site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापाको प्रस्तावले कांग्रेसमा तरंग, संस्थापन पक्ष भन्छ– सुन्दा आनन्द लाग्छ 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आइतबार सत्ता गठबन्धनका विषयमा छुट्टै प्रस्ताव अघि सारे ।  महामन्त्री थापाले समाजवादी मोर्चालाई सरकार चलाउन दिएर कांग्रेस सरकारबाट बाहिरिने प्रस्ताव राखे । 

उनले गठबन्धन सरकारमा रहेका दलहरूबीच एकअर्काप्रति गुनासो बढिरहेको र सरकारले गरेका कामको जस–अपजस कसले लिने भन्ने विषयमा अन्योल देखिएको उनको भनाइ छ ।  

“यो दुई–अढाई वर्ष उहाँहरूले सरकार चलाउने कुरा छ । पहिला प्रचण्डजी र त्यसपछि माधव नेपाल बन्ने भन्नेछ । उहाँहरूको समाजवादी मोर्चा छ, पार्टीलाई पनि एउटै बनाउने भन्नेछ,“ महामन्त्री  थापाले भने, “कांग्रेसका मन्त्रीहरू सबै फिर्ता बोलाऔँ । यो दुई–अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔँ । हामी समर्थन गरौँ । त्यसपछिको दुई–अढाई वर्ष कांग्रेसले एक्लै चलाउनुपर्छ । त्यसमा जस–अपजस दुवै कांग्रेसले लिन्छ ।”

सरकारका काममा प्रश्न उठे पनि जवाफदेही नभएको भन्दै जवाफदेहिताका लागि पनि यो गर्नु आवश्यक रहेको थापाको तर्क थियो ।

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले गरेको ‘१४औँ महाधिवेशनको ‘म्यान्डेड र पार्टी रूपान्तरणको जल्दाबल्दा सवाल’ विषयक विचार गोष्ठीमा महामन्त्री थापाले राखेको विचार संस्थापनइतर पक्षकै धारणा भने नभएको बताएको छ । संस्थापनइतरले त्यसलाई महामन्त्री थापाको व्यक्तिगत विचार भनेको छ । 

“त्यो महामन्त्री थापाको व्यक्तिगत विचार हो, उहाँले गठबन्धनको सरकारमा हुँदा त्यसले गरेका कामको श्रेय लिने र दोषको भारी बोक्ने कुरामा प्रस्टता नभएकाले विचारका आधारमा सरकारको नेतृत्व गरेर  जाउँ भन्नुभएको हो,” इतर समूहका तर्फबाट कार्यक्रम आयोजक नेता जगदिश्वरनरसिंह केसीले बाह्रखरीसँग भने, “तर उहाँले राखेको प्रस्तावमा सरकारको गुण र दोषको जिम्मा लिने अवस्था निर्माण गरौँ । उहाँको प्रस्ताव सकारात्मक र पार्टीका लागि मननयोग्य छ ।” 

उनले भोलिका दिनमा पार्टीले बोक्नसक्ने प्रस्ताव भएको बताए । 

कांग्रेसको संस्थापन पक्षले भने महामन्त्रीले राखेको प्रस्तावलाई अपरिपक्व र असान्दर्भिक रूपमा व्याख्या गरेको छ । उसले एकहप्ता अघि केन्द्रीय समितिको बैठकमा एजेन्डा प्रस्तावसमेत नगरी हप्तादिन पछि खुला मञ्चमा गरिएको प्रस्तावले महामन्त्रीको भूमिकालाई  होच्याउने काम गरेको टिप्पणी गरेको छ ।

“त्यो प्रस्ताव ठिक हो किन भने यो सुन्नेलाई (अझ मन्त्री नभएकाहरूलाई) स्वाद पर्ने खालको छ,” नेपाली कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बाह्रखरीसँग भन्छन्, “तर पदाधिकारीका बीचमा छलफल गरेर, सभापतिलाई मोटिभेट गरेर, पार्टी संगठन ध्वस्त भयो जिम्मेवारी छोडेर सरकारबाट बाहिरिउँ भनेको भए नेतृत्वको परिपक्वता स्थापित हुने थियो । तर, अहिलेको प्रस्तावको शैलीले नेतृत्वको स्थायित्वको प्रश्न जन्माएको छ ।” 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य लोकतन्त्र भनेकै विचारले नेतृत्व गर्ने भन्दै गगनको प्रस्ताव आकर्षक भएको बताउँछन् । उनी गगनको प्रस्ताव बहसका लागि उपयुक्त भएको बताए । 

यद्यपि, उनले यो प्रस्तावमा छलफल चाहेको भए एकहप्ता अघिको केन्द्रीय समितिमा राख्नु उपयुक्त हुने उनको बुझाई छ । 

“यो विषयको छलफलका लागि राम्रो प्लेटफर्म केन्द्रीय समिति हो । केन्द्रीय समिति सकिएपछि अर्कै प्लेटफर्ममा यो कुरा उठाउँदा त्यसले उपयुक्त छलफलको माइलेज पाउँदैन,” आचार्यले बाह्रखरीसँग भने, “पार्टीको न्यूनतम मर्यादा हुन्छ, त्यो मर्यादा पालना गर्नुपर्छ ।  महामन्त्रीले त्यो मर्यादा पालना गरेन भने पार्टी अराजक हुन्छ । तर विचार राख्नै नपाउने भन्ने हुँदैन ।” 

उनले विचार अराजक हुँदा फाइदा हुने तर पार्टी अराजक भए पतन हुने बताए । गगनले उठाएको विषय भने सकारात्मक भएको उनको तर्क छ । 

“म मेरो विचारले यति दिन चलाउँछु, राम्रो चलाए जस मेरो हो नराम्रो चलाउन नसके अपजस पनि आफैँ लिन्छु भन्नु प्रजातान्त्रिक विचार हो । यो पर्फेक्ट स्टेटमेन्ट हो, यसमा खोट लाउने स्थिति छैन । यो बहसको विषय हो,” उनले भने, “भोलि अनुकूल–प्रतिकूल दुवै अवस्थामा गगन,  शेखर कोइराला अथवा शेरबहादुर देउवाले बोले पनि त्यसमा अड्न सक्नुपर्छ ।” 

आचार्यले महासमिति बैठक (नीति महाधिवेशन)का लागि गगनले बहस सुरु गरेको भए त्यसलाई उपयुक्त मान्न सकिने बताए ।  उनले सैद्धान्तिक विषयलाई व्यवहारमा पनि परीक्षण गर्नुपर्ने धारणा राखे । 

“सिद्धान्त छोडिँदैन तर सिद्धान्तमात्रै समातेर बस्यो भने मोहन वैद्य, मोहनविक्रम सिंह भइन्छ, त्यसैले सिद्धान्त र व्यवहारमा समन्वय आवश्यक हुन्छ,” उनले भने, “सिद्धान्तभन्दा व्यवहार हाबी भयो भने भ्रष्ट भइन्छ, सिद्धान्तबाट व्यवहार टाढा भयो भने रावणले स्वर्ग जाने बाटो बनाउँछु भनेजस्तो कुरा हुन्छ ।” 

त्यसैले दुवैलाई समानान्तर रुपमा लैजान सक्नु पर्ने उनको धारणा छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro