काठमाडौं । गएको असोज २६ गते रिलिज गरिएको चलचित्र ‘कौसीद’ एक साता नबित्दै अधिकांश हलबाट उतारियो । त्यसो त पछिल्लो समय एकाध सिनेमा मात्र हलमा हप्ता दिन टिक्छन् । एक हप्ता टिक्ने चलचित्रलाई निर्माताले ‘हिट’को दर्जामा राख्न थालिसकेका छन् । भलै, तिनले लगानी उठाउन् वा नउठाउन् ।
हप्ता छिचोलेर हलमा चल्ने सिनेमा हातका औँलामा सीमित हुन थालेका छन् । र, त्यस्ता सिनेमा प्रायः ‘कमर्सियल’ मात्र हुन्छन् । विषयप्रधान सिनेमालाई हलमा टिक्नै गाह्रो देखिएको छ ।
‘कौसिद’ विषयप्रधान चलचित्र हो, जसले आदर्श शिक्षकको कथा भन्छ । आदर्शको आरनमा बसेर जिन्दगी घिसारिरहेको प्रधानाध्यापक कसरी अन्ततः विचलित हुन्छ ? आदर्शको चौघेराबाट कसरी बाहिर आइपुग्छ ? यही नै सिनेमाको कथा हो । यो आमनेपाली समाजको कथा हो । गाउँगाउँको कथा हो । तर, यस्ता सिनेमा नचल्ने गरेको स्वयं चलचित्रकर्मी बताउँछन् ।
“कतिन्जेल आर्ट आर्ट भनेर एउटै सिनेमामा करोडौँ घाटा खाएर बनाउन सकिन्छ ? भोको पेटले पनि सिर्जना गर्न सक्दैन । सिर्जना गर्नकै लागि पनि पेट त भर्नुपर्छ,” एक निर्माता बाह्रखरीसँग भन्छन्, “एउटा कमर्सियल चलचित्र बनाएर पैसा कमाउने हो अनि अर्को आर्टहाउस मुभी बनाउने हो । हैन भने यो चलचित्र उद्योगमा टिक्न सकिन्न ।”
‘कौसीद’का निर्देशक कुमार भास्कर पछिल्लो समय विषयवस्तुको गहिराइमा जानेभन्दा पनि सतही र हल्काफुल्का कुरामै रमाउने दर्शकको संख्या उच्च रहेको बताउँछन् । “मेरो सिनेमा जतिले हेरे, हिजो पनि यस्ता सिनेमा हेर्ने दर्शकको संख्या यति नै थियो,” उनी भन्छन्, “भोलि मैले वा अरू जो कसैले यस्ता सिनेमा बनाए पनि हेर्ने दर्शकको संख्या यति नै हो ।”
बजार र दर्शकको ‘टेस्ट’का कारण मेकरलाई आर्टहाउस मुभी बनाउन कठिन रहेको उनको अनुभव छ । “यस्तो सिनेमा बनाउँछु भनेर भन्न पनि लगानीका हिसाबले निकै कठिन छ,” उनी भन्छन्, “कथा र सटाएरभन्दा पनि यहाँ जबरजस्ती हँसाउने सिनेमा नै चलिरहेका छन् । यो अहिलेको नेपाली सिनेमा बजारको यथार्थ हो ।”
कोरोना संक्रमणको समयमा दक्षिण भारतका सिनेमा युट्युबमा राखिनु पनि नेपाली दर्शकको टेस्ट बदलिनुको कारण भएको उनको बुझाइ छ । हल्का कथा उठाएर जबरजस्ती हँसाउन प्रयास गर्ने चलचित्रको मात्र बजार रहेको कुमार बताउँछन् ।
“दर्शक सिनेमा भन्नेबित्तिकै रमाइलो, गीत, हिरो हिरोइनको रोमान्स हेर्नुपर्छ भन्ने मानसिकतामा रहेको देखिन्छ,” उनी भन्छन्, “समाजका गम्भीर कथा भनेको ‘एक भगवत र एक गीता’ पनि चलेन । ‘चिसो मान्छे’ र ‘पानी फोटो’ पनि चलेनन् । यसले मेकरमा गहिराइमा गएर सिनेमामा कथा किन भन्ने भन्ने प्रश्न उठ्छ ।”
