site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
...अनि सबैतिरका प्रेसर शान्त भए
Sarbottam CementSarbottam Cement

०७२ आश्विन ३ गते, आठ वर्ष पूरा हुँदै छ । त्यति बेला संविधान जारी गर्ने कुरा । सिटौलाजी (कृष्णप्रसाद सिटौला)ले अलिकति कुरा त निकाल्नुभयो, तर विवादमा जान चाहनु भएन । उहाँलाई नै ठूलो दबाब थियो । मस्यौदा समितिले मस्यौदाको प्रति टुंगिएपछि यति बेर सभामुखलाई बुझाउने, सभामुखले यहाँ यति बेर पार्लामेन्टमा पेस गर्ने, यस दिन पारित गर्ने सबै कुरा टुंगिएको अवस्थामा नबुझाऊ भनेर उहाँलाई दबाब आएको थियो । उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँले त्यति बेला ‘नबुझाउने असंसदीय, अलोकतान्त्रिक, मेरो अधिकार बाहिरको कुरा, मस्यौदा समितिको सभापति हुँ, सर्वेसर्वा होइन, सुवासजी (संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ)लाई बुझाउँछु, संविधान बनाउने काममा व्यवधान पुर्‍याउँदिनँ’ भनेर उहाँले अडान लिनुभयो । 

यसमा निकै धेरै साथीहरूको पनि मिहिनेत छ । त्यति बेला खासगरी नेकपा (एमाले), नेपाली कांग्रेसका नेताहरूको अडान । नेपाली कांग्रेसभित्रको कुरा म भन्दिनँ । खुद नेपाली नेपाली कांग्रेसका नेतामार्फत नै सिटौलाजीलाई दबाब आएको थियो, नबुझाऊ भनेर ।

सुवासजीलाई संविधान जारी नगर्नका लागि दबाब दिइएको थियो । तत्कालीन राष्ट्रपतिलाई संविधान जारी गर्न नआउनका लागि । केही अगाडि संविधान जारी गर्न आउदिनँ भनेर भन्नुभएको थियो । त्यस्तो अवस्थामा सुवास नेम्वाङजीले संविधान जारी गर्नुभयो ।

Prabhu Bank
Agni Group
NIC Asia

व्यवधान, अप्ठेराहरू थिए । संसद्ले जारी गर्ने नै अठोट गरिसकेपछि यो नहल्लिने अठोट भनेपछि अनि सबैतिरका प्रेसर शान्त भए । र, काम अगाडि बढ्यो । त्यति बेला राजनीतक दल, संविधानसभामा रहेका नेताहरू सबै धन्यवादका पात्र हुनुहुन्छ । संविधान जारी गर्न महत्त्वपूर्ण सकारात्मक प्रयास नेम्वाङजीको रहेको थियो । उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।

उहाँ कानुनको विद्यार्थी । यो पछिल्लो संविधान निर्माणमा मात्रै होइन, अन्तरिम संविधान जारी गर्दाका बखत पनि, ०४७ को संविधानलगायतमा भूमिकाहरू रह्यो । राजनीतिक दलहरूको भूमिका रहने गर्‍यो ।

Global Ime bank

एकप्रकार संविधान सबैजसो राजाबाट घोषणा मात्रै गरेको हो, राजाले लेखेको होइन । राजाले भनेका दरबारका मान्छेले लेखेको होइन । राजनीतिक दलहरूको प्रतिनिधित्व र समावेशितामा सहभागितमा लेखिएको थियो, ०४७ सालको संविधान ।

त्यो संविधानमा प्रमुख कमजोरी भनेको गणतन्त्रात्मक थिएन । राजतन्त्रात्मक थियो । केही न केही कमी त हरेक संविधानमा देखिन्छ । अहिलको संविधान कार्यान्वयनको क्रममा देखा परेका नमिल्दा व्यवहारमा परिवर्तन आवश्यक देखिएका त्यस्ता विषयहरू संशोधन पनि गर्नुपर्छ ।

कि त संविधानको जगको विरोधै मात्र गर्ने कि संविधानको समर्थन गरेपछि संशोधन पनि हुन सक्दैन भन्ठान्ने यी दुवै कुरा ठिक होइन । संविधान मान्नुपर्छ । बढो दुःखले, मिहिनेतले बलिदानको शृंखलापछि हामीले आफैँले निर्माण गरेको संविधानसभाबाट आफैँले छानेका जनप्रतिनिधिमार्फत बनाइएको संविधान हो । नेपाली जनताले बनाएको । कति राम्रो बनाइयो, कति नराम्रो बनाइयो । आफ्ना–आफ्ना बुद्धि मिसाएर बनाइयो, कति लेनदेन भए, कति सहमति भए । कति सम्झौता भए । त्यसका लागि पनि कति छोड्नुपर्‍यो । केही लिनपर्‍यो होला । ती कुरा भए । तर, जे भए पनि आफ्ना जनप्रतिनिधिमार्फत आफैँले लेखेको आफैँले जारी गरेको गणतन्त्रात्मक संविधान हो । गणतन्त्रात्मक मात्रै होइन, केही लोकतान्त्रिक पनि छ ।

