site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले इरानलाई चेतावनी दिँदै भने– बिनासर्त आत्मसमर्पण गर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजालमा एक पोष्ट गर्दै बिनासर्त आत्मसमर्पण गर्न चेतावनी दिएका छन् । उनले भने, “हाम्रो धैर्यताको बाँध अब टुट्न लागेको छ, बिनासर्त आत्मसमर्पण गर ।”

एकपछि अर्को लगातर सामाजिक संजालमा पोष्ट गर्दै ट्रम्पले यस्तो चेतावनी दिएको बीबीसीले जनाएको हो । एक अर्को पोष्टमा उनले इरानी सुप्रिम लिडर कहाँ छन् भन्ने थाहा भए पनि तत्काल उनको ज्यान नलिने बताएका छन् ।

“हामीलाई सुप्रिम लिडर भनेर चिनिने व्यक्ति कहाँ लुकेको छ भन्ने कुरा ठ्याक्कै थाहा छ । उनी सजिलो लक्ष्य हुन्,” उनले भनेका छन्, “तर उनी त्यहाँ सुरक्षित छन् । हामी उनलाई मार्ने छैनौँ । कमसेकम अहिले चाहिँ हत्या गर्दैनौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रम्पले नागरिक वा अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार भएको हेर्न नचाहेको बताएका छन् “हाम्रो धैर्यता घट्दै गइरहेको छ । यो विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।” 

केही समयअघि गरेको एक अर्को पोष्टमा उनले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरिसकेको बताएका थिए । उनले भने, “ हामीसँग अब इरानको आकाशमा पूर्ण नियन्त्रण छ ।”

इरानसँग राम्रा स्काई ट्रयाकर र अन्य रक्षात्मक उपकरणहरू धेरै रहेको उनले बताएका छन् । तर, त्यो अमेरिकामा बनेका, अमेरिकी डिजाइन र अमेरिकी निर्माणको तुलनामा कमजोर रहेको ट्रम्पको भनाइ छ । “अमेरिकाभन्दा राम्रो कसैले पनि यो गर्न सक्दैन,”उनले भनेका छन् । 

अमेरिकाले लामो समयदेखि इजरायललाई सैन्य सहयोग र उपकरणहरू प्रदान गरिरहेको छ । तर, शुक्रबारदेखि आक्रमण सुरु भएपछि आधिकारिक रूपमा अमेरिका इजरायली हमलामा संलग्न नभएको बताइरहेको थियो ।

क्यानाडामा जी– ७ बैठकबाट छिटो फर्केपछि बिहान एकदम शान्त देखिएका ट्रम्पले अहिले सामाजिक संजालमा चिन्ताजनक पोष्ट गरेको बीबीसीले जनाएको छ । 

इरान आक्रमणमा अमेरिकी संलग्नता नरहेको बताउने ट्रम्पले प्रयोग गरेको हामी भाषाले अमेरिका इजरायलको साथमा रहेको र इरानविरुद्धको आक्रमणमा अमेरिका प्रत्यक्ष संलग्न भएको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ । जबकी उनीहरूले केही दिनदेखि अमेरिका प्रत्यक्षरूपमा आक्रमणमा संलग्न नभएको दाबी गर्दै आएका थिए । 

ट्रम्पको पछिल्ला पोष्टहरुले अमेरिकाको फरक छवि प्रस्तुत गरेको छ । बीबीसी

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०६:०२
प्रतिक्रिया दिनुहोस्