काठमाडौं । अनलाइनखबरमा कार्यरत पत्रकार नमिता दाहालमाथि समाचार संकलनका क्रममा त्रिभुवन विमानस्थलमा भएको दुर्व्यवहार भएको छ ।
एसिया कप खेलेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज दिउँसो त्रिभुवन विमानस्थलमा स्वागतका लागि आयोजना गरिएको कार्यक्रमको समाचार संकलनका क्रममा पत्रकार दाहालमाथि दुर्व्यवहार भएको हो ।
त्यहाँ उपस्थित केही व्यक्तिले 'महिला भएर पनि यस्तो ठाउँमा किन आएको' भन्दै दुर्व्यवहारर गरेको पत्रकार दाहालले बताइन् ।
यसैबीच नेपाल पत्रकार महासंघले दाहालमाथि भएको दुर्व्यवहारको विरोध गरेको छ । महासंघले घटनाको छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
"स्वतन्त्रापूर्वक पेसागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि यस किसिमको हर्कत हुनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रताविरोधी काम हो," महासंघका महासचिव रोशन पुरीले भनेका छन् ।