site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेश : मुख्यमन्त्री कार्कीका यी हुन् ‘१२ दिने’ सत्ता सारथि !

विराटनगर । सोमबार कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरे । उनी सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाँच सदस्यीय मन्त्रिमण्डलमा कार्कीले सोमबार चारजना मन्त्री थपेका छन् । विश्वासको मत लिन १२ दिन बाँकी छँदा भएको यो नियुक्तिले राजनीतिक वृत्तमा चर्चा पाएको छ । किनकि, कोसीमा सत्ता प्राप्ति र जोगाउन कठिन राजनीतिक अंकगणित छ ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्की नेतृत्वको सरकार गठन भएको हो । ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका उनले असोज २० गतेभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ ।

Dabur Nepal
NIC Asia

एकातिर सत्ता गठबन्धन र अर्कोतिर राप्रपाले समेत साथ नदिएको अहिलेको अवस्थामा सदनमा एमाले एक्लो परेको छ । राप्रपाले ‘विश्वासको मत लिन सक्ने अवस्था भएमात्र सरकारमा सामेल हुने’ जनाउ दिएको छ । यसअघि ऊ एमाले नेतृत्वको सरकारमा थियो ।

सत्ता गठबन्धनका तत्कालीन मुख्यमन्त्री नेपाली कांग्रेसका उद्धव थापाले लिएको विश्वासको मतसम्बन्धी सम्पूर्ण प्रक्रियालाई सर्वोच्चले गैरसंवैधानिक करार गरेसँगै भदौ २१ गते थापा नेतृत्वको सरकार ढलेको थियो । थापालाई सभाध्यक्ष गरेका कांग्रेस सांसद इस्राइल मन्सुरीले समेत मत दिएका थिए ।

कोसीमा को कस्ता मन्त्री ?

मुख्यमन्त्री कार्कीले आफ्नो मन्त्रिमण्डलमा दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् । सोमबार नियुक्त गरिएका मन्त्रीले प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

जसअनुसार लिलावल्लव अधिकारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री बनाइएको छ । मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा उनी सोही मन्त्रालयमा राज्यमन्त्री थिए । उनी कानुन व्यवसायी पनि हुन् । उनी पहिलो प्रदेशसभामा समेत सांसद थिए ।

बुद्धिकुमार राजभण्डारीले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् । यसअघि, उनी कार्कीकै कार्यकालमा सामाजिक विकासमन्त्री थिए । ‘अदालतका न्यायाधीशले पैसा खाएर मात्र फैसला गर्छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा तानिएका थिए । न्यायालयको मानहानिसम्बन्धी मुद्दा अदालतबाट किनारा लाग्न बाँकी छ ।

यसैगरी रामप्रसाद महतो उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री र निरन राई आर्थिक मामिला तथा योजना राज्यमन्त्री नियुक्त भएका छन् । महतो सुनसरीका सांसद हुन् । राई धनकुटाबाट दोस्रो कार्यकालका लागि निर्वाचित हुन् ।

कार्कीको मन्त्रिमण्डल अब नौ सदस्यीय भएको छ । खानेपानीमन्त्री र सरकारको प्रवक्ताको जिम्मेवारीमा रहेका तिलकुमार मेन्याङ्बो अब स्वास्थ्यमन्त्री बनेका छन् । पाँच कर्ण राई पर्यटन, वन तथा वातावरण मन्त्रालय र एकराज कार्कीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । मेन्याङ्बो यसअघि पनि कार्की नेतृत्वको सरकारका मन्त्री थिए ।

विश्वासको मत पाउन कठिन

मुख्यमन्त्री कार्कीले मन्त्रिमण्डलमा एकाएक मन्त्री थप गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर, राप्रपा समेत अहिले साथमा नभएकोले मन्त्रिमण्डल विस्तारले फरक नपर्ने गठबन्धन दलका सांसदको भनाइ छ ।

नेकपा (एमाले)का प्रमुख सचेतक रेवतिरमण भण्डारी सरकारले संवैधानिक व्यवस्थाअनुरुप नै विश्वासको मत लिने बताउँछन् ।

“पहिले गठबन्धन दलले ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधेयकलाई समेत स्वीकार गरी बजेट पारित गर्ने तयारी छ,” उनले भने, “यति भए प्रदेशमा कम्तीमा बजेट शून्यता रहँदैन । त्यसपछि विश्वासको मत लिइनेछ ।”

कार्की मुख्यमन्त्री भएकै बेला ल्याएको बजेटसम्बन्धी अध्यादेश सदनबाट पारित नहुँदा दोस्रोपटक अध्यादेश ल्याउनु परेको थियो ।

कार्कीलाई कांग्रेस, माओवादी केन्द्र वा एकीकृत समाजवादीले साथ दिएमात्र विश्वासको मत प्राप्त हुनसक्छ । तर, यो सम्भावना न्यून रहेको गठबन्धन दलका सांसद बताउँछन् ।

माओवादी केन्द्रका सांसद गणेश उप्रेती ‘सुशील’ भन्छन्, “माओवादी वा कांग्रेस एमालेसँग मिल्न जाँदा केन्द्रको गठबन्धनमा के असर गर्ला भन्ने द्विविधा छ । एकीकृत समाजवादीले सघाउन नसकिने भनेर प्रस्टै भनिसकेको छ ।” उप्रेतीले कोसी प्रदेशमा संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुने तर कार्कीले विश्वासको मत प्राप्त गर्ने सम्भावना शून्य रहेको सुनाए ।

यता मुख्यमन्त्री कार्कीले सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा सबै दलहरु प्रदेशको राजनीतिप्रति गम्भीर भएर समस्या समाधानमा अग्रसर हुनुपर्ने बताए । उनले भने, “सबै दलको एकताबाट मात्र प्रदेशमा देखिएका समस्या समाधान हुनेछन् ।”

कोसी प्रदेशको वर्तमान गठबन्धनसँग बहुमत पुग्ने ४७ सांसद संख्या छ । कांग्रेससँग २९, माओवादी केन्द्रसँग १३, नेकपा (एकीकृत समाजवादी)सँग चार र जनता समाजवादी पार्टी (जसपा)सँग एक सांसद छन् । एमालेसँग उपसभामुखसहित ४० र राप्रपाका ६ सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro