
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले चिनी उद्योग बन्द गरेर उद्योगीले नै बजारमा चिनी आयात गरिरहेको बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उपस्थित सांसदहरूले
नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले चिनी उद्योग बन्द भएको विषयमा अध्ययन गर्नुपर्ने बताए । उनले चिनी उद्योग बन्द हुँदा पनि बजारमा प्रयाप्त चिनी भएकोतर्फ चासो राखे । “चिनी उद्योगलाई के समस्या पर्यो र बन्द छन् ? अनि उद्योग बन्द चिनी प्रयाप्त कसरी भयो ?,” बरालीले भने ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतले पनि 'उद्योग बन्द गरेर चिनी आयात गर्नुपर्ने किन ?' भनेर प्रश्न गरेकी थिइन् । यसमा कमिसनको खेल हुने सक्ने उनको आशंका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले उद्योग बन्द गरेर आयातमा मात्र रमाउन नहुने बताए । छिमेकी देशले आवश्यक चामल, दाल तथा चिनी दिने भनेको भए पनि सरकारले आवश्यक तथ्यांक दिन नसक्दा ढिलो भएको बताए ।
“चिनी ३०० मेट्रिकटन आवश्यक छ भन्ने तथ्यांक छ । चिनी उत्पादन कति गर्न सक्दैनौँ ?,” उनले भने, “भारतमा ७३ रुपैयाँ छ चिनीको मूल्य, भन्सार तथा भ्याट जोड्दा नेपाल आइपुग्दा १०५ रुपैयाँ पर्छ । हामीले दिगो समाधान खोज्नु पर्यो ।”
स्वार्थ समूहलाई प्रभावित पार्न अर्थ मन्त्रालयले मागअनुसार चिनी आपूर्ति गर्न नदिएको पनि उनको भनाइ थियो । “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिकटन चिनी चाहिन्छ भनेर माग गर्ने अनि २० हजार मेट्रिकटन मात्र किन ? स्वार्थ के छ ? को कस्को मिलेमतो छ ?,” पराजुलीले भने ।
त्यस्तै, समितिको बैठकमा आमन्त्रित राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पनि यस्तो उद्योगलाई कारबाही नगरी मन्त्रालयले मिलेमतोमा काम काम गरिरहेको आरोप लगाए । चिनीको मूल्य जथाभाबी बढेको भन्दै उनले मूल्यमा हस्तक्षेप गर्नुपर्ने बताए ।
चाडपर्वलाई लक्षित गरी चामल, चिनी र गहुँ सहुलियत मुल्यमा ल्याउनुपर्ने महर्जनको भनाइ छ । “हालै अर्थ मन्त्रालयले ५० प्रतिशत मात्र भन्सार घटाउनु बार्गेनिङ गर्ने ठाउँ राखेको हो । यसले केही हुनेवाला छैन,” उनले भने, “सरकारले बिचौलिया पोस्ने काम गर्यो ।”
वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीले भने चाडपर्वको बेला ५० लाख टन चिनी आवश्यक पर्ने भएकाले भारतलाई पत्र काटेको बताए । उनले आवश्यक धान चामल आयात गर्नका लागि काम भइरहेको पनि बताए ।
“५० हजार मेट्रिक टनका लागि भन्सार छुट मागेका थियौँ । तर, २० हजार मेट्रिक टन आयात गर्न अनुमति पाएका छौँ,” उनले भने ।
नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले अर्थ मन्त्रालयले लगाएको करले जनतालाई भार पर्छ भने छुट दिनुपर्ने बताइन् । अहिले चिनी उद्योगहरू बन्द रहेको भन्दै नियमित सञ्चालन हुनुपर्ने उनले बताइन् । त्यसको अनुगमन उद्योग मन्त्रालयले गर्नुपर्ने उनको भनाइ छ ।