
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एनएसजेएफ पत्रकारिता अवार्डबाट मुकुन्द बोगटी र सुमन बम्जन युवा पत्रकारिताबाट रमेश सुवेदीलाई सम्मान गरेको छ ।
मञ्चको २८औँ स्थापना दिवसको अवसरमा बुधबार नक्सालस्थित होटेल क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गर्दै अग्रज खेल पत्रकार बोगटी र युवा खेल पत्रकार सुवेदीलाई सम्मानित गरिएको हो ।
मञ्चले आफ्नो स्थापना दिवसको अवसरमा २०७१ सालदेखि अग्रज र २०७६ सालदेखि युवा खेल पत्रकारलाई सम्मान गर्दै आएको छ ।
सोहीअनुरूप मञ्चले स्थापना दिवसको अवसरमा बुधबार मञ्चका संस्थापक कोषाध्यक्षसमेत रहेका बोगटीलाई नगद २५ हजार र युवा पत्रकार सुवेदीलाई एउटा ल्यापटप, पुष्पगुच्छा र दोसल्ला ओडाएर सम्मान गरेको हो ।
उनीहरूलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राई र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी लगायतले सम्मान गरेका थिए ।
अवार्डबाट सम्मानित बोगटीले अग्रजको योगदान स्मरण गर्दै मञ्चले गरेको सम्मानप्रति आभार प्रकट गरे । साथै उनले आजभन्दा २८ वर्ष अगाडि आफू १९ वर्षको उमेर हुँदा खेलकुद पत्रकार मञ्चको स्थापना गरिएको स्मरण गर्दै अहिले मञ्चको वृद्धि विकासप्रति पनि खुसी व्यक्त गरे ।
अहिलेसम्म एनएसजेएफ पत्रकारिता अवार्डबाट १० जना र सुमन बम्जन युवा पत्रकारिताबाट पाँचजना सम्मानित भइसकेका छन् ।
सो अवसरमा एन्फाका महासचिव किरण राईले खेलकुदप्रतिको लगावका कारण खेलकुद पत्रकारिता कलम चलाउँदै आएका खेलकुद पत्रकार पनि नेपाली खेलकुदकर्मी नै रहेको उल्लेख गर्दै नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका पनि महत्वपूर्ण हुने धारणा राखे ।
एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अनुज र अग्रजलाई मञ्चले गर्दै आएको सम्मान राम्रो संस्कारको विकास सुरु गरेको धारणा राखे । साथै उनले यो सम्मानले पुस्तान्तरण काम पनि गर्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले खेलाडी र प्रशिक्षकका लागि नै मञ्चले निकै लोकप्रिय अवार्ड आयोजना गर्दै आएको स्मरण गर्दै सम्मानले खेलकुद विकासमा पत्रकारलाई प्रोत्साहित गर्ने बताए ।
मञ्चले आफ्नो स्थापना दिवसका अवसरमा मंगलबार आन्तरिक फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो । उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई राखेप सदस्यसचिव घिसिङले ट्रफी प्रदान गरेका थिए ।