पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अत्यन्तै जरुरी सूचना भन्दै शुक्रबार साँझ फेसबुकमा एउटा चेतावनीसहितको सूचना राखे । फिर्केखोला अतिक्रमणको विषय समेटिएको उक्त सूचनामा खोलाघरका बारेमा उल्लेख गरिएको छ ।
३५ दिनको म्याद दिएर महानगरले शुक्रबार निकालेको उक्त सूचनामा भनिएको छ, “...फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरु यो सूचना प्रकाशित भएको मितिले पूर्ण रुपमा हटाउनुहुन यो सार्वजनिक सूचना जारी गरिएको छ । उल्लेखित मितिभित्र संरचनाहरु नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने व्यहोरा यसै सूचना साथ जानकारी गराइन्छ ।”
पोखरा महानगरपालिकाले गत असोजमा पोखरा महानगरपालिका भित्र बहने फिर्केखोलाको खोलाघर (खोला बहने क्षेत्र)भित्र पर्ने अस्थायी तथा स्थायी संरचनाको लगत निकालेको थियो ।
महानगरद्वारा गठिन समितिले ३० दिन लगाएर निकालेको लगत प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरभित्र १६० वटा अस्थायी/स्थायी तथा व्यक्तिगत/संस्थागत संरचना खडा गरिएका छन् । तिनै संरचनाहरुलाई हटाउनको लागि महानगरपालिकाले सूचना निकालेको हो ।
तोकिएको मितिभित्र संरचनाहरु नहटाए महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागतसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गरिने महानगरले निकालेको सूचनामा उल्लेख गरिएको छ । यसअघि, पोखरा महानगरले गठन गरेको फिर्केखोला सिमांकन टोलीले असोज ६ गते प्रतिवेदन पेस गरेको थियो । टोलीले बेलैमा उचित कदम नचाले फिर्केखोला नै हराउने र प्राकृतिक विपत्ति निम्तिने निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।
प्रतिवेदनमा नै फिर्केखोला अतिक्रमणमा परेको र दुर्गन्धित भएको हुँदा यसमाथि निर्मित संरचना हटाउन सुझाव समेत दिइएको छ ।
महानगरले प्रतिवेदन बुझेको झन्डै डेढ महिनापछि फिर्केखोलामाथिका संरचना हटाउन सूचना जारी गरेको हो ।
प्रतिवेदनअनुसार ४० मिटरसम्ममा बहने फिर्केखोलाको क्षेत्र तीन मिटरसम्ममा खुम्चिएको पाइएको छ । सर्भेका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्च्याइएको भेटिएको हो ।
प्रतिवेदनअनुसार खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी १६० वटा संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये खोलाका दायाँबायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन् ।
व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सीमांकन टोलीले भेटाएको छ । संस्थागत रुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन् । सीमांकन टोलीले फिर्केखोला किनारमा ३८८ वटा कंक्रिटका पिल्लरहरु गाडेको छ । स्तम्भ गाड्न नसकिएको ठाउँमा चिह्नमात्रै लगाएर छोडिएको छ ।
इन्जिनियर, प्राविधिक २१ जना र नगरप्रहरी ६ सहित २७ जनाको टोलीले फिर्केखोलाको सीमांकन गर्दा सबैभन्दा बढी वडा नं. ४ र ५ को सिमानामा खोला अतिक्रमण भएको पाइएको छ । यही वडामा नै व्यक्तिदेखि संस्थाले मनमौजी रुपमा खोला अतिक्रमण गरेर संरचना खडा गरेका छन् ।
अधिकतम ४० मिटरसम्म फैलिएको फिर्केखोला तीन मिटर ३० सेन्टिमिटरमा खुम्चिँदा यही क्षेत्रमा मात्रै स्थायी ६ वटा संरचना बनेका छन् । खोला मिच्ने ती ६ वटै संरचना आरसीसी भवनहरु हुन् । व्यक्तिले खोला मिचेर घर बनाउँदा यो क्षेत्रमा फिर्के सबैभन्दा बढी खुम्चिएको छ ।
समितिले प्रतिवेदनमा शतप्रतिशत नै खोलाघर (खोला हिँड्ने ठाउँ) मिचेर ३५ वटा स्थायी संरचना बनेको खुलाएको छ ।
यी हुन् फिर्केखोला मिचेर ठडाइएका संरचना
खोलाघरमा संरचना बनाउनेमा सरकारी संस्थाहरु समेत रहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ)ले पोखरा १७ गाईघाटमा बनाएको तालिम केन्द्र पनि खोलाघरभित्रै बनेको पाइएको छ । यसबाहेक पोखरा ८ बराल समाजघरदेखि पुन मगर समाजघर, कुँवर समाजघर, सोपाल समाजघर र पोखरा ४ मा भयरथान महिला समूहको भवन पनि खोलाघरभित्रै बनेका संरचना हुन् ।
पोखरा ५ राधाकृष्ण मार्गमा रहेको राधाकृष्ण मन्दिरको भवन र पोखरा १८ अँधेरीकुनामा रहेको सामूहिक भवन पनि खोलाघरभित्रै बनेको प्रतिवेदनमा उल्लेख छ । यी १० वटा संघसंस्थाका अस्थायी भवन रहे पनि १८ वटा स्थायी संरचना पनि खोलाघरभित्रै बनेका छन् ।
पोखरा ८ मा रहेको लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, मन्दिर, गिरी समाज घर, क्रियापुत्री भवन, पोखरा ४ मा रहेको पोखरा फोटोग्राफर एसोसियसनको भवन, पोखरा २ मा निर्मित अर्चलबोट क्रियापुत्री भवन र पुन मगर समाजघर पनि फिर्केको खोलाघरभित्रै बनेका संरचना हुन् ।
फिर्केखोलाको बायाँतर्फ पनि विभिन्न संघसंस्थाहरुले सातवटा संरचना खोलाघरभित्रै बनाएका छन् । फिर्के मिचेर मिलनपार्क अगाडि रहेको क्रियापुत्री भवन, बराल कुलायन मन्दिर, शिव मन्दिर, पोखरा ५ मा राधाकृष्ण आश्रम, लायन्स क्लबको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन र फिर्के तमु समाजघर रहेका छन् ।
फिर्केको मुहानदेखि फेवातालसम्म खोलाघरभित्र ३५ जना व्यक्तिले घर बनाएका छन् । समितिको प्रतिवेदनअनुसार पोखरा ८ मा १२ व्यक्तिले खोला मिचेर घर बनाएको पाइएको हो । यस्तै, फिर्के सबैभन्दा अतिक्रमित पोखरा ४ मा ६ वटा, पोखरा ७ मा व्यक्तिले नै खोला मिचेर १७ वटा स्थायी संरचना बनाएका छन् ।
पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला पस्र्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ ।
मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ । त्यसपछि एक किलोमिटरको दूरीमा यो फेवातालमा मिसिन्छ । फिर्के बहने यति दूरीमा मात्र हो । तर, फिर्केमाथि सयौँ संरचना ठडिएका छन् ।
प्राकृतिक बहावमा बगिरहेको फिर्केखोलाको किनारमा बस्ती विस्तार हुँदै जाने क्रममा अतिक्रमण भई खोलाघर मिचिएको, प्रदूषण बढेको र यसको स्वरूप नै परिवर्तन भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
खोलालाई संरक्षण गर्न र सफा राख्नमा स्थानीयकै भूमिका सकारात्मक नरहेको, खोला अतिक्रमणमा परि प्रदूषित हुँदा मानव समुदायलाई मात्र नभई जलचर, थलचर प्राणीहरूलाई समेत प्रत्यक्ष असर परेको र यसले पर्यावरणमा समेत नकारात्मक प्रभाव परेको निष्कर्ष समितिले निकालेको छ । समितिले फिर्केखोलालाई पुरानै अवस्थामा फर्काउनुपर्ने सुझाव समेत दिएको छ ।
“पोखराको सौन्दर्यीकरणलाई बढाउन, जलाधार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, स्वच्छ सफा पानीको उपभोग गर्न, यस क्षेत्रबाट बग्ने पानीको उपयोगले उत्पादकत्व बढाउन समेत फिर्के खोलालाई पुरानै अवस्थामा फर्काउन जरुरी छ,” प्रतिवेदनमा भनिएको छ ।