site stats
बाह्रखरी :: Baahrakhari
देश
४५ जनाको नतिजा रद्द, ९ जनाले तीन वर्षसम्म परीक्षा दिन नपाउने 

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा प्रश्नपत्र आउट गरेको घटनामा ५४ जना परीक्षार्थी कारबाहीमा परेका छन् । 

प्रहरी अनुसन्धानबाट कसुरदार ठहरिएका ती विद्यार्थीलाई काउन्सिलको भदौ १७ गतेको बैठकले कारबाहीको निर्णय गरेको हो । 

कारबाहीको दायरामा परेका ५७ जनामध्ये ९ जनालाई तीन वर्षसम्म लाइसेन्स परीक्षामा सामेल हुन नपाउनेगरी कारबाही गरिएको हो । उनीहरूविरुद्ध तीन पुस्ते खुलाई थप अभियोगपत्र दायर गर्ने तयारी भएको काउन्सिलकी रजिष्ट्रार शुक्ला खनालले बताइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यसअघि सातजनालाई तीन वर्षे कारबाही गरिसकिएको छ, थप दुईजना पनि यही प्रकृतिका कसुरदार ठहरिएका छन्, उनीहरूको तीन पुस्ते खुलेको छैन त्यो खुलाएर थप अभियोग दायर गर्ने काउन्सिलको तयारी छ,” खनालले बाह्रखरीसित भनिन् । 

तीन वर्षे कारबाहीमा पर्नेमा परीक्षार्थीहरू प्रियंका गुरुङ र सुस्मिता थापा थपिएका छन् । यसअघि काउन्सिलले सात जनालाई सोही प्रकृतिको कारबाही गरेको थियो । 

त्यस्तै, नतिजा स्थगित गरिएकामध्ये तीनजनाको कसुर प्रमाणित नभएपछि नतिजा प्रकाशित गरिने भएको छ । नतिजा फुकुवा हुनेमा बन्दना केसी, अस्मिता राना र विशेस्था रानाभाट छन् । 

उनीहरूले ग्रुपमा आएको प्रश्नपत्र हेरेपनि परीक्षा अवधिको समयमा नखोलेको देखिएपछि नतिजा फुकुवा गरिएको रजिष्ट्रार खनालले बताइन् । 

“प्रहरी अुनसन्धानका क्रममा उनीहरूले परीक्षा समयमा प्रश्नपत्र सिन गरेको देखिएन त्यसैले उनीहरूको स्थगित नतिजा प्रकाशन गर्ने निर्णय गरिएको हो,” रजिष्ट्रार खनालले भनिन् । 

नतिजा स्थगित गरिएका ४५ जनाले आगामी लाइसेन्स परीक्षामा सामेत हुन पाउने उनले बताइन् । 

असार २३ गतेको लाइसेन्स परीक्षा चलिरहेका बेला अल ब्राइट इन्स्टिच्युटको म्यासेन्जर ग्रुपमा प्रश्नपत्र पठाइएको र सो म्यासेज केही समयमै ४०० भन्दा बढी व्यक्तिले ‘सिन’ गरेको पाइएको थियो ।

सोही दिन बालाजुस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट, ललितपुरस्थित लिटिल एन्जल्स स्कुल र वाग्मती कलेज काठमाडौं केन्द्रबाट प्रश्नपत्र बाहिरिएको थियो । 

सो दिनको परीक्षा नतिजा काउन्सिलले एक महिना स्थगित गरी सार्वजनिक गरेको थियो । परीक्षामा ६ हजार १० परीक्षार्थी सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्