काठमाडौं । विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को प्रतिवेदन तयार गरी समितिको आगामी बैठकमा पेस गर्न समिति सचिवालयलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको समितिको बैठकपछि समिति सचिव मनोजकुमार गिरीले समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा दफावार छलफल सम्पन्न गरेको जानकारी दिए ।
"विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार छलफल सम्पन्न गरेको छ । समिति सचिवालयलाई समितिले आगामी बैठकमा छलफलका लागि पेस गर्नेगरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानून मन्त्रालयसँगको समन्वयमा सचिवालयले प्रतिवेदन तयार गर्ने छ । १६ गते बस्ने बैठकबाट पारित हुनेछ," उनले भने ।