site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी दुर्घटना बढ्दा ट्रमा सेन्टरलाई चाप थेग्न मुस्किल   

काठमाडौं । चाडपर्वमा अन्य अस्पतालमा चहलपहल कम भइरहँदा राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड हुने गरेको छ । इमर्जेन्सी कक्षमा घाइतेको चापले ड्युटीमा रहेका स्वास्थ्यकर्मी बिदाको महसुस नै गर्न पाउँदैनन् । 

विशेषगरी दसैँमा सवारी दुर्घटना बढ्दा त्यसको प्रत्यक्ष प्रभाव ट्रमाको इमर्जेन्सी कक्षमा देखिन्छ । 

त्यसो त ट्रमाको इमर्जेन्सीमा अन्य समयमा पनि दुर्घटनाका घाइते आउने गर्छन् । यसै वर्षको साउनमा मात्रै एक हजार ६५७ वटा इमर्जेन्सी केसको उपचार भएको अस्पताल निर्देशक डा. बद्री रिजाल बताउँछन् । 

यो संख्या असोजमा एक हजार ५६४ छ । इमर्जेन्सीमा आउनेमध्ये अधिकांश सवारी दुर्घटनाका घाइते छन् । 

चाडपर्वको समयमा तीव्र सवारी साधन चलाउने, मदिरा सेवन गरेर चलाउनेजस्ता कारणले दुईपांग्रे सवारी बढी दुर्घटना हुने गरेको पाइएको छ । 

यसरी आउने घाइतेमा सामान्य चोटपटकदेखि इमर्जेन्सी शल्यक्रिया गर्नुपर्नेसम्मका अवस्था भएको डा. रिजालको भनाइ छ । 

दसैँमा दुर्घटनाका इमर्जेन्सी केस कति बढी ? 
राष्ट्रिय ट्रमा सेन्टरको तथ्यांकमा दसैँ तिहारमा दुर्घटनाबाट इमर्जेन्सीमा आउने घाइतेको अन्य महिनाको भन्दा झन्डै दुईसयले बढी देखिन्छ । 

२०७८ को असोज १ देखि कात्तिक ३० सम्म इमर्जेन्सीमा तीन हजार ३१६ घाइतेको उपचार भएको छ । यो संख्या २०७९ मा तीन हजार ३४ छ । 

असार साउन र दसैँ तिहारका महिनाबाहेक मासिक औसत एक हजार दुईसय इमर्जेन्सी केस हुने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतम बताउँछन् । 

३७ बेड इमर्जेन्सी सञ्चालनमा रहेको ट्रमाका लागि दसैँ तिहारमा आउने इमर्जेन्सी केस धान्न हम्मेहम्मे पर्छ । 

“हामीलाई अन्य समयमा पनि इमर्जेन्सी बेड पर्याप्त छैन झन् दसैँको बेला देशभरबाट केस आउँछन् अवस्था सहज हुँदैन,” निर्देशक डा. रिजाल भन्छन् । 

ट्रमाले वार्षिक १९ हजार इमर्जेन्सी केसको उपचार गर्दै आएको तथ्यांक छ । 

इमर्जेन्सी मात्रै झन्डै ५० जना तैनाथ  
दसैँ अवधिभरमा दुर्घटनाका घटना बढ्ने हुँदा ट्रमाको इमर्जेन्सीमा झन्डै ५० जना स्वास्थ्यकर्मी ड्युटीमा खटाउने गरिएको छ । 

डा. रिजालका अनुसार ३२ जना स्टाफ नर्स, कन्सल्टेन्ट तथा आवासीय चिकित्सकलगायत ५० जनाको टोली इमर्जेन्सी कक्षमा ड्युटीमा रहन्छन् । यसबाहेक इमर्जेन्सी शल्यक्रियाका लागि विशेषज्ञको टोलीलाई पनि जगेडा राख्ने गरिएको उनी बताउँछन् । 

तर, दुईसय बेडको अस्पतालमा २६७ जना मात्रै सरकारको स्थायी दरबन्दी रहेकाले ट्रमा सेन्टरलाई अझै पर्याप्त जनशक्तिको अभाव रहेको डा. रिजालको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro