site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
६१ किलो सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थल भन्सारमा बुझाएको ‘एयर वे बिल’ नै नक्कली 

काठमाडौं । राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब ६१ किलो सुन भित्र्याइँदा तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयमा बुझाएको ‘एयर वे बिल’ (पूर्व विवरण) नक्कली रहेको पाइएको छ । तस्करले बुझाएको ‘एयर वे बिल’ नक्कली रहेको हङकङ भन्सारले पुष्टि गरेको हो ।

हङकङले उक्त जानकारी भन्सार विभागलाई दिएको छ । “तस्करहरूले जुन एयर वे बिल भन्सारमा बुझाएका थिए, बिल र त्यहाँ भएको विवरण नक्कली भएको हङकङ भन्सारले जानकारी दिएको छ,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बाह्रखरीसँग भने ।

गएको साउन २ गते अवैध रूपमा ल्याइएको करिब ६१ किलो सुन भन्सार जाँचपास भइसकेको अवस्थामा राजस्वको टोलीले बरामद गरेको थियो । मोटरसाइकलको ब्रेक सुमा राखी तस्करले सुन भित्र्याएका थिए । पछि सुन गाल्दा करिब ६१ किलो निस्किएको थियो ।

उक्त सुनका विषयमा हङकङलाई पत्र लेखी अनुसन्धानमा सघाउन भन्सार विभागले आग्रह गरेको छ । हङकङ भन्सारले पत्रको जवाफ पठाउँदै अनुसन्धानमा सघाउने प्रतिबद्धता जनाएको छ ।

विभागले ‘लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको ?’ भन्दै हङकङ भन्सारलाई प्रश्न सोधेको थियो । हङकङबाट उक्त सुन नेपाल ल्याइँदा ‘मेनिफेस्टो’मा ‘लिड विथआउट ब्याट्री’ लेखिएको थियो । अरू कागजातमा ‘ब्रेक सु’ लेखिएको थियो ।

अनुसन्धानमा सघाउने वचन दिएको हङकङले विभागसँग ‘एयर वे बिल’ मागेको थियो । हवाईजहाजबाट सामान ल्याउँदा सम्पूर्ण विवरण खुल्ने कागजात नै एयर वे बिल हो ।

एयर वे बिलका आधारमा हङकङ भन्सारले थप अनुसन्धान गर्ने र त्यसबाट पत्ता लागेको विषय विभागसँग सेयर गर्ने प्रतिबद्धता जनाएको थियो । त्यसपछि विभागले एयर वे बिल हङकङ पठाएको थियो ।

हङकङ भन्सारले अनुसन्धानपछि ती सम्पूर्ण कागजात नक्कली भएको जानकारी विभागमा पठाएको महानिर्देशक पौडेलले बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro