भएको थियो । पञ्जावलाई जितका निम्ति अन्तिम ओभरमा २९ रन आवश्यक थियो । अर्थात् हरेक बलमा बाउन्ड्री चाहिन्थ्यो ।
क्रिजमा रहेका शशांक सिंहले प्रयास नगरेका पनि होइनन् । तर, उनले अन्तिम ओभरको सुरुआती दुई बल डट खेले । यही दुई बल बेंगलुरुको जितमा निर्णायक बन्यो । त्यसपछिका चार बलमध्ये तीनमा छक्का र एक चौका प्रहार गरे पनि शशांकले पञ्जावलाई उपाधिसम्म डोहोर्याउन सकेनन् ।
अन्तिम बल छक्का भए पनि बेंगलुरुलाई आफ्नो ‘पहिचानसहितको घर’ बनाएका विराट कोहली आईपीएल च्याम्पियन बने । १८ वर्षदेखि सुरु भएको यो सपना पूरा भएपछि कोहलीले भावना रोक्न सकेनन् । कहिले उनी आँशुले भरिएका आँखा लुकाउने प्रयास गरिरहेका थिए । कहिले आकाशतर्फ हेर्थे । उनी मैदानमै भावह्विल बने । घुँडाले मैदानमा टेकेर बसे र हातले मुख छोपे । यसले पनि देखाउँछ, कोहलीको करियरमा आईपीएलको उपाधि कति महत्त्वपूर्ण थियो भन्ने ।
जितबाट भावुक बनेका कोहलीले भने, “मैले यस्तो दिन देख्छु भनेर सोचेको थिइन ।”
विराटमाथि सन् २००८ मा बेंगलुरुले लगाएको दाउ
बेंगलुरुले विराटमाथि यस्तो बेला दाउ लगाएको थियो, जतिबेला कोहलीले भारतीय राष्ट्रिय टिमबाट डेब्यु समेत गरेका थिएनन् । पहिलोपटक च्याम्पियन बनेपछि कोहलीले समर्थक पनि उत्तिकै जितको हकदार भएको बताए ।
“१८ वर्ष लामो पर्खाइ रह्यो । मैले यहाँ आफ्नो जवानी, आफ्नो उत्कृष्ट र अनुभव दिए । मैले यो दिन आउँछ भन्ने सोचेको थिइन । अन्तिम बल फ्याकेपछि म भावुक भए,” जितपछि कोहलीले भने, “जे भए पनि, म यो टिमसँग जोडिएर रहे । मेरो आत्मा बेंगलुरु र यही टिममै छ । म यो टिमसँग आईपीएल खेलुन्जेल रहन्छु ।”
उनले च्याम्पियनको यो पललाई करियरकै उत्कृष्ट अनुभवमध्येको पनि भने । “आज म एक बच्चाजस्तै सुत्नेछु । धेरै मान्छेहरूले अक्सनपछि हामीलाई प्रश्न उठाए । तर, जे हामीसँग थियो, त्यसमा खुसी थियौँ । यो जित बेंगलुरुका लागि हो ।”
सन् २००८ मा कोहलीकै कप्तानीमा भारतले यू–१९ विश्वकपको उपाधि जितेपछि उनको चर्चा सुरु भएको थियो । सुरुमा बेंगलुरुले उनलाई २० लाख रुपैयाँमा किनेको थियो । जतिबेला उनले भारतको सिनियर टिमबाट अनुभव लिएका थिएनन् ।
तर, यसपछि कोहलीले आईपीएल र अन्तर्राष्ट्रिय क्रिकेटमा पछि फर्केर हेर्न परेन । पहिलो सिजन उनले ब्याटबाट धेरै रन जोड्न सकेनन् । उनले १३ खेलमा १६५ रनमात्रै बनाउन सके ।
तर, २०१० सम्म आउँदा उनको प्रदर्शन सुधारियो । त्यही सिजन उनले पहिलोपटक आईपीएलमा ३०० भन्दा धेरै रन बनाए ।
२०११ मा कप्तानी जिम्मेवारी
बेंगलुरुले सन् २०११ मा कोहलीलाई कप्तानी जिम्मेवारी सुम्पिएको थियो । सोही सिजन कोहलीले १६ खेलमा ५५७ रन बनाउँदा बेंगलुरुले फाइनलसम्मको यात्रा तय गर्यो । तर, महेन्द्रसिंह धोनीको टोली चेन्नाई सुपर किंग्सविरुद्ध बेंगलुरु निराश बन्यो । सन् २०१६ मा बेंगलुरुले पुनः फाइनलसम्मको यात्रा तय गर्यो । यो सिजन कोहलीको प्रदर्शन कीर्तिमानी रह्यो । उनले १६ खेलमा ९७३ रन बनाए । एकै सिजनमा कुनै पनि ब्याटरले आईपीएलमा बनाएको यो हालसम्मकै सबैभन्दा धेरै रन हो । यसक्रममा उनले चार शतक र सात अर्धशतक प्रहार गरे ।
तर, फाइनलमा सनराइजर्स हैदराबादसँग आठ रनले पराजित हुँदा बेंगलुरु पुनः उपाधिबाट चुक्यो । यसपछिका हरेक संस्करणमा कोहलीको ब्याटबाट रन बन्दै गयो । तर, बेंगलुरुले उपाधि जित्न भने सकेन । च्याम्पियन बनाउन नसकेको निराशामा कोहलीले सन् २०२३ मा बेंगलुरुको कप्तानी छोडे । तर, उनले रन बनाउने क्रमलाई भने रोकेनन् ।
कोहलीले सन् २०२३ मा ६३९ र २०२४ मा ७४१ रन बनाएका थिए । यसैबीच कोहली आईपीएलमा आठ हजार रन बनाउने पहिलो खेलाडी बने । यस वर्ष पनि बेंगलुरुलाई च्याम्पियन बनाउन कोहलीको प्रदर्शन महत्त्वपूर्ण रह्यो । उनले १५ खेलमा ६५७ रन बनाउँदै बेंगलुरुले १८ वर्षअघिदेखि देखेको सपनालाई पूरा गरे ।