काठमाडौं । नेपाली सिनेमा बजारमा ‘हल्काफुल्का’ तरिकाले प्रस्तुत भएका चलचित्र नै प्रायजसो ‘हिट’ हुने गरेका छन् । उठान गरेको विषयलाई हल्का तरिकाले प्रस्तुत गरेका चलचित्र दर्शकले मन पराउने गरेको पाइएको छ । विषयलाई रमाइलो तरिकाले प्रस्तुत गरेका सिनेमामा दर्शकको आकर्षण देखिएको छ ।
यो तथ्यलाई नेपाली बक्सअफिसले पनि पुष्टि गर्छ । बक्सअफिसको रिपोर्ट हेर्दा कमेडी र डार्क कमेडी चलचित्र दर्शकले मन पराएको देखिन्छ । ‘कबड्डी’ र ‘छक्का पञ्जा’का सिरिज, ‘महापुरुष’, ‘जात्रा’, ‘के घर के डेरा’जस्ता चलचित्र जसले गम्भीर विषयलाई पनि रमाइलो तरिकाले प्रस्तुत गरेका छन्, तिनै चलचित्र बक्सअफिसमा हिट भएका छन् । तर, यसबाहेकका सिनेमा पनि चलेका भने छन् । ‘जारी’ यसको उदाहरण हो ।
तर, गम्भीर विषयमा तर्कसंगत तरिकाले बनाइएका चलचित्र भने अक्सर दर्शकको रोजाइमा कमै पर्ने गरेका छन् । पछिल्लो समयका ‘पानी फोटो’, ‘दोख’, ‘चिसो मान्छे’, ‘हल्कारा’, ‘ऐना झ्यालको पुतली’, ‘प्रकाश’, ‘कौसिद’लगायत चलचित्रमा गम्भीर विषय उठान गरेर तर्कसंगत तरिकाले कथा भनिए पनि दर्शकले मन पराएको देखिँदैन ।
पछिल्ला केही वर्षयता कमेडी जानरामा बनेका चलचित्रले गरेको कलेक्सन र अन्य जानरामा बनेका चलचित्रको कमाइले पनि ‘हल्काफुल्का’ चलचित्रको बजार रहेको पुष्टि गर्छ । गत आर्थिक वर्षमा रिलिज भएका कुल नेपाली चलचित्रमध्ये ‘कबड्डी’ र ‘छक्का पञ्जा’ले मात्रै बाँकी सबै नेपाली चलचित्रको हाराहारीमा बक्सअफिसमा कलेक्सन गरेका थिए । यसले पनि नेपाली बजारमा कस्ता सिनेमाको माग उच्च छ भन्ने संकेत गर्छ ।
कलाकार तथा निर्माता दीपकराज गिरी सिनेमा मनोरञ्जनात्मक नै हुनुपर्ने बताउँदै आएका छन् । दर्शक हलमा मनोरञ्जनकै लागि जाने उनको तर्क छ । ‘आज केही कुरा सिकौँ’ भनेर कोही पनि हलमा नजाने गरेको उनको भनाइ छ ।
‘बोर’ भएपछि मनोरञ्जनका लागि दर्शक हलमा जाने गरेको दीपक बताउँछन् । त्यसैले आफूहरूले सधैँ मनोरञ्जनात्मक सिनेमा बनाउने गरेको दीपकको तर्क छ । जिन्दगीको तनाव दुई घण्टा भए पनि बिर्सिन हलमा जाने गरेको उनको भनाइ छ ।
दीपकको तर्कमा हास्यकलाकार विल्सनविक्रम राई सहमत छन् । तनावपूर्ण जिन्दगीमा दुई घण्टा भए पनि हाँस्न दर्शक हलमा जाने गरेको विल्सन बताउँछन् ।
“मान्छेको जिन्दगीमा सधैँ तनाव र भागदौड छ । यो भागदौड र तनावलाई दुई घण्टामात्रै भए पनि बिर्सिन दर्शक हलसम्म जानुहुन्छ भन्ने लाग्छ,” विल्सन भन्छन्, “नेपालमा मात्रै होइन, विदेशमा पनि यस्तै हो । कमेडी सिनेमा नै चलेको देखिन्छ ।”
अहिलेको आर्थिक मन्दी र त्यसले सिर्जना गरेको अभाव र तनावले पनि दर्शक केही समय भए पनि हाँस्न सिनेमा हल गइरहेको उनको भनाइ छ । लभस्टोरी, एक्सन, थ्रिलर, मेलो ड्रामालगायत जानराका चलचित्रको कुनै समयमा ‘ट्रेन्ड’ चल्ने गरे पनि कमेडी जानराका सिनेमा भने सधैँ चल्ने गरेको उनको दाबी छ ।
