site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालगन्जमा निषेधाज्ञा खुकुलो
फाइल तस्बिर ।

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा खुकुलो बनाइएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आज बिहान ८ बजेदेखि राति ८ बजेसम्मका लागि निषेधाज्ञा हटाइएको जानकारी दिए ।

Argakhachi Cement Island Ad

उपमहानगर क्षेत्रभित्र मंगलबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको थियो । राति ८ पछि शुक्रबार बिहान ६ बजेसम्म पूर्ववत् रूपमा उपमहानगर क्षेत्रभित्र पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाका चार किल्लामा निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

स्थानीय प्रशासन ऐनको दफा ३ (क) बमोजिम चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, प्रचारप्रसार सामग्री टाँस्न वा लेख्न नपाइने र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकैठाउँमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानीय प्रशासनले सार्वजनिक स्थानमा होहल्ला गर्नेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पार्ने खालका कार्य नगर्न र नगराउन अपिल समेत गरेको छ ।

हिजो मात्र जिल्ला प्रसासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकबाट निषेधाज्ञा खुकुलो बनाउन जिल्ला सुरक्षा समितिमा सिफारिस गर्दै सामाजिक सद्भाव कायम राख्न र सद्भाव भड्किन नदिने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सबै क्षेत्रको उल्लेख्य सहभागिता हुने गरी सद्भाव र्‍याली आयोजना गर्ने निर्णय समेत गरिएको थियो । सामाजिक सञ्जालमा आएको विषयलाई लिएर दुई समुदायबीचको सद्भाव भड्कँदा नेपालगन्ज तनावग्रस्त बनेको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:१०
प्रतिक्रिया दिनुहोस्