site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समाजवादी मोर्चाले दिइरहेको सन्देश, खर्चको व्यवस्थापन कसरी भएको छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । समाजवादी मोर्चा प्रदेशमा 'सन्देश सभा'को आयोजना गर्न व्यस्त छ । आइतबारमात्रै वाग्मती प्रदेशको हेटौँडामा सन्देश सभा भयो । मोर्चाले यसअघि कर्णाली, गण्डकीमा सन्देश सभा गरिसकेको छ । 

सत्तारूढ नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर बनेको समाजवादी मोर्चाको गठन र यसका गतिविधिबारे विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेको छ । 

मोर्चासँग ५४ प्रतिनिधिसभा सदस्य छन् । सरकारमा टिकिरहन र सत्तारूढ प्रमुख दल कांग्रेसलाई 'साइज'मा राख्न समाजवादी मोर्चा गठन भएको आरोप लागिरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ सरकारमा टिक्ने भन्ने कुरा विप्लव नेतृत्वको नेकपा हुनुले खारेज गर्ने दाबी गर्छन् ।

“सरकार जोगाउनमात्रै भए त विप्लहरूजीहरू किन आउनुहुन्थ्यो त ? त्यो त स्वतः खण्डित भइहाल्यो नि,” उनले बाह्रखरीसँग भने, “उहाँहरू त सरकारमा पनि हुनुहुन्न, संसद्‌मा पनि हुनुहुन्न । यो कुरा गलत हो । भ्रम फैलाउने कुचेष्टामात्रै हो ।”

Global Ime bank

समाजवादी मोर्चाका नेताहरूले कांग्रेसलाई मोर्चा गठनबाट कुनै आपत्ति नरहेको र सल्लाहमा नै आएको दाबी गरिरहेका छन् । त्यस्तै, सरकारमा टिक्न आफूहरूको मोर्चाबन्दी नरहेको जिकिर गरिरहेका छन् । 

तर, मोर्चा गठन त्यही उद्देश्यका लागि भएको भन्ने कुरामा नेताहरूको अभिव्यक्तिले नै बल पुगेको देखिन्छ । 

माओवादीका अध्यक्षसमेत रहेका प्रधानामन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' स्वयंले वर्षा सकिएपछि मोर्चाले लाखौँ जनता सडकमा ल्याउने उद्घोष गरिसकेका छन् । सुर्खेतमा आयोजित सभामा जनता सडकमा उर्लने चेतावनी दिएका प्रचण्डले आइतबार हेटौँडामा पनि त्यही अभिव्यक्ति दोहोर्‍याए । 

उनले राष्ट्रियता, जनजीविकाका विषयमा जनतालाई सडकमा उतारेर ‘राजतन्त्रका दलालको साता जाने गरी प्रदर्शन गरिने’ बताए । त्यसो त आफ्नो सरकारलाई अप्ठेरो परेपछि मात्रै प्रचण्डले आन्दोलनका कुरा गर्ने गरेको आरोप लाग्ने गरेको छ । 

मोर्चाको एक घटक नेपाल कम्युनिस्ट पार्टी भने सरकारमा छैन । मोर्चामा एमसीसी कार्यान्वयनमा खटपट परेको थियो । एमसीसी कार्यान्वयनमा प्रवेश गर्ने दिन धनगढी गर्ने भनिएको मोर्चाको सभा नै स्थगित भएको थियो । पछि विप्लव नेतृत्वको दलले सडकमा र्‍याली पनि निकाल्यो । तथापि, मोर्चामा कायम छ ।

'सन्देश सभा'को सन्देश के हो ? 

जसपाका वरिष्ठ नेता श्रेष्ठ मौलिक समाजवादको बाटो तय गर्न मोर्चा अघि बढेको सन्देश दिन खोजेको बताउँछन् । “हामी समाजवादको नेपाली बाटो तय गर्दै छौँ । यसमा अग्रगामी संघीयता, लोकतन्त्र, समावेशिता, सामाजिक न्याय, समृद्धि, सुशासनको पक्षधर सम्पूर्ण राजनीतिक शक्तिहरूलाई सहयोग गर्न आह्वान गर्दै सन्देश दिन खोजिरहेका हौँ,” उनले बाह्रखरीसँग भने । 