“एक्सन भए पनि त्यसमा कमेडीचाहिँ चाहियो । कमेडीमा एक्सन नभए पनि भयो, सिनेमा चल्छ । तर, एक्सन सिनेमा छ भने पनि त्यसमा बीचबीचमा कमेडी हुनैपर्छ जस्तो भएको छ,” विल्सन अगाडि थप्छन्, “सायद परिस्थितिको उपज पनि होला । तर, अहिले कमेडी नै चाहिएको छ । गम्भीर विषय भए पनि त्यसमा दर्शकले त्यसलाई कमेडीमा खोजिरहेको अवस्था छ ।”
दीपकराज गिरी र विल्सनविक्रम राईको विचारमा सिनेमा हल सञ्चालक, वितरक तथा निर्माता नरेन्द्र महर्जन भने सहमत छैनन् । कुन जानरा र प्रस्तुति गहन र हल्काभन्दा पनि राम्रो नराम्रोले हलमा असर गर्ने उनको भनाइ छ ।
“कमेडी र हल्काफुल्का चलचित्र मात्रै चलेका छन् भन्दा पनि मेरो विचारमा राम्रा चलचित्र चलेका छन् भन्ने मेरो बुझाइ छ । चलचित्रको जानराभन्दा पनि कन्टेन्ट चलिरहेका छन् भन्ने लाग्छ,” नरेन्द्र भन्छन्, “बलियो कथावस्तु जुन सिनेमाको छ, त्यही नै चलिरहेका छन् । छक्कापञ्जा र कबड्डी चलिरहेका बेला जारी पनि चलिरहेको छ । अहिले परदेशी पनि राम्रो चलिरहेको सिनेमा हो । परदेशी कमेडी नभएर गम्भीर विषय उठान गरेको चलचित्र हो ।”
बलियो कथावस्तुमा, राम्रो स्क्रिप्टमा बनेका सिनेमा दर्शकको रोजाइमा पर्ने उनको भनाइ छ । अन्यथा, प्रस्तुति र जानराकै भरमा दर्शक हलमा नजाने नरेन्द्र बताउँछन् ।
निर्देशक गणेशदेव पाण्डे पनि नरेन्द्रको विचारमा सहमत छन् । राम्रा चलचित्र बनाउन नसक्नु र दर्शकले के खोजिरहेको छ, त्यसलाई मेकरले बुझ्न नसक्नु अहिलेको मुख्य समस्या भएको उनको धारणा छ ।
“छक्कापञ्जा र कबड्डी हेर्ने दर्शकबाहेकको ठूलो जमातलाई हामीले समेट्न नै सकेका छैनौँ । सिनेमा हेर्नका लागि तयार रहेको ठूलो जमातलाई हामीले समेट्नै सकेका छैनौँ,” निर्देशक गणेशदेव भन्छन्, “जुन जमात अहिले बलिउडको सिनेमा हेर्न आउँदा पनि हलमा पुगिरहेको छ, हलिउडको सिनेमा रिलिज हुँदा पनि हल पुगेर सिनेमा हेर्छ ।”
‘कबड्डी’को पहिलो सिरिज, ‘पशुपतिप्रसाद’, ‘जात्रा’को पहिलो सिरिजबाहेक नेपालमा राम्रा चलचित्र आफूहरूले बनाउन नसकेको उनी स्वीकार गर्छन् ।
“वास्तवमा हामी आफैँले राम्रा चलचित्र बनाउन सकिरहेका छैनौँ । राम्रा चलचित्र बनाउने हो भने नेपाली फिल्म हेर्न नगइरहेको ठूलो जमात हलमा जान्छ,” उनी अगाडि थप्छन्, “एउटा मात्रै होइन, हरेक जमातले हेर्ने चलचित्र हामी मेकरले नै बनाउन सक्नुपर्छ ।”
अहिलेको पुस्तालाई नेपाली मेकरले राम्रो सिनेमा बनाउन सक्छ भन्ने विश्वास नै नेपाली चलचित्रकर्मीले दिलाउन नसकेको गणेशदेव बताउँछन् । “अहिलेको पुस्ताले नेपाली मेकरले राम्रो सिनेमा बनाउन सक्छन् भन्ने विश्वास गरेको अवस्थामा जुनसुकै जानरा र प्रस्तुति शैलीका चलचित्र पनि हेर्ने दर्शक जान्छन्,” उनी स्पष्ट पार्छन् ।
निर्देशक गणेशदेव स्वयं नेपाली चलचित्रको गुणस्तरमा प्रश्नचिह्न उठाउँछन् ।
“अहिले युट्युब तथा सामाजिक सञ्जालमा सहजै भेटिने मनोरञ्जनका कन्टेन्टभन्दा गुणस्तरीय नेपाली सिनेमा छैनन् भन्ने विश्वास समाजको ठूलो जमातमा छ,” उनी भन्छन्, “युट्युबमा बिनापैसा भेटिने कन्टेन्ट जति पनि बलिया चलचित्र छैनन् भने अहिलेको पुस्ता किन नेपाली सिनेमा हेर्न हलसम्म जान्छ ?”
समाजले कुन समयमा कस्तो कन्टेन्ट हेर्न चाहन्छ र चाहिरहेको छ भन्ने दर्शकको मनोविज्ञान पनि मेकरले बुझ्न सक्नुपर्नेमा उनको जोड छ । कुन समय दर्शक हाँस्न र कुन समय कस्तो कन्टेन्ट खोजिरहेको छ भन्ने बुझ्न नसक्दा पनि समस्या हुने उनी बताउँछन् । “सायद अहिले दर्शक सिनेमा हेरेर हाँस्न पो खोजिरहेका छन् कि,” गणेशदेव भन्छन् ।
अभिनेता अनुप बराल हल्काफुल्का सिनेमा मात्रै चले भन्नुभन्दा पनि अरू सिनेमा नचलेका बेला यी चलचित्रले राम्रो व्यापार गर्दा त्यस्तो देखिन पुगेको बताउँछन् । यद्यपि, गम्भीर सिनेमा हेर्ने दर्शकको संख्या अहिले निःसन्देह न्यून रहेको उनको भनाइ छ ।
“मानवीय संवेदना र समाजका अन्य गम्भीर मुद्दा उठान गरेका सिनेमा पनि हल्का रूपमा भनिएका छन् भने ती सिनेमा तुलनात्मक बढी चलेका छन्,” अनुप भन्छन्, “तर, त्यही विषयलाई गहिराइमा पुगेर तर्कसंगत रूपमा भनिएका चलचित्र भने खासै धेरै नचलेको पाइएको छ ।”
यसमा कमजोरी मेकर स्वयंको रहेको उनको भनाइ छ । सिनेमामा कसरी कथा भन्ने भनेर जानकारी मेकरले थाहा नपाउँदा दर्शकको अभाव चलचित्रले झेलिरहेको अनुपको धारणा छ । “नेपालमा सिनेमाको इतिहास लामै भए पनि सिनेमाको सौन्दर्य, विविधतालगायत विषयमा हाम्रोमा काम हुन सकेको छैन,” अनुप भन्छन् ।
सिनेमा हेर्ने ‘स्कुलिङ’ पनि बलिउड सिनेमाले नै सुरु गरेको हुँदा अहिले पनि कमर्सियल भनिने सिनेमा नै दर्शकले धेरै हेर्ने गरेको उनको भनाइ छ ।
“अहिले हाम्रैमा पनि गम्भीर भनेर बनाइएका सिनेमामा पनि त्यही कारण गीत समावेश गरेको पाइन्छ । गीतमार्फत सिनेमाको पब्लिसिटी हुन्छ र दर्शक सिनेमा हेर्न आउँछन् भन्ने मान्यता छ,” अनुप भन्छन्, “तर, यस्तै सिनेमा चल्छ र यस्तै बनाउनुपर्छ भन्ने मान्यता पनि गलत हो भन्ने लाग्छ । दर्शकलाई च्वाइस दिन सकियो भने जुनसुकै सिनेमा चल्छ भन्ने लाग्छ ।”
यसको उदाहरणका रूपमा अनुप चलचित्र ‘लुट’लाई लिन्छन् ।
“लुट आउँदा यो सिनेमा चल्छ भन्ने सम्भवतः धेरैलाई लागेको थिएन । तर, यो चलचित्र चल्यो,” उनी भन्छन्, “त्यसैले यस्तै नै सिनेमा चल्छ र यही प्रकारको सिनेमा नै बनाउनुपर्छ भन्ने छैन ।”
कस्ता सिनेमा चल्छन् र कस्ता चल्दैनन् भन्ने परीक्षणकै क्रममा रहेको उनको भनाइ छ । अबको एक/दुई वर्ष कस्ता सिनेमा चल्छन् भन्ने कुरा परीक्षणकै क्रममा रहने अनुपको धारणा छ ।
“हामीले सिरियस विषयलाई कति रचनात्मक र मन छुने गरी फिल्मको भाषामा भन्न सक्यौँ ? यसको मूल्यांकन नगरी हल्काफुल्का विषय मात्र चल्छ भन्नु आंशिक सत्य मात्र हो,” उनी भन्छन्, “हल्काफुल्का तरिकाले फिल्म बनाउनु हुन्न भन्नु पनि एक किसिमको अकर्मण्यता हो । हामी जुन समाजमा बसिरहेका छौँ, त्यो अलि मेलो ड्रामाटिक छ । आँसु र हाँसोको अतिरन्जनाले हामीलाई छिट्टै प्रभावित गर्छ ।”
त्यसैले आँसु र हाँसोलाई प्राथमिकतामा राखेर ठिकठाक सिनेमा बने पनि चलेका देखिएका उनको भनाइ छ ।
“अर्को कुरा, अहिले मान्छे हतारोमा छन् । उनीहरू एकै ठाउँमा स्थिर भएको कुरा हेर्न चाहँदैनन् । त्यसैले मुभिङ चाहिन्छ,” अनुप भन्छन्, “बाह्य र सतहमा देखिने कुरामै बढी अल्झिएपछि गहिराइमा जाने कुरामा त्यति धेरै कोसिस हुँदैन । यसकै रिफ्लेक्सन अहिले नेपाली फिल्म मेकिङमा देखिएको छ ।”