कोरोनाका बेला विश्वभरका मान्छे घरमै थुनिएको अवस्थामा साउथका चलचित्र युट्युबमा एकपछि अर्को रिलिज गरिँदा नेपाली दर्शक ती सिनेमामा रत्तिएको कुमार बताउँछन् ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा गएर विभिन्न टाइटल समेत जित्न सफल सिनेमा समेत दर्शकले हलमा हेरेका थिएनन् । ‘सेतो सूर्य’, ‘हाइवे’, ‘डाइङ क्यान्डल’, ‘हल्कारा’लगायत चलचित्र यसको उदाहरण हुन् ।
त्यसो त नेपाली दर्शकको टेस्टमा पनि विरोधाभास भेटिन्छ । युट्युबमा अपलोड गरिएका सिनेमा लाखौँ दर्शकले हेरेको देखिन्छ । तर, तिनै सिनेमा हेर्न दर्शक हलमा जाँदैनन् । युट्युबमा रहेका चलचित्रको भ्युजले यसलाई पुष्टि गर्छ ।
“नेपाली सिनेमामा दर्शक छैनन् भनिन्छ, तर मलाई त्यस्तो लाग्दैन । किनभने, युट्युबमा सिनेमा हेर्ने पनि दर्शक नै हुन् । युट्युबमा पनि नेपाली दर्शकले नै सिनेमा हेर्ने हो,” नायिका ऋचा शर्मा भन्छिन्, “मात्रै नेपाली दर्शकले हलमा सिनेमा नहेरेका हुन् । हलमा सिनेमा हेर्ने बानी कसरी बसाउने भन्ने अहिलेको मुख्य विषय हो ।”
हलमा सिनेमा हेर्ने बानी बसाउन सके नेपाली चलचित्रले दर्शकको अभाव झेल्नु नपर्ने ऋचाको भनाइ छ ।
दर्शकलाई थोरै भए पनि पैसा तिरेर सिनेमा हेर्ने बानी बसाउन आवश्यक रहेको कलाकार खगेन्द्र लामिछाने बताउँछन् । ओटीटीमा चलचित्र हेर्ने बानी बसाउन सके निर्माताले दर्शकको अभाव झेल्नु नपर्ने उनको धारणा छ ।
“सबैभन्दा सुरुमा त निर्माता बाँच्नुपर्छ । निर्माता बाँचे मात्रै चलचित्र उद्योग बाँच्छ । चलचित्र उद्योग बाँचे मात्रै सिनेमा बन्ने हो,” ओटीटी प्लेटफर्मका सञ्चालक समेत रहेका खगेन्द्र भन्छन्, “यसका लागि हामीले थोरै रकम नै किन नहोस् चलचित्र तिरेर हेर्नुपर्छ भन्ने भावनाको विकास हुन आवश्यक छ ।”
बौद्धिक सम्पत्ति पनि भौतिकजस्तै खरिद गरेर मात्र उपभोग गर्न पाइन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेकामा उनी जोड दिन्छन् । पैसा तिरेर सिनेमा अथवा अरू कुनै बौद्धिक सम्पत्ति उपभोग गर्ने बानीको विकास गराउन पछिल्लो समय खुलेका ओटीटी प्लेटफर्मले भूमिका खेल्ने उनको विश्वास छ । खगेन्द्रसहितको टिमले केही वर्षयता ‘सिनेमा घर’ नामक ओटीटी सञ्चालन गरिरहेको छ ।
हालै मात्र कान्तिपुर फिल्म एकेडेमीले ‘कान्तिपुर सिनेमाज्’नामक डिजिटल प्लेटफर्म सुरुआत गरेको छ । यस्ता प्लेटफर्म सफल भए पैसा तिरेर चलचित्र हेर्नुपर्छ भन्ने भावनाको विकास हुने सिनेकर्मीको विश्वास छ । पैसा तिरेरै हेर्नुपरेपछि हलमा जाने दर्शकको संख्या बढ्ने चलचित्रकर्मी बताउँछन् ।