site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सिनेमामा नेपाली पर्व नजरअन्दाज

काठमाडौं । दसैँ, तिहार, छठजस्ता विषयलाई नेपाली चलचित्रमा नजरअन्दाज गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा उपस्थिति जनाउँदै राम्रो प्रभाव छाड्न सक्ने उच्च सम्भावना बोकेका विषयलाई नै नेपाली चलचित्रमा उल्लेख्य स्थान नदिइएको स्वयं सिनेकर्मी स्वीकार गर्छन् ।

नेपालमा पर्वको समयमा हलमा सिनेमा रिलिजका निम्ति ठूलो आकर्षण रहने गरेको छ । तिनै पर्वलाई भने चलचित्रमा बेवास्ता गरिएको छ । फेस्टिभल मुड क्यास गर्न एकाध चलचित्रमा केही सिन र गीत राखिए पनि सिंगो सिनेमा पर्वका विषयमा बनाइएको छैन ।

निर्देशक मोहन राई विश्वमै करिब नेपालमा मात्र मनाइने दसैँ सिनेमाको राम्रो विषय हुन सक्ने बताउँछन् । तर, यसतर्फ मेकरको ध्यान नखिचिएको उनको गुनासो छ ।

आफ्नै कथा मौलिक शैलीमा भन्नुपर्ने कुरा उठाइरहँदा नेपाल र नेपालीकै पहिचानका रूपमा रहेको दसैँलाई मेकरले नजरअन्दाज गरिरहेका छन् । “सम्भवतः दसैँ पनि सिनेमाका लागि राम्रो विषय हुनसक्छ भन्ने सोच नभएर पनि हुनसक्छ । अर्को कारण, बनाउन सकिन्छ भन्ने सोच रहे पनि कसरी बनाउने भन्ने सिर्जनात्मक पक्षको कमीका कारण हुनसक्छ,” निर्देशक मोहन भन्छन्, “यो हाम्रो आफ्नै कल्चर पनि हो । यससँग जोडिएका धेरै विषय छन् । संयोगात्मक कुरा छन्, वियोगान्त पक्ष पनि छन् । अभाव र बाध्यताका कुरा छन्, जुन सिनेमाका राम्रा विषय हुन् ।”

दसैँकेन्द्रित चलचित्र बनाउन सके विश्वकै लागि नयाँ कथा हुने उनको भनाइ छ । कल्चरल विषयमा बनाइने चलचित्र इन्टरनेसनल फिल्म फेस्टिभलमा सहजै लैजान सकिने उनी बताउँछन् ।

विदेशी मात्र नभएर नेपाली दर्शकका निम्ति समेत दसैँका विषयमा बनाइने चलचित्र रोचक हुन सक्ने मोहन बताउँछन् । “कमर्सियल हिसाबले पनि यो विषयमा सिनेमा बनाउन सकिन्छ,” उनी भन्छन्, “हाम्रोमा कुन विषय राम्रो हुन्छ चलचित्रका लागि भन्दा पनि कुन विषयमा बनाउँदा चल्छ भन्नेतर्फ बढी ध्यान दिएको देखिन्छ । यो सोचले पनि होला सायद, हाम्रा धेरै कल्चरल विषय ओझेलमा परेका छन् ।”

संस्कृतिसँग जोडिएका धेरै विषयमा नेपाली सिनेमा उद्योगमा काम गर्न बाँकी नै रहेको उनको बुझाइ छ ।

चलचित्र समाजको दर्पण हो । अर्थात्, चलचित्रले समकालीन समाजको कथा भन्छ । तर, नेपालमा यही विषयमा सिनेमा नबनाइएको यथार्थ हो । कला–संस्कृतिले सिर्जना गर्ने परिस्थिति सिनेमा निर्माणका निम्ति उपयुक्त विषय भएको चलचित्रकर्मी बताउँछन् ।

“कला–संस्कृति चलचित्रका लागि राम्रो विषय हो । हाम्रो रीतिथिती, हाम्रो फुड, हाम्रो लबज तथा वेशभूषामा हाम्रा सिनेमामार्फत मजाले भन्न सकिन्छ । तर, यसमा हामीले काम गर्न सकेका छैनौँ,” नायिका केकी अधिकारी भन्छिन्, “कोरियन, जापानी, इरानी सिनेमा हेर्दा उनीहरूले आफ्नो कला–संस्कृतिको राम्रोसँग प्रोमोट गरेको देखिन्छ । तर, हामीले त्यसो गर्न सकेका छैनौँ ।”

संस्कृति कुनै पनि देशका निम्ति सबैभन्दा महत्त्वको विषय भएको उनी बताउँछिन् । यही विषयमार्फत अन्तर्राष्ट्रिय बजारमा जान सकिने केकी तर्क गर्छिन् ।

सुरुका वर्षहरूमा दसैँतिहारजस्ता विषयनजिक रहेर चलचित्र बनाउने गरिए पनि अहिले त्यो नदेखिएको उनको भनाइ छ । “सुरुका वर्षमा दसैँतिहारजस्ता संस्कृतिको वरिपरि रहेर चलचित्र बन्थे । त्यही विषयमा मात्रै नबने पनि केही हदसम्म भए पनि बन्थे,” केकी भन्छिन्, “तर, अहिले त्यो पनि देखिएको छैन । सायद कमर्सियल विषय होइन भनेर मेकरको ध्यान यसतर्फ नगएको हुनसक्छ । तर, हाम्रो कला–संस्कृतिको जगेर्नाका लागि पनि र अन्तर्राष्ट्रिय बजारमा जान पनि यो उपयुक्त विषय हो ।”

अब आउने नयाँ पुस्ताका मेकरको ध्यान यसतर्फ जाने उनको विश्वास छ । नेपाली चलचित्र मौलिक भएनन् भनेर चौतर्फी आवाज उठाइरहेका बेला यी विषयमा मेकरले काम गर्न सक्ने केकीको धारणा छ । “हामी नेपाली चलचित्रमा आफ्नो पन भएन, मौलिक चलचित्र भएनन् भनेर भनिरहेका हुन्छौँ । तर, यस्ता राम्रा विषय हामीले छोडिरहेका छौँ,” उनी भन्छिन् ।

दसैँतिहार, छठका विषयमा जुनसुकै जानराका चलचित्र बनाउन सकिने स्वयं चलचित्रकर्मी बताउँछन् । दसैँको घटस्थापनादेखि टीकाका दिनसम्मको सेलिब्रेसनलाई समेटेर चलचित्र बनाउन सकिने उनीहरूको भनाइ छ । वैदेशिक रोजगारी र दसैँसँग जोडिएका विषयमा राम्रा चलचित्र बनाउन सकिने निर्देशक केपी पाठक बताउँछन् ।

तिहारको दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता चलचित्रको विषय हुन सक्ने नेपाल इन्टरनेसनल फिल्म फेस्टिभलका सञ्चालक समेत रहेका केपी औँल्याउँछन् । दसैँ सामाजिक बाध्यता पनि बनिसकेको उनी बताउँछन् । यसकै कारण कति मानिसका निम्ति दसैँतिहारजस्ता चाडपर्व दशा बनेर आउने उनको भनाइ छ । यही नै सिनेमाका निम्ति उत्तम विषय हुने उनको धारणा छ ।

“दुईचार दिनको रमाइलो पर्वले वर्षभरिका लागि ऋण बोकाएर जान्छ । विदेशमा बस्ने आफन्तको अनुपस्थितिमा कतिका लागि पर्व खल्लो हुन्छ,” उनी भन्छन्, “दसैँतिहार चलचित्रका लागि मौलिक तथा गहन कथा हुन्छ ।”

अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नेपाली कला–संस्कृतिसम्बन्धी विषय उत्तम हुने उनको ठहर छ । “अन्तर्राष्ट्रिय बजारमा नेपाली कन्टेन्ट बिक्ने भनेको यहाँको कल्चर र माउन्टेन हो । यो विषयमा नै हामीले काम गर्न सकेका छैनौँ,” उनी भन्छन्, “यदि, यसमा राम्रो काम गर्ने हो भने अन्तर्राष्ट्रिय बजारमा जाने मात्रै होइन, राम्रो प्रभाव छाड्न पनि सकिन्छ ।”

दसैँतिहार, छठजस्ता पर्वविशेष सिनेमा प्रोडक्सन डिजाइनका हिसाबले खर्चिलो हुने भएकाले पनि नबाइएको हुन सक्ने केपी बताउँछन् । “दसैँतिहारजस्ता चलचित्र बनाउँदा कि त्यही समय खिच्नुपर्‍यो, होइन भने त्यहीअनुसारको सेट तयार पार्न र क्यानभास देखाउन सकिँदैन भनेर पनि सायद नबनेका होलान्,” उनी भन्छन् ।

फेस्टिभल मुडलाई क्यास गर्न केही चलचित्रमा पर्वविशेष सिन राखिए पनि सिंगो विषय नै त्यसलाई बनाउन मेकर उदासीन रहेको उनको भनाइ छ । देशको पहिचान झल्काउँदै संस्कार र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने राम्रो माध्यम चलचित्र भएको भन्दै उनी यसलाई नजरअन्दाज गर्न नहुनेमा जोड दिन्छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  १०:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro