site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुस्ताङी राजा बनेर थुब्तेनले 'बाघ' मारे, ...अनि सकियो बाघजात्रा
Sarbottam CementSarbottam Cement

पोखरा । पहिला पोखरा बजारको चारैतिर घनघोर जंगल थियो । जंगली बाघ, भालुजस्ता हिंस्रक जनावरले मानव बस्तीमा पसेर बेलाबखत जनधनको ठूलो क्षति गर्थे । कृषि पेसामा आबद्ध मानिसहरू बाघसँग भिड्न सक्दैनथे । सहयोगका लागि राजासँग गुहार माग्नु पर्थ्यो । साह्रै अप्ठेरो भएपछि जनताले राजासँग जंगली जनावरले दुःख दिएको बिन्ती सुनाउँथे । राजा पनि जनतालाई सहयोग गर्न आउँथे । तीन दिनसम्म मनाइने बाघजात्राको परिदृश्य नै यही हो । राजाले आफ्ना मन्त्रीगण र सेना लिएर बाघको सिकार गर्न आएको कथनलाई नै चित्रण गर्ने गरिन्छ, बाघजात्रामा ।

शोधार्थी वीणा श्रेष्ठले पोखरा बजार क्षेत्रका नेवार समुदायले मनाउने चाडपर्व र जात्राको अध्ययन विषयमा तयार गरेको शोधपत्रमा पनि पोखराको बाघजात्राको उल्लेख गरिएको छ ।

शोधपत्रमा बाघजात्रा कसरी सुरु भयो भन्ने उल्लेख छ, “...नेवार समुदाय बस्ने ठाउँमा बाघले दिनहुँजसो चराइरहेका बोका, बाख्रा, कुखुरा, गाई, भैँसी, आदिको विनाश गर्दै गए । टोलटोलका बालबालिकाहरू पनि आक्रमण गरेर मानवलाई आतंकित गर्दै गए । नेवार समुदायहरू चिन्तित हुन थाले । त्यसपछि बाघलाई मार्नुपर्छ भनेर सिकारी योग्य व्यक्ति (ढिकेग्वारा) लालई जिम्मा दिए । सिकारी ढिकेग्वाराले मार्न नसकेपछि झन नेवार समुदायहरू चिन्तित भए ।”

Prabhu Bank
Agni Group
NIC Asia

King-1694014023.jpg

सिकारीले मार्न नसकेपछि नै उक्त समुदाय राजासामु बिन्ती बिसाएको उल्लेख छ । राजाले जनताहरूको दु:ख देखेर उनीहरूको बिन्तीलाई स्वीकार गरेर रानी, भारदार, मन्त्री सैनिकहरूसँग सल्लाह गरी हातहतियार, धनुकाँड, भाला, खुकुरीसहित सक्दो सहयोग गरे र बाघलाई घेरा हालेर मारे ।

Global Ime bank

बाघलाई साँझपख नै किन मारियो त ?

पुस्तकमा भनिएको छ, “बाघलाई कृष्ण अष्टमीको साँझा घेरा हालेर सैनिकहरूको सहयोगबाट घेरामा ल्याएर मारिएको थियो । किनभने, बाघ दुर्गाभवानीको बाहन भएकाले ज्योतिषको सल्लाहअनुसार साँझपख मारिएको थियो ।”

तर, पोखराका नेवार समुदायले बाघजात्रालाई निरन्तरता दिन सकेनन् । २०५७ सालमा अन्तिमपटक देखाइएको बाघजात्रा पुनः २०८० सालमा आएर सुरु भएको छ ।

संयोग कस्तो भने २०५७ सालमा देखाइएको बाघजात्राका संयोजक थिए, जवाहरलाल श्रेष्ठ । उनै श्रेष्ठले अहिलको बाघजात्राको पनि संयोजन गरेका छन् ।

