site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेम्वाङबारे माधव नेपाल– 'महान हस्ती' गुमायौँ, सबैलाई मिलाउनुहुन्थ्यो

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुवास नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रूपमा चित्रण गरेका छन् । 

नेम्वाङले संविधान निर्माणमा मात्रै नभएर सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्यको माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपालको भनाइ छ । 

एमाले उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङलाई श्रद्धाञ्जली दिन च्यासल पुगेका नेपालले सञ्चारकर्मीमाझ नेम्वाङ नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको 'महान हस्ती' भएको बताए । 

अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति बेहोर्नुपरेको बताए । उनले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने क्षमताको धनी नेताको रूपमा स्मरण गरे ।

नेम्वाङबारे के भने नेपालले ?

सुवास नेम्वाङ नेपालको परिवर्तनको आन्दोलनको एउटा महान हस्ती हुनुहुन्थ्यो । उहाँले नेपालको राजनीतिक परिवर्तनको प्रत्येक मोडहरूमा बडो कुशलताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । मुलुकमा गणतन्त्रको स्थापना भइसकेपछि संविधान निर्माण गर्नुपर्ने अभिभारा हाम्रो काँधमा आइसकेपछि त्यसलाई उहाँले बडो कुशलताका साथ निर्वाह गर्नुभयो । उहाँमा सबैलाई मिलाएर लिएर जान सक्ने मिलनसारिताको छुट्टै व्यक्तित्व थियो ।

उहाँ शालीन व्यक्तिको धनी हुनुहुन्थ्यो । उहाँ समस्याहरू बल्झाउन होइन, समाधान गर्न सधैँभरि लागिरहनुहुन्थ्यो । एकातर्फ उहाँको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका छ भने अर्कोतर्फ कम्युनिस्ट आन्दोलनमा पनि उहाँको भूमिका अत्यन्तै महत्त्वपूर्ण रहेको छ । सुरुदेखि नै उहाँ प्रगतिशील आन्दोलनमा, वामपन्थी आन्दोलनमा, कम्युनिस्ट आन्दोलनमा लाग्नुभएको थियो । र, त्यही ध्येय र उद्देश्यका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गर्नुभयो ।

उहाँ यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसले सबै अप्ठेराहरू, जटिलताहरूलाई कुशलताका साथ पार लगाउने कुरामा अगुवाइ गर्नुभयो । उहाँको योगदानलाई इतिहासले सधैँभरि स्मरण गरिरहने छ । नयाँ पुस्ताले उहाँबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्ने छ । उहाँ सादा जीवनको पनि पक्षपाती, स्वच्छ छविको पनि पक्षपाति, मुलुकमा सुशासन स्थापना होस भन्ने चाहनाको पनि पक्षपाती । त्यसो हुनाले संविधान निर्माण गर्ने मात्रै होइन, त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ ? कार्यान्वयन गर्ने कुरामा पनि उहाँको अत्यन्त धेरै हुटहुटी र जोड गर्ने गरेको पाइन्छ ।

अहिले देशमा जस्तो किसिमको राजनीतिक वातावरण बदलिनुपर्दछ । हाम्रा सहमति र समझदारीको वातारण निर्माण गर्नुपर्दछ भन्ने कुराको उहाँ हिमायती पनि हुनुहुन्थ्यो । त्यसो हुनाले उहाँको निधन सिंगो लोकतान्त्रिक आन्दोलनको निम्ति, कम्युनिस्ट आन्दोलनको निम्ति परिवर्तनको आन्दोलनको निम्ति ठूलो क्षति हो । म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । र, परिवारजनप्रति गहिरो समवेदना । उहाँका सपनाहरूलाई पूरा गर्नका लागि मैले आफ्नो तर्फबाट, हाम्रो पार्टीले आफ्नो तर्फबाट अधिकतम प्रयत्ने गर्ने छु ।

नेम्वाङको मंगलबार बिहान ७१ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro