site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजनीतिज्ञ–कर्मचारी मिल्दा भ्रष्टाचार गुणात्मक ढंगले बढ्छ, नमिले सरुवा पूर्जी आउँछ 

हाम्रो राज्य, असफल राज्य नभए पनि कमजोर राज्य पक्कै हो । कमजोर राज्यका चरित्र हेर्ने हो भने जहिले पनि समस्याग्रस्त भइरहन्छ । 

कमजोर राज्यका चरित्रहरु नेपालमा देखा परेका छन् । हिंसा र अस्थिरता बढ्दो जोखिमका कारण राज्य कमजोर राज्य हुन्छ ।  जब सार्वजनिक संस्थाहरुमा जवाफदेही चरित्र हराउँदै जान्छ, तब राज्य कमजोरतिरै उन्मुख गराउँछ । 

कमजोर राज्यमै स्रोतको व्यवस्थापन र खर्चको क्षमता पनि ह्रास आउँछ । भ्रष्टाचार पनि कमजोर शासन व्यवस्था बढ्ता हुन्छ ।  कानुन उल्लंघनका घटना पनि सामान्य हुन पुग्छन् । 

Dabur Nepal
NIC Asia

राजनीतिक दलहरुमा नेतृत्व पंक्ति नेता होइन कि शासक बन्ने प्रवृत्ति बढ्दै गर्दा लोकतान्त्रिक राजनीतिक प्रक्रिया बिथोलिन पुग्छन् ।  हामी कहाँ यस्ता चरित्र र प्रवृत्ति निरन्तर छ । यसल के देखाउँछ भने नेपाल अझै कमजोर राज्यतिरै उन्मुख छ ।

उता ‘असफल राज्य’का पनि अझ कडा खाले चरित्र देखापर्छ ।  जहाँ आन्तरिक हिंसा बढ्दो छ, सहज ढंगमा सार्वजनिक सेवा प्रवाह हुँदैनन्, सरकारप्रति जनपत्यार घट्दै जानु भनेको असफल राज्यका निम्ति माहोल तयार हुनु हो । 

त्यस अतिरिक्त भ्रष्टाचार अत्यधिक बढेपछि स्वाभाविक रुपमा विधिको शासन सिला खोज्नुपर्ने हुन्छ ।  यस्ता दृश्यबाट आजित हुँदै जब नागरिकहरु देश छाड्ने बाटोमा लाग्छन्, तब बुझ्नुपर्छ कि मुलुक ‘असफल राज्य’को कोटीमा पर्दैछ । 

जब नागरिकले आफ्नो देश र देशका संस्थाहरुलाई विश्वास गर्दैनन् र देश छाड्न आतूर हुन्छन् भने त्यो असफल राज्यको चरित्रभित्र पर्छ । जब हाम्रा संवैधानिक र कानुनी संस्थाहरुले विधिपूर्वक काम गर्दैनन्, तब असफल राज्यमा परिणत हुन बेर लाग्दैन । 

हो, हाम्रो लोक सेवा आयोगसँग अझै विश्वास टुटेको छैन । त्योबाहेक अरु संस्थामाथि विश्वास गर्न सक्ने अवस्था छैन ।  अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक संस्था, कर्मचारीतन्त्र ‘नामेट’ जस्ता हुँदै गएका छन् । हाम्रा संस्थाहरुप्रति विश्वासको संकट पैदा हुँदै जानुलाई सकारात्मक लक्षण मान्न सकिँदैन ।

‘असफल राज्य’ भन्दा कठोर लाग्न सक्छ, राजनीतिक रुपले नपच्न सक्छ । म पनि ‘असफल राज्य’ भन्दिनँ, नेपाल कजमोर राज्य अवश्य हो । कमजोर राज्य हुनुमा कर्मचारीतन्त्र पनि एउटा तत्वमध्ये मानिन्छ । 

कर्मचारीतन्त्र, हाम्रोमा आज्ञाकारी प्रकृतिको छ । मन्त्रीले यसो गर्नुस् भन्दा जवाफ आउँछ, ‘हुन्छ हजूर... म मिलाएर ल्याउँछु ।’ कर्मचारीतन्त्रले भरसक कामै नगर्ने, काम गरेको खण्डमा व्यवस्थित ढंगले नगर्ने चरित्र छ ।
 
कर्मचारीतन्त्रले खुट्टा नटेकेको हुँदा राजनीतिक वृत्तमा जे गर्दा पनि हुन्छ भन्ने मनोबल बढ्दै गएको छ । त्यसो त, राजनीतिक ‘तन्त्र’ नसुध्रिकन कर्मचारीतन्त्र सुध्रदैन ।  तर, कर्मचारीतन्त्र के कारणले बढ्ता नै बिग्रिन पुग्यो । त्यसो हुँदा जटिल परिस्थितिमा मुलुक छ ।

राज्य कमजोर भयो भने नागरिकले शुरुमा सरकारलाई गाली गर्छन् । तर, पछि गएर व्यवस्थालाई धक्का दिन्छ । अनि थेगो बस्न सक्छ, ‘लोकतन्त्रमा यस्तै हुन्छ । यस्तै हो त लोकतन्त्र... ?’

पूर्वराजाको पक्षमा मानिसहरु आउनुलाई वितृष्णा बढेको अर्थमा बुझ्न्पर्छ । तर यो के भुल्नु हुँदैन भने वितृष्णा यिनै राजनीतिक दलका नेताहरुबाट सुरु भएको हो । 

दल र राज्य सञ्चालकका खराबीका कारण वस्तुस्थिति जटिल बनेको हो । यसमा लोकतन्त्रको के को दोष ? यसमा लोकतन्त्रको कुनै दोष छैन । जनचाहनाअनुरुप सेवा र सुशासन दिँदै राज्य बलियो बनाउने पक्षमा कोही देखिएनन्, कोही लागेको अनुभूति हुँदैन । 

राज्य बलियो बनाउने हो भने सरकार, राजनीतिक दल, राज्यका अंग, संयन्त्रहरु ‘असल शासन’को पक्षमा लागेको सन्देश फैलावट गर्नुपर्छ । यतिखेर कर्मचारीतन्त्रमा गुणात्मक ह्रास आइरहेको छ ।  वस्तुस्थिति हेर्दा म के निष्कर्षमा पुगेको छ भने समग्र शासकीय सुधारका नयाँ खाका कोरिनुपर्छ । 

राजकाज र शासकीय पद्धतिमा सुधारको मार्गमा जान सकेनौं भने एउटा अर्काे किसिमको ‘सेटब्याक’ बेहोर्नुपर्ने देख्छु ।  हामीले दश वर्ष माओवादी द्वन्द्वका कारण राम्रैसँग ‘सेटब्याक’ भोगेकै हो । राज्यले जसको मूल्य धेरै नै चुकायो र अझै चुकाइरहेको छ । 

अर्थतन्त्रमा देखिएको ‘सेटब्याक’ माओवादी द्वन्द्वकै ‘ह्यांगओभर’ हो ।  अब फेरि धक्का लाग्यो भने त्यसको मूल्य चुकाउनु ज्यादै गाह्रो हुन्छ । त्यसको मूल्य कल्पना पनि सकिँदैन । अफ्रिकामा लोकतन्त्रमा गएका ४० मुलुकमध्ये २६ फेरि लोकतन्त्रविरुद्ध गए । ‘किन गयो ?’ नागरिकको जवाफ आयो, ‘मतपत्र खाएर हुँदैन’ अर्थात्, लोकतन्त्रमा नागरिकले राज्यबाट सोचे जस्तो सुविधा पाएनन् ।

हाम्रो लोकतन्त्रमा पनि पाँच वर्षमा एकपटक मत दिनुबाहेक अरुमा के मा देखिन्छ र ? नागरिकले लोकतन्त्रबाट बराबरी लाभ भएको अनुभूति गर्न पाउनुपर्‍यो नि । 

हरेक नागरिकले सोच्न पाउनुप¥यो कि नागरिकको नजरमा पुष्पकमल दाहाल र म उस्तै हुँ । जबसम्म विधिको प्रयोग समान रुपले भएको अनुभूत हुँदैन, तबसम्म त्यो लोकतन्त्र अर्थपूर्ण हुनै सक्दैन । यसो हुँदा जबसम्म हामी लोकतान्त्रिक विधि र प्रक्रियामा जाँदैनौं, तबसम्म यस्तै खराब दृश्य मडारिइरहन्छ । 

राजनीतिकर्मीको चाहना नै नरम खालका संस्था र व्यक्तिहरुबाट शासन चलाउन खोज्छन् । यिनीहरु के ठान्छन् भने यिनीहरु कमजोर भएको खण्डमा आफू बलियो भइन्छ । राजनीतिलाई कर्मचारीतन्त्र र संस्था बलियो हुँदा आफूहरु पनि बलियो भइन्छ भन्ने सोच नै छैन । 

राजनीतिकर्मीहरु के ठान्छन् भने कर्मचारीतन्त्र कमजोर रह्यो भने सिर्कनाले सँधैभरि हिर्काइरहन सक्छु । यो खतरनाक प्रवृत्ति हो । संस्था र कर्मचारीतन्त्र बलिया भयो भने लोकतन्त्र र आफूहरु बलियो भइन्छ भन्ने सोच तिनमा पलाएको पाइँदैन । 

अब हामी कहाँ कमजोर कर्मचारीतन्त्र छ । यस्तो स्थितिमा के हुन्छ भने राजनीतिकर्मी–कर्मचारी मिले भने भ्रष्टाचार गुणात्मक ढंगले बढ्छ ।  त्यो जस्तो खराब गठबन्धन अर्काे केही हुँदैन । यिनीहरु मिलेनन् भने दुई–तीन महिनामै सरुवा पूर्जी आउँछ, अनि कर्मचारीतन्त्र अस्थिर हुन पुग्छ ।

अब कानुनद्वारा नै कर्मचारीतन्त्रलाई स्वायत्त निर्णय गर्ने अधिकार नदिएसम्म अस्थिर चरित्र रहिरहन्छ  । कर्मचारीतन्त्र कानुनद्वारा निर्देशित भएको खण्डमा त्यति अस्थिर हुन पाउँदैन ।  आन्तरिक नियन्त्रण विधि बलियो हुनुपर्छ । तर, राजनीतिक वृत्त नसुध्रिएसम्म केही हुनेवाला छैन । 

यदि शरीर पखाल्ने हो भने बीचमा पानी खन्याउनुको केही अर्थ हुन्छ र ? टाउकोमै पानी खन्याएको खण्डमा मात्रै सफा हुन सक्ने हो । अनि खट्टातिर पानी हाल्दा एक कुनो मात्र सफा हुँदो रहेछ । मलाई सबभन्दा डर लागेको के छ भने सरकारप्रति जनताको पत्यार तीव्र गतिमा घट्दै गएको छ । यतिखेर इतिहासमा सबैभन्दा बढ्ता जनप्रत्यार घटेको बेला हो जस्तो लाग्छ । 

जनता आफैँले मत दिएको मानिस सरकारमा छन् । तर पनि तिनै मतदाता भन्छन्, ‘यस्तो सरकार हुनुभन्दा त सरकार नभएकै जाति भन्ने स्थिति बनेको छ ।’ अर्काे त, हाम्रो मुलुकको विडम्बना भन्नुपर्छ कि स्थिर सरकार हुँदा पनि कर्मचारीतन्त्र स्थिर हुँदो रहनेछ । 

त्यो केपी शर्मा ओली साढे तीन वर्ष प्रधानमन्त्री हुँदा नै त्यो चरित्र देखिएको होइन र ? स्थिर सरकार हुँदा तीन–तीन महिनामा सचिव सरुवा हुनु, चार–चार महिनामा सिडिओ सरुवा हुुनुलाई कसरी स्थिर मान्न सकिन्छ ? 

स्थिर सरकारले अरु संयन्त्रलाई स्थिर हुन दिएको त देखिएन ? हाम्रो राजनीतिक वृत्तको मानसिकता नै कज्याएर राख्न सकिन्छ भन्ने देखिन्छ । यो जटिल परिस्थिति निरन्तर छ ।

मलाई त कहिले काहीँ कस्तो लाग्छ भने कर्मचारीलाई यति गुजुल्टो पारियो कि अब गाँठो नै फुकाउन नसकिने हो कि ? पहिला, मलाई प्रशासन सुधार गर्ने (प्रतिवेदन लेख्ने होइन) जिम्मेवारी दिइयो भने गर्न सक्छु जस्तो लाग्थ्यो । केही परिवर्तन चाहिँ निश्चय पनि म ल्याउँछु भन्ने लाग्थ्यो । अब त यति गाँठो पर्दै गएको देख्छु कि त्यो एकातिर फुकायो भने अर्कातिर गाँठो पर्छ, अर्काेतिर फुकायो भने एकातिर पर्छ । कर्मचारीतन्त्रलाई यसरी गाँठो पार्न राजनीतिक वृत्तकै हात छ ।

मुलुकको शासन व्यवस्था खराब हुनुमा कर्मचारीतन्त्रलाई मात्र छुट्याएर हेर्नुहुन्न ।  अनि राजनीतिक प्रतिबद्धता नभइकन सांगोपांगो सुधार सम्भव छैन ।  तैपनि राजनीतिक अस्थिरताका शासन व्यवस्थालाई स्थिरता दिने जिम्मेवारी कर्मचारीतन्त्रको हो । 

कुनै प्रकरण आउँछ, टिप्पणी लेख्ने शाखा अधिकृतलाई पक्राउ गरिन्छ, निर्णयकर्तालाई छाडिन्छ । यस्ता दृश्य देखेपछि शासकहरुलाई कसरी पत्याउनु ? प्रमुख निर्णयकर्ताहरुले छुटकारा पाउनुलाई के भन्ने ? 

प्रधानमन्त्री आदेशानुसार फाइल पेस गरेको छु भन्ने शाखा अधिकृतलाई विमानस्थलबाट पक्राउ गरिएको दृश्यले कर्मचारीतन्त्रमा कस्तो सन्देश जान्छ ? सरकारले सुशासन दिन्छ वा जनतालाई अनुभूत गराउँछ र गलत कामसँग सम्झौता गर्दैन भन्ने प्रत्याभूति नहुँदासम्म भद्रगोल रहिरहन्छ । 

राज्यलाई बलियो बनाउने हो भने पहिला हाम्रा संस्थाहरुलाई विधिको शासन हिँडाउँदै विश्वसनीयता बढाउनुपर्छ ।

(पूर्व मुख्यसचिव डा. कोइरालासँग बाह्रखरीले गरेको कुराकानीमा आधारित)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro