काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी कम्युनिष्ट वा साम्यवादी हुन नसक्ने बताएका छन् । उनले आफूहरु सैद्धान्तिक रूपमा समाजवादी लोकतान्त्रिक पार्टी भएको प्रष्ट पारेका छन् ।
यादवले सामाजिक सञ्जालमार्फत जसपा कम्युनिष्ट पार्टी नभएको र हुन पनि नसक्ने बताए । उनले अहिलेको समाजवादी मोर्चा समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरुबीचको मोर्चा भएको बताए ।
“समाजवादी पार्टी र कम्युनिष्ट पार्टीहरुबीचको मोर्चा समाजवादी मोर्चा हो,” उनले लेखेका छन्, “वर्तमान अवस्थामा समाजवादी मोर्चा कम्युनिष्ट पार्टी अथवा साम्यवादी मोर्चामा रूपान्तरित हुन पनि सक्दैन । समाजवादी पार्टी, लोकतान्त्रिक पार्टी र कम्युनिष्ट पार्टीहरूबीच सहकार्य र मोर्चा मात्र हुनेछ ।”
आफू पहिचानसहितको संघीयता, सुशासन, समानता, स्वतन्त्रता, सामाजिक–अर्थिक न्याय र समाजवादप्रति आस्था राख्ने भएको हुँदा कम्युनिष्ट वा साम्यवादी हुन नसक्ने पनि उनले प्रष्ट पारेका छन् ।