काठमाडौं । काभ्रेको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसारेको गाडी दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भइ सडकबाट अन्दाजी ६०० मिटर तल खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गाडी खस्दा गाडीमा सवारमध्ये दुईजनाको मुत्यु भएको हो ।
मुत्यु हुनेमा पनौती नगरपालिका–२, कुशादेवी बस्ने ४० वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने ५० वर्षीय शिवविक्रम केसी रहेका छन् । दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी बेथानचोक गाउँपालिका–२ की ४५ वर्षीया शारदा तिमल्सिना गम्भीर घाइते भएकी छन् । उनको टाउको, घाँटी र दुवै हात खुट्टामा चोट लागेको छ । घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।