पोखरा । स्याङ्जामा पाँचजना र तनहुँमा दुई गरी सातजनाले डेंगीकै कारण ज्यान गुमाइसकेका छन । गण्डकीमा ११ जिल्लामध्ये मनाङ, मुस्ताङसहितका सबै जिल्लामा डेंगी पुगेको छ ।
महामारी तथा स्वास्थ्य विपद्सम्बन्धी दैनिक संक्षिप्त विवरण प्रकाशन गर्दै आइरहेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकीमा डेंगीबाट संक्रमित हुनेको संख्या ११ हजार ३४२ पुगेको छ । यही तथ्यांकभित्र परेका सातजनाको ज्यान गएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार डेंगी संक्रमण सुरु भएको ४८औँ हप्तामा आएर बल्ल संक्रमण दर घट्न थालेको छ । चाडपर्वको समयमा उत्कर्षमा पुगेको डेंगी संक्रमण चिसो बढेसँगै घट्दै गएको तथ्यांकले देखाउँछ ।
डेंगीबाट सबैभन्दा बढी तनहुँ प्रभावित बन्यो । तनहुँमा मात्रै ६ हजार ६९९ जना डेंगीबाट संक्रमित भएका छन् । यो भनेको कुल संख्याको ५९ प्रतिशत हो । डेंगीको हटस्पट बनेपछि तनहुँमा प्रदेश सरकारको विभागीय मन्त्रायदेखि निर्देशनालय, स्वास्थ्य कार्यालय अस्पतालहरूले ध्यान केन्द्रित गरे । मन्त्रालयका प्रवक्ता सुरज गुरौका अनुसार तनहुँमा ‘खोज र नष्ट’ अभियान चलाइएको छ ।
तनहुँमा ३४ स्वास्थ्य संस्थाबाट डेंगीको परीक्षण गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी दमौली अस्पतालमा परीक्षण गरिएको छ । डेंगी संक्रमित बढेसँगै अस्पताल तथा मेडिकलमा बिरामीको चाप बढ्दो छ ।
तनहुँपछि प्रदेश राजधानी रहेको कास्कीमा संक्रमणको दर निकै फैलिएको छ । मन्त्रालयका अनुसार कास्कीमा दुई हजार ६२५ जना डेंगीबाट संक्रमित बनेका छन् । हिमाली जिल्ला मनाङमा १०, मुस्ताङमा २, म्याग्दीमा १०८ जना संक्रमित बनेका छन् ।
पर्वतमा १९, बागलुङमा ३८३, स्याङ्जामा ४७६, नवलपुरमा १२१, लमजुङमा २१४ र गोरखामा ६८५ जनालाई डेंगी संक्रमण भएको छ ।
मन्त्रालयले सार्वजनिक गरेको यो विवरण वैशाखयताको हो । मन्त्रालयले साप्ताहिकरूपमा संक्रमण दरको ग्राफ सार्वजनिक गर्ने गरेको छ । जसअनुसार ३८ देखि ४१ औँ हप्तामा सबैभन्दा बढी डेंगी संक्रमण भेटिएको हो । यो भनेको गत भदौको अन्तिमदेखि असोज अन्तिम साताको विवरण हो । त्यतिबेला संक्रमणको दर ९४२ बाट एक हजार ४२३ सम्म पुगेको थियो ।
अहिले भने त्यो दर विस्तारै घट्दो क्रममा छ । मन्त्रालयका अनुसार पछिल्लो हप्तामा संक्रमित हुनेको संख्या ३८२ मा झरेको छ ।
डेंगी रोकथामका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको गुरौले बताए । अभिमुखीकरणमा रोगको परिचय, लक्षण, बच्ने उपाय, लामखुट्टेको लार्भा घरघरमा गएर खोजेर नष्ट गर्न सिकाउने गरिएको थियो ।
पोखराका फेवासिटी, गण्डकी मेडिकल कलेज, क्षेत्रीय अस्पताल, चरक मेमोरियल, सामुदायिक अस्पताल र पार्कल्यान्ड अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।
लामखुट्टे बढ्न नदिने, घर वरपर पानी जम्न नदिने (बासी पानी नराख्ने), उक्त लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले शरीर पूरै ढाकेर कपडा लगाउने र लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।
डेंगी ज्वरो एडिज जातको लामखुट्टेले सार्छ । अघिल्ला २–३ वर्षमा १/२ डेंगीका बिरामी भेटिएका थिए । एडिज लामखुट्टेका लार्भा एक सातामा लामखुट्टे बनेर थप फैलन्छ । लामखुट्टेको टोकाइले सर्ने सरुवा रोग डेंगी नेपालका विशेष गरी तराईका जिल्लामा बढी हुन्छ ।
पोखरा पर्यटकीय सहर रहेकाले देश विदेशबाट पर्यटक आउने, तराईलगायत भारतको नयाँ दिल्लीबाटसमेत सिधा बस सेवा रहेकाले त्यसमार्फत लामखुट्टे पनि भित्रिने गरेका छन् । प्रयोगपछि फालिएका वा राखिएका टायर, गमला, सिसा, अन्य भाँडाकुँडा, एयरकुलर, टिनका बट्टा, पानी ट्यांकी वा ड्रम, प्लास्टिकका चिया खाने कपमा रहेको पानीमा लामखुट्टे हुर्कन्छन् । त्यसैले त्यस्ता सामान नष्ट गर्न वा पानी जम्न नदिन स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् । एकपटक संक्रमित लामखुट्टेको सबै अण्डा संक्रमित हुने र त्यसबाट उत्पादन हुने सबै लामखुट्टे स्वतः संक्रमित भई रोग सार्ने भएकाले एकैपटक धेरै बिरामी पर्ने सम्भावना बढी रहन्छ ।
शरीरमा सेता र काला धर्काहरू हुने एडिसज एजिप्टाई र एडिस एलबोपिक्टर्स नामको लामखुट्टेले टोकेपछि डेंगी सर्छ । अत्यधिक ज्वरो आउने, टाउको, पेट, आँखाको गेडी, जोर्नी, जिउ दुख्ने, वाकवाकी लाग्ने, शरीरमा रातो बिमिरा देखा पर्ने डेंगीका लक्षण हुन् ।
'आयातित रोग' निर्मूल पार्ने सरकारको प्रतिबद्धता
औलो, मलेरियाजस्ता लामखुट्टेबाट लाग्ने रोगलाई 'आयातित रोग'को रूपमा चिनिन्छ । यी रोगहरूलाई तीन वर्षभित्र प्रदेशबाट निर्मूल गर्ने प्रतिबद्धता गण्डकीका सरोकारवालाहरूले गरेका छन् ।
गत मंगलबार र बुधबार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशमा उपेक्षित उष्णप्रदेशीय र किटजन्य रोगहरूको निवारणका लागि प्रतिबद्धता जनाइएको हो । गण्डकीको सामाजिक तथा स्वास्थ्य मन्त्रालय र मातहतका निकायहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।
यसैका लागि स्वास्थ्य निर्देशनालय पोखराले गत वर्ष २०७९/०८० का कामहरूको समीक्षा गरेको छ भने नयाँ कार्यक्रमको तयारी गरेको छ ।
सरकारले अवलम्बन गरेको स्वास्थ्य रणनीति २०७६ को परिकल्पना अनुसार लक्ष्य हासिल गर्न सबै तह एकजुट भएर लाग्नुपर्ने कार्यक्रमका सहभागीहरूले बताएका छन् । एक स्वास्थ्यको अवधारणा, मानव, पशुपंछी र वातावरणीय अन्तरसम्बन्धको प्रभावकारी व्यवस्थापनमा बहुपक्षीय समन्वय, सहकार्य र सञ्चारको पैरवीका लागि कार्यक्रम गरिएको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा भुमि व्यवस्था मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, पश्चिमाचल क्षेत्रिय अस्पताल, प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, सरुवा तथा संक्रामक रोग अस्पताल, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्रदेश स्वास्थ्य तालिम केन्द्र, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, संघीय, प्रादेशिक तथा जिल्ला अस्पतालहरू, ११ जिल्लाका स्वास्थ्य कार्यालय र निजी अस्पताल बीच उच्चस्तरीय प्रतिबद्धता कायम गरिएको कार्यक्रमकी फोकल पर्सन सुशीला कार्कीले जानकारी दिइन् ।
उनका अनुसार औलो, स्क्रब टाइफस, डेंगी, चिकनगुनिया, रेबिज, कालाजार, हात्तीपाईले र सर्पदंश रोगहरूको निवारण र नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ । उनीहरूले यस्ता रोगहरूलाई जनस्वास्थ्यको समस्याको रूपमा रहन नदिन बृहत् छलफल र अन्तरक्रिया गरेका हुन् । सबै मन्त्रालय र कार्यालयहरूले आगामी कार्ययोजनामा प्रतिबद्धता अनुसारको काम गर्नुपर्ने बताइएको छ ।