King-12-1694014020.jpg

२३ वर्षसम्म पोखरामा बाघजात्राले निरन्तरता नपाउनुमो आर्थिक समस्या पनि रहेको छ । पोखराका जात्रा पर्व पुस्तकमा भनिएको छ, “यो बाघजात्रालाई व्यवस्थापन गर्न, निकाल्न, संरक्षण गर्न कुनै समिति गठन भएको देखिँदैन । पोखरामा पछिल्लोपटक २०५७ सालमा बाघ जात्रा प्रदर्शन भएको थियो । यो जात्रा कुनै संस्कृतिप्रेमीको पहलमा पहिला पनि टोलबासीको पहलमा निकालिने गरिन्थ्यो । तर, जात्रामा कुनै आम्दानी नहुने खाली खर्च मात्र हुने हुँदा आयोजकले चन्दा, सहयोग बटुल्नुपर्ने हुन्छ ।”

त्यतिबेला बाघजात्रा निकाल्दा पोखरामा विभिन्न टोलले सहयोग गर्थे । त्यतिबेला बाघजात्रा निकाल्दा सबैभन्दा समस्या घोडाको पर्थ्यो । जात्राकै लागि भनेर तत्कालीन पर्यटनविद् झलक थापाले आफ्नो घोडा नै दिएको पुस्तकमा उल्लेख छ ।

बाघजात्रामा राजारानी, मन्त्री लाई सिंगारपटार गरी सजाइन्छ । राजा घोडामा चढेको दृश्य हुन्छ भने रानीलाई डोलीमा राखेर बोकाइन्छ । राजाका वरिपरि सुरक्षा गार्ड हुन्छन् । हँसाउने ख्यालीहरू हुन्छन् । मुख्य पात्रको रूपमा बाघलाई नै लिने गरिन्छ । बाघको छाला बोकेको अग्लो ठूलो जिउडाल भएको व्यक्ति बाघ बन्ने गर्छ । बाघ बनेका व्यक्ति सँगसँगै सिकारी पनि हिँड्छन् । त्यसपछि हात हतियारले सुसज्जित सैनिकहरू लाइन लाग्छन । मन्त्री, प्रधानमन्त्री घोडामा सवार गराइन्छ । 

King-1-1694014020.jpg

विभिन्न हास्य कलाकारहरू आ–आफ्नै भेष प्रदर्शन गर्दछन् । राँगोमाथि चढेका यमराज देखिन्छ । दुईजना घोडचरी नाच्दै हिँड्छन् ।

यो जात्रालाई खुला चौरमा समापन गर्ने गरिन्छ । जब सिकारीहरूले चारैतिरबाट बाघलाई घेरा हाल्छन् । बाघ बनेको व्यक्तिले बाघको छालालाई फ्याँक्छ । त्यही मौकामा राजाले बाघको छालामाथि बन्दुक चलाउँछन् अनि जनताले त्यही बाघको छालालाई 'हामीलाई दुःख दिने तैँ हैनस्' भनेर आक्रोश पोख्ने गर्नछन् । बाघ मरेको उपलक्ष्यमा जनता खुसी हुन्छन् र हर्ष बढाइ गर्ने गरिन्छ र जात्रा विधिवत् समाप्त भएको घोषणा गरिन्छ ।

२३ वर्षपछि पोखरामा निकालिएको बाघजात्रा भने मुस्ताङी राजा झिग्मे सिंगे पलवर विष्ट बनेर थुब्तेन छिरिङले मारे

सांस्कृतिक राजाको रूपमा उपल्लो मुस्ताङीले अझै पनि राजा मान्दै आएका छन् । त्यही बुझेरै बाघजात्रा आयोजक समितिले पूर्वप्रदेश सांसद इन्द्रधारा विष्टसँग कुराकानी ग‍र्‍यो । समितिका सचिव सुनिल उलकका अनुसार उन (विष्ट)ले पोखरामा नै मुस्ताङका विद्यार्थी अध्ययन गर्दै आइरहेको हिमालयन बुद्धिस्ट एकेडेमीसँग कुराकानी गरे । यो एकेडेमीले मुस्ताङी राजारानीको ठाउँमा त्यहाँ अध्ययनरत कक्षा ९ का दुईजना विद्यार्थी पठायो ।