संविधानको परिभाषादेखि लिएर सबै भाग, भागअन्तर्गतका धाराहरू सुविचारित ढंगले छलफल गरेर त्यहाँ राखेको हो । आज हामी केही संविधान लेखिसकेको संवैधानिक अनुभव हासिल गरेको पुस्तामा छौँ । सुवासजी बित्नुभयो । केही संविधान बनाएका, हटाएका, संशोधन गरेका अनुभव छन् । यही संविधान पनि हामीले दुईपटक संशोधन गरिसकेका छौँ । एकपटक विभिन्न असन्तुष्टहरूलाई सम्बोधन गरेर संविधानको सर्वस्वीकार्यता बनोस् बन्नका लागि ०७२ मंसिरमा पहिलोपटक संविधान संशोधन भयो ।

हाम्रो भूभाग ०५८ देखि गुमेको । सुगौली सन्धिपछि १४६ वर्ष हामीले भोगचलन गरेको तर पछि ०५८ वर्ष हाम्रो नियन्त्रणबाट बाहिर गएको जमिन । हाम्रो सहमतिमा होइन, हामीलाई जानकारी भएर हाम्रो सहमतिमा, हाम्रो परामर्शमा त्यो केही होइन । बलजफती हाम्रो नियन्त्रणबाट बाहिर लगिएको जमिन समावेश गरेर नक्सा जारी गर्‍यौँ । त्यो नक्सालाई हाम्रो संसद्ले सर्वसम्मतिले पारित गर्‍यो । त्यस बेला हामीले संविधानको अनुसूची, नयाँ नक्सा सामेल गर्नका लागि संविधान संशोधन गर्‍यौँ ।

एक–एकवटा मात्रै विषयमा हामीले संशोधन गर्‍यौँ, तत्काल चाहिएका विषयमा मात्रै गर्‍यौँ । अब संविधान संशोधन गर्दा हामीले अलिकति बढी व्यापक, तत्काल चाहिएको एउटा विषय मात्रै होइन, केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ । एउटा हिसाबले बेला भएको छ कि छैन भन्ने पनि छ । एउटा हिसाबले के लाग्छ भने अहिले पनि गम्भीरताभन्दा बढी भावना, सेन्टिमेन्ट । आफ्नै कुराहरूभन्दा प्रायोजित र आयातित कुराबाट प्रेसर गर्ने खालका प्रवृत्तिहरू, ती पनि देखिरहेको र अनेक प्रकारका बेठिक उद्देश्यहरू पनि देखिरहेको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्नेचाहिँ फेरि गम्भीर छ । त्यसकारण यसमा कुनै हतारो गरिहाल्नुपर्ने अवस्था आएको छैन ।

हामी संविधान दिनस पनि मनाइरहेका छौँ । जुन संविधान बनाउँदा संविधान बनाउने संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङ हुनुहुन्छ, यसअघिका संविधान दिवस हामी उहाँको उपस्थितिमा मनाइरहेका थियौँ, चाहे सरकारी होस्, चाहे गैरसरकारी । हामी सधैँ मनाइरहेका छौँ । उहाँको उपस्थिति हुने गर्थ्यो । यस वर्ष उहाँका योगदान, चिह्न, उहाँले दिनुभएको गोरेटो, दिशानिर्देश के छ भन्नेमा छलफल गर्छौँ ।

आज देश जहाँ पुगेको छ, यति बेला साँच्चै गम्भीर भएर देशको बारेमा सोच्नुपर्ने अवस्था आएको छ । सबै पार्टी, पक्ष मिलेर देशका समस्या समाधान गर्न एकजुट हुनुपर्ने अवस्था आएको छ । नत्र धेरै प्रकारका खतराबाट हामी जेलिँदै छौँ । त्यसमा प्रमुख राजनीतिक दलहरूको कर्तव्य हो । प्रमुख राजनीतिक दलको आह्वानमा धेरैले जीवन आहुति गरेका छन् । धेरै ठूलो क्षति व्यहोरेर यो ठाउँमा आइपुगेका छौँ । यी उपलब्धि आकाशबाट आएका होइनन्, जीवन, बलिदानसँग मूल्य तिरेर यहाँ ल्याएका छौँ । यसलाई गुम्न दिन सकिँदैन । गुम्न दिन हुँदैन । प्रमुख राजनीतिक दल जिम्मेवार हुनुपर्छ ।

सुवास नेम्वाङ र संविधानका सन्दर्भमा कुरा गर्दा जसले संविधान निर्माणको अगुवाइ गर्‍यो, संविधान निर्माण गर्‍यो, उहाँ त अब हुनु हुन्न, संविधान निर्माण गर्नेहरू अरू त छौँ नि ! उहाँको योगदानको सम्मान र प्रशंसा गर्दै ती उपलब्धिहरूको रक्षा गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ । सबैमा चेतना भया ! यी उद्देश्यलाई तलामाथि हुन नदिन एमाले प्रतिबद्ध छ ।

(नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार च्यासलमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा गरेको सम्बोधनको सम्पादित अंश ।)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय