-1695471543.jpg)
विराटनगर । सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको प्रख्यात टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’ प्राप्त गरेको छ । स्वस्तिकले ‘बजरंग’ ब्रान्डमा टीएमटी छड उत्पादन गर्ने गर्छ ।
टाटा स्टिल भारतकै सबैभन्दा ठूलो र पुरानो फलाम उद्योग हो । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाट आायत गर्दै आएको छ ।
भारतको कोलकातामा आयोजित एक कार्यक्रमबीच स्वस्तिकलाई टाटा आइरन एन्ड स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले अवार्ड प्रदान गरेका हुन् । स्वस्तिक रोलिङका निर्देशक रमेश राठीले टाटाको अवार्ड ग्रहण गरेका छन् ।
उद्योगका निर्देशक राठीले भने, “हाम्रो उद्योगबाट उत्पादन सुरु भएको एक वर्षभित्रै यो अवार्ड पाउनु हाम्रा लागि गौरवको विषय हो ।”
सुनसरीको दुहबी नगरपालिकामा स्थापित स्वस्तिकले १० महिनाबाट आफ्नो व्यावसायिक उत्पादन सुरु गरेको हो । यसको ‘बजरंग’ ब्रान्डमा टीएमटी छड बजारमा उपलब्ध रहेको राठीले बताए ।
स्वस्तिकले आइरन एंगल, च्यानल र आई बिमको पनि उत्पादन गर्छ । घर निर्माण गर्न, ट्रस हाल्न, विद्युत् प्रसारण लाइन, इन्टरनेट तथा रेडियोको टावर निर्माण गर्न बजरंगका उत्पादन प्रयोग हुँदै आएको कम्पनीले जनाएको छ ।