उनी सन्देशसभामार्फत् समाजवादको बाटो प्रस्ट पारिएको सुनाउँछन् । “वैचारिक राजनीतिकरूपमा समाजवादको बाटो मौलिक हुने छ । संघीय शासन भएको समाजवादको बाटो हुने छ भनेर प्रस्ट पारेका छौंँ,” उनी भछन्, “सामाजिक न्याय, समतामूलक समृद्धि न्यायपूर्ण र विभेदरहित हुने छ भन्ने कुरालाई हामीले भनेका छौँ ।”

प्रदेश र स्थानीय तहमा समेत सहकार्य अघि बढ्न आह्वान गरिरहेको उनले बताए । मोर्चाको संयोजन समिति जिल्ला तहमा पनि समन्वय कमिटी बन्ने उनको भनाइ छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे चार पार्टीहरूबीच समाजवादी क्रान्तिमा जाने ‘कुरा मिलेको’ हुँदा अघि बढ्न लागेको सन्देश दिन खोजिएको बताउँछन् । 

उनी देशमा सुशासन, भ्रष्टाचारी, थिचोमिचोको कसरी अन्त्य गर्ने भन्ने अभियानमा रहेको सुनाउँछन् । उनी मोर्चा र गठबन्धनमार्फत् ती कामहरू गरिरहेको पनि बताउँछन् ।  

“गणतन्त्र ल्यायौँ । गणतन्त्रले सबै कुरा बनिहाल्दो रहेन छ । शोषण दमन, थिचोमिचो बदलियो । तर, गणतन्त्रमा पनि शोषण, दमन थिचोमिचो भई नै हाल्दो रहे छ । त्यस्तो थिचोमिचोलाई कसरी अन्त्य गर्ने ?,” पाण्डेले सुनाए, “देशमा सुशासन कसरी कायम गर्ने ? भ्रष्टाचार कसरी अन्त्य गर्ने ? विकास निर्माणमा बढीभन्दा बढी जनतालाई कसरी सहभागी गराउने ? आर्थिक समृद्धि कसरी ल्याउने भन्ने कुरामा मन मिलेका पार्टीका बीचको अभियान हो ।”

कार्यक्रमले मात्रै पुगिन्छ समाजवादमा ? 

समाजवादी मोर्चाले कार्यक्रम गरेर मात्रै ‘समाजवाद’मा पुगिन्छ त भन्ने प्रश्नको जवाफ नेताहरूसँग खासै भेटिँदैन । मोर्चाका एक नेता संस्थागत हिसाबले आएको भनी प्रचार गर्न मात्रै खोजिएको बताउँछन् ।

“यसरी कार्यक्रम नै गरेर समाजवादमा त पुगिँदैन । नेपालीमा उखान छ नि, बोल्नेको पिठो बिक्छ भन्ने । संस्थागत हिसाबले आएका छौँ भनेर प्रचार गर्न हो,” ती नेताले बाह्रखरीसँग भने । 

कसरी हुँदै छ खर्चको व्यस्थापन ? 

समाजवादी मोर्चालाई ‘थर्ड पोल’को रूपमा विकास गर्न खोजिएको नेताहरू बताउँछन् । समाजवादीका उपाध्यक्ष पाण्डे सरकार पाँच वर्षसम्म टिकाउने कुरालाई गलत भन्न नमिल्ने बताउँछन् । 

“मोर्चा बनाएर सरकारलाई पाँच वर्षसम्म टिकाउने कुरा के गलत भयो त ? वर्ष–वर्ष दिनमा चुनाव गर्नुभन्दा त पाँच वर्ष नै सरकार टिकाउने कुरा त राम्रो हो नि,” उनी भन्छन् । 

त्यस्तै, मोर्चाको शैली चुनावी सभाको जस्तो पनि देखिन्छ । सभाका लागि भइरहेको खर्च सरकारबाटै त भएको छैन ? भन्ने प्रश्न पनि उठिरहेको छ । सत्तारूढ दलहरू आबद्ध कार्यक्रम भएकाले यस्तो प्रश्न उठ्नु स्वाभाविक पनि हो । 

समाजवादीका उपाध्यक्ष पाण्डे मोर्चामा रहेका दललाई कार्यक्रमको व्यवस्थापन गर्न प्रदेशहरूलाई छुट्याइएको बताउँछन् । सोही आधारमा मोर्चामा रहेको दलले खर्च गरेको उनले बताए ।  

“व्यवस्थापन जसको भागमा पर्छ कार्यक्रमको व्यवस्थापन, खर्च उसैले गर्छ,” पाण्डे भन्छन्, “हामीले आआफैँ गरेका छौँ ।”

उनका अनुसार एकीकृत समाजवादीको भागमा वाग्मती र सूदुरपश्चिम प्रदेशको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मेवारी बाँडफाँट भएको छ । 

त्यस्तै, कोसी र मधेस प्रदेशको सभाको व्यवस्थापनको जिम्मेवारी जसपाले पाएको छ । लुम्बिनीको सभाको व्यवस्थापन विप्लव नेतृत्वको पार्टी र गण्डकी, कर्णाली प्रदेशको कार्यक्रमको खर्च माओवादीले तिनुपर्ने छ । 

मोर्चाप्रति कांग्रेसमा दुई मत !

समाजावादी मोर्चालाई लिएर कांग्रेसमा एकमत छैन । कांग्रेसका केही नेताहरू मोर्चा सरकारलाई ‘साइज’मा ल्याउन मोर्चा बनाएको टिप्पणी गरिरहेका छन् भने केही नेताले मोर्चालाई सदर गरिरहेका छन् । 

कांग्रेसका नेता शेखर कोइराला कांग्रेसलाई ठेगान लगाउने मोर्चाको उद्देश्य भएको बताउँछन् ।

कोइरालाले शु्क्रबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा भने, “यो मोर्चा बनाउनुको उद्देश्य कांग्रेसलाई ठेगान लगाउनु हो भन्ने प्रस्ट छ । यसबारे साउनमा बसेको केन्द्रीय समिति बैठकमा मैले कुरा राखेको थिएँ । तर, हामीलाई नै जानकारी दिएर प्रचण्डजीले समाजवादी केन्द्र बनाएको हो भन्नेजस्ता जवाफ पाएँ ।”

उनले केन्द्र कांग्रेसलाई तह लगाउन बनाएको हो भन्ने पुष्टि पनि आफूले गर्न सक्ने बताए । “यो केन्द्र कांग्रेसलाई ठेगान लगाउन बनाएको हो भन्ने म पुष्टि गरिदिन सक्छु,” कोइरालाले भने, “तर, पार्टीका जिम्मेवार ठाउँमा बसेका नेताहरूले मेरा कुरा हलुकासँग लिनुभयो, मजाकजस्तो गरी जवाफ दिनुभयो ।”

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा कांग्रेसलाई साइजमा राख्न नेकपा (एमाले) नै मिल्नुपर्ने देख्छन् ।

“कांग्रेसलाई साइजमा राख्ने शक्ति भनेको कांग्रेसभन्दा ठूलो हुने अवस्थामा हो । कांग्रेसभन्दा ठूलो अरू राजनीतिक दल हुनुपर्छ,” उनले बाह्रखरीसँग भने, “एमाले मोर्चा बनाएर जान्छ जस्तो लाग्दैन । लागिहाल्यो भने पनि उहाँहरूले बहुमतको सरकार बनाएर जानुहोला ।”

उनले पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरूले बैठकहरूमा पटक–पटक विचार मिल्नेहरू एक हुँदा आफूहरूलाई अप्ठेरो नहुने बताएको सुनाउँछन् ।

“तपाईंहरू विचार मिल्नेहरू एक ठाउँमा बस्दा हामीलाई कुनै आपत्ति छैन भनेर हाम्रा पार्टीका शीर्ष नेताले पटकपटकको बैठकमा भन्नुभएको छ,” विश्वकर्मा भन्छन्, “उहाँहरूले कांग्रेसलाई कुनै अप्ठेरो त हुँदैन नि भनेर सोधेका बेला पार्टी सभापतिले किन अप्ठेरो हुनु ? तपाईंहरू बलियो हुँदा हामी पनि बलियो हुन्छौँ । सहज ढंगले सरकार सञ्चालन गर्दा हामीलाई पनि सहज हुन्छ । हामी सशंकित छैनौँ ।”

उनले विचार मिल्ने दलहरू एक हुँदा दलियो प्रणाली मजबुत हुने र पार्टीलाई आपत्तिसमेत नरहेको बताए । 

“दलहरूको विघटन हामीलाई राम्रो लाग्दैन । दलहरूको मोर्चाबन्दीमा, एकतामा साथ दिन्छौँ,” उनी भन्छन्, “हाम्रो आपत्ति छैन । विचार मिल्नेहरू एक भएर बसे हाम्रो दलीय व्यवस्थालाई झन् मजबुत बनाउँछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement