![एन्जिलाले पुनः सेथु एफसीबाटै आईलिग खेल्ने](https://12khari.top/uploads/posts/anjila-1698472984.png)
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आईलिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३–०२४)का लागि सम्झौता नवीकरण गरेकी छन् ।
गतसिजन समेत सेथुको कप्तानी सम्हालेकी एन्जिलाले आगामी डिसेम्बरबाट सुरु हुने लिगको लागि सम्झौता गरेकी हुन् । “आगामी संस्करणमा खेल्न पुनः सम्झौता नवीकरण भएको छ,” एन्जिलाले भनिन्, “अघिल्लो पटक सोचेजस्तो भएन । यसपटक च्याम्पियन बन्ने योजना छ ।”
सेथुले पनि सामाजिक सञ्जालबाट एन्जिलाको स्वागत गरेको छ । दुईबीच भएको सम्झौता भने गोप्य राखिएको छ ।
एन्जिलाको आईलिगमा दोस्रो संस्करण हो । अघिल्लो सिजन टोली सेमिफाइनलमा किक स्टार्ससँग पराजित भएको थियो । त्यसअघि खेलेको आठ खेलमा टोली अपराजित थियो । एन्जिलाले ६ खेलमा ‘क्लिन सिट’ राखेकी थिइन् ।
आईलिगको पहिलो खेलमा सेथुले डिसेम्बर ८ मा साविक विजेता गोकुलम केरेलासँग खेल्नेछ । दोस्रो खेल भने इष्ट बंगानसँग रहेको छ । गतसिजन सावित्रा भण्डारी सम्मिलित गोकुलम च्याम्पियन भएको थियो ।
यसपटक सात टोलीमात्रै लिगमा हुनेछन् । गोकुलम र सेथुसँगै किक स्टार्स, उडिसा एफसी, इष्ट बंगाल, होप्स एफसी र स्पोर्ट्स उडिसाले सहभागिता जनाउनेछन् । लिग मार्चसम्म चल्नेछ ।