site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुच्चे नक्साको रिसमा भारतीय मिडियाले कम्बोडियामा लगानी गरेको आरोप लगाए : ओली

पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा तीन अर्ब लगानी गरेको भनेर भारतीय मिडियाले अनर्गल प्रचार गरेको बताएका छन् । उक्त मिडियाले गल्ती मानेर उक्त अनर्गल प्रचार हटाएको पनि उनले प्रष्ट पारेका छन् ।

लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्सा जारी भएपछि नै भारतीयहरुले आफ्नोबारेमा जथाभावी अनर्गल प्रचार गरेको उनले बताए ।

“यथार्थ के हो भने, त्यो हाम्रो जमिन हो । हामीले हाम्रो नक्सामा सामेल गरेर छाप्यौँ । त्यसपछि भारतीय सञ्चारमाध्यमले तथानाम, जथाभावी बोल्न थाले । त्यसै सिलसिलामा उनीहरुले बोलेका अनेक अनर्गल कुराहरु, एउटा जी न्यूज भन्ने छ, त्यसले बोलेका अनेक अनर्गल कुराहरुमध्ये एउटा यो पनि थियो कि, कम्बोडियाको दूरसञ्चारमा केपी ओलीले तीन हजार करोड लगानी गरेको छ रे । त्यो पनि एउटा थियो,” ओलीले भने ।

Argakhachi Cement Island Ad

सोमबार पोखरामा एमालेको गण्डकी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण कार्यक्रममा उपस्थित भएका ओलीले एमालेलाई बद्नाम गर्नका लागि मात्रै अनेकौँ हल्लाहरु चलाउने गरिएको बताएका हुन् । कम्बोडियाको टेलिकममा लगानी गरेको भनेर हल्ला फैलाउनुको कारण पनि एमालेलाई बद्नाम गर्नको लागि मात्रै रहेको उनले बताए ।

“अहिले आएर तीन वर्षभन्दा अघि एउटा मिडियाले प्रचार गरेर, गलत भयो भनेर सच्याइसकेर छाडिसकेको कुरो, अहिले नेपालमा हल्ला फिँजाएका छन् । हुँदाहुँदा अस्ति एकजनाले केपी ओलीले सिमरामा २७ बिघा जग्गा लिएर लुकाएको छ भन्ने पनि हल्ला चलाएछन् । गट्ठाघरमा ३७ रोपनीदेखि काठमाडौंका विभिन्न ठाउँमा विशाल भवन बनाएको हल्ला चलाए,” उनले भने, “हल्ला चलाउँदा चलाउँदा अलिक थाकेका थिए, अहिले फुर्ती आएछ कि फेरि तातेका छन् । त्यो भनेको नेकपा (एमाले)लाई कसरी बद्नाम गर्ने त्यतिका लागि हो ।”

कम्बोडियामा आफूले लगानी गरेको पत्ता लगाउनेलाई एक हजार रुपैयाँ थपेर दिने उनले बताए ।

“कम्बोडियामा तीन हजार करोड मैले राखेको छु भने । धेरै नाफाको बिजनेस म बताइदिन्छु उहाँहरुलाई । त्यो पत्ता लगाउन जानुहोस्, पत्ता लगाउनुहोस्, त्यसमा एकहजार रुपैयाँ थपेर त्यो पनि तपाईंकै नाउँमा गरिदिन्छु,” एमाले अध्यक्ष ओलीले भने ।

ओलीले कम्बोडियामा लगानी गरेको विषयमा केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आरोप लगाएका थिए । सोही आरोपलाई लिएर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष प्रसाईँलाई पक्राउ गर्न माग गरेको समाचार बाहिरिएका थिए । ओलीले त्यसको पनि खण्डन गरेका छन् ।

“मैले दुर्गा प्रसाईँलाई पक्राउ गर्न प्रचण्ड गुहारेको भनेर प्रचार भइरहेको छ, काटिएर जाओस् यो शिर, त्यस्ताहरूसँग शिर झुक्दैन । भोकै मर्छ, बाघ घाँसका त्यान्द्रा टिप्न जाँदैन,” उनले भने ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्