घोडामा राजाको रूपमा सवार भएका थुब्तेन छिरिङ र डोलीमा सवार यानछेन गुरुङ त्यही एकेडेमीका विद्यार्थी हुन् । पोखरा अर्चलबोट हुँदै साँघुमु, रानीपौवा, शितवादेवी, मियापाटन हुँदै र्‍यालीसहित पुगेको बाघजात्राको समापन पोखरा रंगशालामा गरिएको थियो ।

मुस्ताङी राजालाई बाघजात्राको राजाको रुपमा देखाइए तापनि मुख्य पात्र बाघ भने पोखराको नालामुखकै ४७ वर्षीय सुरेश खड्की बनेका थिए । 

King-3-1694014018.jpg

उनी गुरिल्लामाथि बरोबर आक्रमण प्रयास गर्छन् । शरीरभरि लहराको माला र लहराकै टोपी लगाएका १२ जना गुरिल्लाको मुखाकृति कोलोमोसोले चिनिँदैन । उनीहरू बाघको आक्रमणबाट बच्दै सकेसम्म बाघलाई सानो घेरामा पार्न खोज्छन् । नेवारी संस्कृतिमा प्रचलित अनेकखालका बाजाको धुनले बाघ लट्ठ पार्ने प्रयास गरिन्छ ।

पोखरा रंगशालामा समापन कार्यक्रमको अन्त्यमा एउटा दृश्य देखाइन्छ । सिकारीहरूले चारैतिरबाट बाघलाई घेरा हाल्छन् । बाघ बनेको व्यक्तिले बाघको छालालाई फ्याँक्छ । त्यही मौकामा मुस्ताङी राजाले बाघको छालामाथि बन्दुक चलाए । आफूलाई दुख दिने बाघ मर्‍यो भनेर जनताले हर्षोंल्लास मनाए ।

२३ वर्षपछि आयोजित बाघजात्रा सकियो । मुस्ताङी राजाले बाघ मारे ।

समापन कार्यक्रममा संस्कृतिविद् जगमान गुरुङले हिंस्र्क बाघलाई मारेपछि यो जात्रा सुरु भएको बताए । उनले जात्राले हिंसा र भयरहित समाज निर्माण गर्ने सन्देश दिदैँ अन्त्य भएको सुनाए । 

“यो बाघजात्राको रूपमा मात्रै होइन यसले अहिंसाको सन्देश दिइरहेको छ । एकताले काम गर्‍यो भने जस्तोसुकै हिंसाको पनि अन्त्य हुन सक्छ भन्ने सन्देश पनि दिएको छ । बाघ हिंस्रक हुन्छ, त्यसलाई मार्न सहज हुँदैन । त्यही कुरा आज यहाँ देखाइँदै छ,” उनले भने, “देश समृद्धिमा नेवारी समुदायको भूमिका महत्त्वपूर्ण छ । २३ वर्षपछि देखाएको यो जात्राले हिंसामुक्त, भयरहित शान्ति समाज बनाउने सन्देश दियो ।”

आयोजक समितिका सचिव सुनिल उलकले बाघजात्रा इतिहाससँग जोडिएको विषय रहेको सुनाए । बाघजात्रा सामान्य नरहेको उनको भनाइ छ । पोखरामा अहिले दुईजनामात्रै बाजा बजाउन जान्ने व्यक्ति रहेको र तिनै व्यक्तिबाट युवाहरूलाई बाजा सिकाइ बाजाको लोप हुनबाट जोगिएको उनले बताए । 

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बाघजात्राको संरक्षण र प्रबर्द्धनमा जोड दिनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  २१:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय