काठमाडौं । चीनको हाङझाउमा जारी एसियाडको पौडीतर्फ महिला १०० मिटर फ्रिस्टाइलमा नेपालकी अनुशिया तण्डुकारले समग्रमा २५औँ स्थानमा पाएकी छन् । २९ खेलाडीले प्रतिस्पर्धा गरेको उक्त स्पर्धामा अनुशियाले मंगोलिया, यूएई, लाओस र टिमोर लिस्टेका खेलाडीलाई पछि पारिन् ।
एचओसी एक्वेटिक स्पोर्ट्स एरिनामा भएको पहिलो हिटमा अनुशियाले निर्धारित दुरी एक मिनेट ०३.१७ सेकेन्डमा पूरा गरिन् । अनुशिया हिट चरणबाटै बाहिरिन् । हङकङ चाइना, चीन र फिलिपिन्सका खेलाडीले शीर्ष स्थान हात पारे ।
उसु : दीपक र निमा पराजित
उसुमा नेपालका दुई प्रमुख खेलाडी दीपक हमाल र निमा घर्ती मगर मंगलबार पराजित भएका छन् । दुवै १३औँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।
झिओसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको पुरुष नान्छ्वान र नान्गुन अलराउन्डमा दीपक समग्रमा १३औँ स्थानमा रहे । उनले नान्छवानमा ९.६३३ तथा नान्गुनमा ९.५४६ गरी जम्मा १९.१७९ अंक जोडे । जसमा २० खेलाडी सहभागी थिए । इन्डोनेसियाका हरिस होराटियुसले स्वर्ण, दक्षिण कोरियाकी योङमुन लिले रजत र मकाउका जुन्हुवा हुवाङले काँस्य जिते ।
महिला नान्छ्वान र नान्दोओ अलराउन्डमा निमा समग्रमा दशौँ स्थानमा रहिन् । निमाले नान्छ्वानमा ९.१४० तथा नान्दाओमा ९.१४० सहित १८.७०३ अंक बटुलिन् ।
लनटेनिस
उसियाडअन्तर्गत लनटेनिसको मिक्स डबल्समा नेपालका प्रणव खनाल र सुनिरा थापाको जोडी मंगलबार पराजित भएका छन् ।
हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टरमा भएको दोस्रो चरणको खेलमा फिलिपिन्सका अलेक्स इला र क्यासे अल्कन्ताराको जोडीले प्रणव र सुनिराको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे ।
स्क्वास
एयिसाली खेलकुुदको चौथो दिन मंगलबार स्क्वासमा नेपाल पुरुष÷महिला दुवै टोली मंगलबार टिम स्पर्धामा पराजित भएको छ । हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर कोर्टमा सुरु भएको स्पर्धामा पुरुष÷महिलातर्फ दुई इभेन्टमा नेपाल पराजित भयो ।
पुरुषतर्फ समूह ‘ए’मा रहेको नेपाल कुवेत र पाकिस्तानसँग समान ३–० ले पराजित भयो । टिम इभेन्टमा नेपालका अमिर ब्लोन कुवेतका अली अल्रामेजीसँग ११–२, ११–३, ११–५ ले अमृत थापा मगर अब्दुल्लाह अल्मेजायनसँग ११–२, ११–२, ११–६ र अरहान्त केशर सिंह अम्मार अल्तामिनीसँग ११–३, ११–३, ११–५ ले पराजित भए ।
अर्को खेलमा अमिर पाकिस्तानका नासिर इक्बालसँग ११–२, ११–५, ११–२ ले अमृत असिम मुहमम्दसँग ११–३, ११–२, ११–५ ले र अरहान्त नुर जमनसँग ११–१, ११–८, ११–५ ले पराजित भए ।
यस्तै, महिलातर्फ समूह ‘बी’मा रहेको नेपाल मलेसिया र मकाउ चाइनासँग ३–० कै नतिजामा पराजित भयो ।
महिलातर्फ नेपालकी स्वस्थानी श्रेष्ठ मलेसियाकी बिन्ती अज्मानस आइरासँग ११–३, ११–१, ११–६ ले विपना ब्लोन अज्मान आइफा बिन्तीसँग ११–२, ११–५, ११–६ र कृष्णा थापा राचेल माए अल्नोल्डसँग ११–४, ११–५, ११–४ ले पराजित भए ।
मकाउविरुद्ध स्वस्थानी लेङ लाम लिएङसँग ११–६, ११–९, ११–४ ले विपना वेएङ चि युएङसँग ११–३, ११–४, ११–४ ले र कृष्णा वाइ लेङ युएङसँग ११–६, ११–५, ११–० ले पराजित भए ।
बक्सिङ
पुरुष बक्सिङमा नेपालका बुद्ध ग्याम्जो लामा पराजित भएका छन् । पुरुष ५७ केजीको अन्तिम ३२ को खेलमा बुद्ध भियतनामा भान डुयोङ एनगुएनसँग अंकका आधारमा ४–० ले पराजित भए ।
रग्बी
पुरुष रग्बी सेभेन्समा नेपाल जितविहीन बनेको छ । रग्बी सेभेन्समा प्रतिस्पर्धा गरेको नेपालको पुरुष टोली सबै खेलमा पराजित हुँदै अन्तिम स्थानमा रह्यो ।
मंगलबार भएको ९–१३औँ स्थान निर्धारणका लागि भएको अन्तिम खेलमा पनि नेपाल पराजित भयो । हाङझाव नर्मल युनिभर्सिटी कान्क्विन एथ्लेटिक्स फिल्डमा भएको अन्तिम खेलमा नेपाल ओसिए इन्डेपेन्डेन्ट एथ्लेटक टिमसँग ६८–० अन्तरले पछि प¥यो ।
योसहित नेपालले खेलेको सबै ६ खेलमा हार व्यहो¥यो । ६ खेल खेल्दा नेपालले समूह चरणमा यूएईविरुद्ध मात्र स्कोर गर्न सफल भएको थियो । उक्त खेलमा नेपाल ५५–७ ले पराजित भएको थियो । समूह ‘डी’मा नेपाल त्यसपछि चीनसँग ६५–० र अफगानिस्तानसँग ४१–० ले पराजित भयो ।
समूह चरणमा तीनवटै खेलमा पराजित नेपाल समूह चरणबाट बाहिरिएपछि नौदेखि १३औँ स्थानसम्मका लागि अन्य तीन खेल खेलेको थियो । जसमा फिलिपिन्ससँग ५५–० र थाइल्यान्डसँग ३६–० ले पराजित भयो । रग्बीमा नेपालसहित १३ राष्ट्र सहभागी थिए । एसियाली खेलकुदको रग्बीमा नेपालले पहिलोपटक सहभागिता जनाएको हो ।