site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई के सजाय हुन्छ ? यस्तो छ कानुनी व्यवस्था 

काठमाडौं । हेटौँडाको सन्चो अस्पतालमा दुई चिकित्सक कुटिएको घटनापछि यतिखेर देशभरका स्वास्थ्यकर्मी आन्दोलित छन् । 

घटनाको विरोधमा मकवानपुरमा  आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको छ । 

गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सन्चो अस्पतालमा डा. विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा सबै स्वास्थ्य सेवा बन्द गरिएको हो । 

साउन २५ गते डेंगी संक्रमित हेटौँडा–१२ का ४१ वर्षीय प्रधानको परीक्षणका क्रममा लापरबाही गरेको आरोपमा चिकित्सकहरूमाथि आक्रमण भएको हो । 

सन्चोबाट रिफर भएका उनको चितवनस्थित चितवन मेडिकल कलेजमा डेंगीबाट मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती, छोरी, छोरा र भतिज गरी चारजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

यसअघि पनि उपचारमा क्रममा लापरबाही गरेको आरोपमा पटक–पटक चिकित्सक, नर्स तथा स्वास्थ्यका कर्मचारीमाथि आक्रमण हुँदै आएको छ । 

स्वास्थ्यकर्मीमाथिको आक्रमण कुन ऐनले हेर्छ ?
स्वास्थ्यकर्मीको सुरक्षाका लागि नेपालमा ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९’ जारी गरिएको छ । 

ऐनमा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई पनि समेटिएको छ । ऐनको दफा ३ मा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट वा तालाबन्दी  गर्न वा उपचारमा बाधा पार्न नहुने उल्लेख गरिएको छ । 

सो दफाअनुसार कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर तल उल्लेखित कार्य गर्न गराउन नहुने उल्लेख छ । कसुर र सजायसम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसुर गरेको मानिनेछ’ भनिएको छ । 

तत्काल प्राप्त प्रमाणबाट कसुरदार देखिने भएमा वा कसुरदार हो भन्ने विश्वास गर्ने मनासिब आधार भएमा मुद्दा हेर्ने अधिकारीले अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्नेछ  र थप सजायको प्रक्रिया अघि बढाइनेछ ।  

ऐनमा यसरी छुट्याइएको छ, कसुर अनुसारको सजाय 
१. स्वास्थ्य संस्थामा आगजनी गरेमा : दुईदेखि पाँच वर्षसम्म कैद वा दुईदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने

२. स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा : तीन वर्षसम्म कैद वा तीन वर्ष जरिबाना वा दुवै सजाय हुनसक्ने 

३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गरेमा वा शारीरीक रूपमा चोट पुर्‍याएमा : तीन वर्षसम्म कैद वा तीन वर्ष जरिबाना वा दुवै सजाय हुनसक्ने 

माथि उल्लेखित तीनवटै कसुरमा अभियुक्तलाई पूर्पक्षका लागि थुनामा राखिने व्यवस्था ऐनमा गरिएको छ । त्यसैगरी अन्य तीनवटा कसुरमा एउटै सजाय लागु हुनेगरी ऐनले व्यवस्था गरेको छ । 

१. स्वास्थ्य संस्थामा तालाबन्दी वा घेराउ गरेमा 

२. स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्‍याएमा 

३. स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात, कुनै किसिमको धम्की, गालीगलौज अभद्र वा अपमानजनक व्यवहार गरेमा 

यी तीन कसुर गरेको हकमा एक वर्ष कैद वा एक लाख रुपैयाँसम्म जरिबाना वा यी दुवै सजाय हुनसक्ने व्यवस्था ऐनमा गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro