site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नागरिकता विधेयक प्रमाणीकरण गर्ने अवसर पाउनु अविस्मरणीय : राष्ट्रपति पौडेल
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता लिनबाट वञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन् । जनकपुरमा सोमबार आयोजित नागरिक अभिनन्दन तथा महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको भवन उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । 

“देशको कुनै जायज नागरिक नागरिकताविहीन नरहून् र देशको प्रत्येक नागरिकमा भेदभावरहितरूपले स्वतन्त्रता, समानता र बन्धुत्वको अनुभूति गराउने कानुनी राज्य र सामाजिक न्यायको भौतिक समृद्धिसँगै साहित्य, कला, क्रिडा, ज्ञान विज्ञान तथा प्रविधि आदि सबै क्षेत्रमा विश्वका सबै समुन्नत राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुगौँ भन्ने चाहना प्रत्येक नेपालीको हो,” उनले भने, “नागरिकता लिनबाट वञ्चित नेपाली बाबु–आमाका सन्तानलाई सम्मानित नागरिक बनाउने नागरिकता विधेयकको प्रमाणीकरण गर्ने अवसर पाउनु मेरा लागि अविस्मरणीय रहने छ ।”

Ramchandra-Paudel-(2)-1695650358.jpg

Dabur Nepal
NIC Asia

राष्ट्रपति पौडेलले नेपालको राष्ट्रिय एकताको चुरो मधेसमा रहेको भन्नेमा आफू सधैँ दृढ रहेको बताए । उनले भने, “राष्ट्रिय एकता र रूपान्तरणमा मधेसको सबल भूमिका रहँदै आएको छ र सधैँ रहने कुरामा म विश्वस्त छु, नेपालको लोकतान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रणेता बीपी कोइरालाले भनेझैँ म नेपालको राष्ट्रियताको चुरो नै मधेसमा रहेको छ भन्नेमा सधैँ दृढ छु ।”

उनले समथर फाँट रहेको अन्नभण्डार मधेस प्रदेशको समग्र विकास, उन्नति र राजकीय सत्तामा समाहित हुने समान अवसरले मात्रै नेपालको समग्र समृद्धि र राष्ट्रिय एकता सुदृढ हुने आफ्नो सधैँको विश्वास रहेको स्पष्ट पारे ।

“व्यक्तिगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थ महान् हो भन्ने आत्मबोधअनुकूलको वैयक्तिक चेतनाको संस्कार विकास नै सम्पूर्ण रूपान्तरणको प्रस्थान विन्दु हो,” राष्ट्रपति पौडेलले भने । 

Ramchandra-Paudel-(4)-1695650356.jpg

राष्ट्रपति पौडेलले देशमा उपलब्ध स्रोत र साधनको उचित र उच्चतम प्रयोग गरी सबैले एकजुट भएर सामूहिक प्रयास गरे जतिसुकै चनौतीपूर्ण भए पनि सपना चाँडै विपनामा परिणत हुने बताए ।

“आज त्यो सफलतातर्फ उन्मुख हुँदा म खुसीले गद्गद् भएको छु । अब बाँकी हिस्साको सिँचाइँका लागि सुनकोशी–तावा–कमला डाइभर्सनको काम थालिहाल्नुपर्छ भन्ने मेरो धारणा छ । यहाँ सिँचाइँको सुप्रबन्ध गरेर कृषिको आधुनिकीकरणमार्फत कृषि क्रान्ति गर्ने हो भने मधेसले खाद्यान्न आपूर्तिमा सिंगो नेपाललाई एकैसाथ काँध हाल्न सक्छ भन्नेमा मलाई कुनै शंका छैन,” राष्ट्रपति पौडेलले भने । 

समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले प्रदेशलाई अधिकार नदिएको गुनासो गरेपछि राष्ट्रपति पौडेलले प्रदेशलाई अधिकार दिन नेताहरूले कन्जुस्याइ गरेको धारणा राखे । उनले दिल खोलेर जनतालाई अधिकार दिन तीन मुख्य दलका तीन नेतालाई आग्रह गरे । 

राष्ट्रपति पौडेलले भने, “हामीले संघीयता तल्ला तहलाई अधिकार दिन ल्याएको हो, तर भन्नैपर्छ अधिकार दिन कञ्जुस्याइँ भएकै हो, अब म तीन दलका प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर  देउवा र नेकपा एमालको अध्यक्ष केपी ओलीलाई बोलाएरै भन्छु, यो जनताको आवाज हो जनतलाई अधिकार दिल खोलेर दिनुपर्छ ।” 

उनले सबै जातजाति, वर्ग, समुदायको समानरूपले सम्मान हुन सकेमात्रै देशलाई एकताको सुत्रमा बाँध्न सकिने धारणा राखे । राष्ट्रपति पौडेलले भने, “उन्नतिको बाटोमा अघि बढेर सुशासन दिन सकेमात्रै राष्ट्रियता बलियो हुन्छ ।” 

अभाव र समस्यामा राष्ट्रियताको जगेर्ना हुन नसक्ने बताउँदै उनले त्यही भए समग्र देशको समृद्धिका लागि हिमाल, पहाड र तराई मधेसको सन्तुलित र समग्र विकासमा अबको ध्यान केन्द्रित गर्न ढिला गर्न नहुने धारणा व्यक्त गरे ।

“मधेस प्रदेशअन्तर्गत रहेको भोजपुरा क्षेत्रको सभ्यता, भाषा, साहित्य, संस्कृति र कलाको गौरवमय, सुदीर्घ परम्परा रहेको छ । इस्लामी तहजीब र असनमा हामीलाई गर्व छ । धनुषाको जानकी मन्दिर, महोत्तरीको जलेश्वरनाथ र मटिहानी मठ र रेजा मजार, सप्तरीको सखडा भगवती मन्दिर, सिरहाको सलहेस फूलबारी, रौतहटको वीरभूमि समनपुर, सर्लाहीको नारीमन ताल, बाराको गढीमाइ मन्दिर र सिम्रौनगढ, पर्साको अलौ र राष्ट्रिय निकुञ्ज आदि धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलहरू पर्यटकीय दृष्टिले महत्त्वपूर्ण हुन् । सबैको सहयोगले पर्यटन केन्द्रको रूपमा यी स्थलहरूको विकास हुनुपर्दछ ।”

नेपालको राजनीतिक इतिहासमा २००७ सालदेखि उठेका प्रत्येक लोकतान्त्रिक आन्दोलनहरूमा मधेस र खासगरी जनकपुरको अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनले दुर्गानन्द झा, कामेश्वर, कुश्वेश्वरजस्ता व्यक्तिहरूल आहुति दिएको स्मरण गरे ।

उनले लोकतान्त्रिक योद्धा, कीर्तिशेष सर्वश्री रामनारायण मिश्र, महेन्द्रनारायण निधि, सरोज कोइराला, बोधप्रसाद उपाध्याय, रामेश्वर बाबु, शेष इद्रिस, तेजबहादुर अमात्य, गजेन्द्रनारायण सिंह, रामराजप्रसाद सिंह, महेश्वरप्रसाद सिंह, शुर्यनाथ दास यादव, विष्णुबहादुर मानान्धरसहितलाई पनि सम्झिए । 

lokdohari-puraskar-1695650219.jpg

देशमा सबैले मिलेर संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र स्थापना गरेको बताउँदै उनले अब सबै एकताबद्ध भएर सामाजिक न्याय स्थापनाको जगमा उभिएर भौतिक समृद्धिसँगै राष्ट्रिय जीवनका सबै आयाम राजनीतिक, आर्थिक,  सामाजिक, सांस्कृतिक, शैक्षिक, भौगोलिक, प्राज्ञिक, साहित्य, कलालगायतमा आएका स्खलनको पहिचान गरी राष्ट्रको सम्पूर्ण रूपान्तरणमा सक्दो सकारात्मक योगदान गर्नुपर्ने बताए ।

"यही कारण मैले पटक–पटकका मधेस आन्दोलन  र विद्रोहमा मधेसमै आएर शान्ति वार्ता गर्नेदेखि लिएर यहाँ उठेका आवाजहरूलाई यही जनकभूमिमा आई सम्बोधन २२ बुँदे सहमति सम्पन्न गरेको हुँ र त्यसले संविधान निर्माणको आधारशिला खडा गरेको थियो," उनले भने ।

उनले लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्ज महेन्द्र नारायण निधिको नाममा स्थापित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए ।

“यति विशाल उपस्थितिमा मधेस प्रदेश र जनकपुरको मुटुको विशालता प्रतिविम्बित भएको छ । यहाँहरूले मेरालागि अभिव्यक्त गर्नुभएका अपरिमेय अनुरागका शब्दहरूले मलाई अति भावुक तुल्याइदिएका छन् । सत्कार्यको कलम र स्वाँसको मसीले मातृभूमिको उज्ज्वल इतिहास रचेको म हेर्न चाहन्छु । म माता जानकीको आशीर्वाद चाहन्छु,” उनले भने । 

उनले भव्य नागरिक अभिनन्दन जीवनभरि आफ्नो मानसपटलमा स्वर्ण अक्षरले लेखेझै अमिट र अटल रहने बताए ।

"राजर्षि विदेह जनक र साक्षात् आदिशक्ति भूमि जानकीको प्राकट्यभूमि, याज्ञवल्क्य, अष्टावक्र, गार्गी र मैत्रेयीको ज्ञानदीप्त धरित्री, विश्वकै प्रथम ग्रन्थ–ऋग्वेदको प्रथम मण्डलका मन्त्रद्रष्टा ऋषिको अवतरण–भूमि, न्याय, वैशेषिक, सांख्य, मीमांसाजस्ता गहन दर्शनको प्रतिपादन एवं अष्टावक्र महागीता तथा वृहदारण्यक उपनिषद्जस्ता महान् ग्रन्थ–अन्तर्निहित तत्वविमर्शकोपरा–चिन्तन–भूमि, सृष्टिको रहस्यबीज गर्भित यस देवस्थलको पावन भूमिमा पाइला टेक्न पाउँदा आफू गौरवान्वित भएको छु ।  म यहाँहरूको हृदयमा विराजित भगवत–तत्वलाई पटक–पटक प्रणाम गर्दछु," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu