site stats
बाह्रखरी :: Baahrakhari
देश
शान्ति समाजले गर्‍यो हमासले बन्धक बनाएका विपीन जोशीको सकुशल रिहाइको माग

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले प्यालेस्टिन चरमपन्थी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपीन जोशीको सकुशल रिहाइको माग गरेको छ । 

“हमासद्वारा प्रदर्शित बर्बरता आतंकवादको निकृष्ट उदाहरण हो । इजरायलमा रहेका नेपालीसहित निहत्था नागरिकहरूको हमासद्वारा क्रुरतापूर्वक गरिएको जघन्य हत्याको जति निन्दा गरेपनि कम हुन्छ,” समाजले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, “यसैगरी सयभन्दा बढी निर्दोष नागरिकहरूलाई अपहरण गरी बन्धक बनाउने हमासको कृत्य आतंकवादको पराकाष्ठा हो । शान्ति समाज त्यसरी बन्धक बनाइएका विपिन जोशीसहित सबैको शीघ्र सकुशल रिहाइको माग गर्दछ ।” 

समाजले हमासको आतंकवाद र इजरायलको उदण्डता विश्व शान्तिका लागि खतरा भएको बताएको छ । 

Argakhachi Cement Island Ad

समाजले ७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा आतंकवादी हमला गरेपश्चात मध्यपूर्वमा सुरु भएको युद्ध र त्यसको विस्तारप्रति गम्भीर चिन्ता समेत व्यक्त गरेको छ ।

“पछिल्लो चरणमा युद्धको सुरुवात आतंकवादी कृत्यबाट हमासले सुरु गरेको छ । प्यालेष्टिनी स्वराज आन्दोलनको प्रतिनिधित्व आतंकवादी हमासले गर्न सक्दैन । तसर्थ प्यालेष्टिनी स्वराजको नाममा हमासलाई बोक्ने काम कसैले पनि गर्नुहुदैन र आतंकवादलाई परास्त गर्न समग्र अन्तर्राष्ट्रिय समुदाय केन्द्रित हुनुपर्छ,” समाजले भनेको छ ।

समाजले हमासको बर्बरताको प्रतिवाद गर्ने नाममा लाखौँ निर्दोष प्यालेष्टिनी जनतामाथि प्रदर्शन गरिने कुनै पनि प्रकारको बर्बरता मानवताविरुद्धको अपराध भएको जनाएको छ ।

इजरायलले आफ्नो आत्मरक्षा गर्दा अन्तर्राष्ट्रिय मानवीय कानुन र अन्तर्राष्ट्रिय रूपमा स्थापित मान्यताको सदैव पालना गर्नुपर्ने तर्फ शान्ति समाजले ध्यानाकर्षण गराएको छ ।

“उत्तरी गाजाका झण्डै ११ लाख बासिन्दालाई बस्ती छोड्न इजरायलले जारी गरेको फरमान, गाजास्थित अस्पताल खाली गर्ने आदेश, अन्तर्राष्ट्रिय कानुनले निषेध गरेको घातक अस्त्रको प्रयोग, गाजामा बिजुली, पानी र खाद्यान्न आपूर्ति रोक्ने जस्ता अमानवीय नाकाबन्दी मानवताविरुद्धकै अपराधमा पर्दछ जस्को शान्ति समाज निन्दा गर्दछ,” समाजले विज्ञप्तिमा भनेको छ । 

हमासको आतंकवाद र इजरायलको उद्दण्डता दुवै विश्व शान्तिका लागि खतरा भएको हुँदा आतंकवाद र उद्दण्डतालाई रोक्न र युद्ध अन्त्यका लागि विशेष पहल गर्न अन्तर्राष्ट्रिय समुदायलाई शान्ति समाज आग्रह गरेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १३:१५
प्रतिक्रिया दिनुहोस्