
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल निर्दोष रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले शुक्रबार पोखरामा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै माधव नेपाललाई सीआईबीले निर्दोष सावित गरेको बताए ।
“माधवजीको बारेमा पनि धेरै प्रश्नहरू उठे, के हो ? कसो हो ? भनिराखे,” प्रचण्डले भने, “पहिलोचोटि अहिले उहाँ निर्दोष हो भन्ने सावित भयो ।”
निर्दोष सावित भइसकेपछि अब प्रश्न उठाउने ठाउँ नै नरहेको उनले बताए । नेपाल निर्दोष सावित भएपछि आफ्नो पनि टेन्सन हटेको प्रचण्डले बताए ।
“औपचारिक ढंगले सावित भयो, अब प्रश्न उठाउने ठाउँ रहेन । किनभने सीआईबीले अन्ततः के हो के हो भनेर बयान त लियो । बयान लिएर निर्दोष सावित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखितरूपमा दिएपछि सधैँको टेन्सन सकियो । माधवजीलाई मात्र टेन्सन भए त हुन्थ्यो, त्यो टेन्सन मलाई पनि । प्रधानमन्त्री हुँदा पनि मलाई टेन्सन थियो, किनभने हामी एउटै मोर्चामा थियौँ । तर, अब टेन्सन रहेन,” प्रधानमन्त्रीले भने ।
उनले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने र दोषीहरूलाई कारबाही हुने पनि बताए । भ्रष्टाचारविरुद्धको अभियान थालनी गर्दा सरकारलाई दबाब पनि रहेको उनको भनाइ छ ।
“विभिन्न प्रश्न उठाइएको छ, प्रचण्डले खुट्टा कमाउँछ होला, अन्तिममा भ्रष्टचारीहरूलाई त्यत्तिकै रफादफा गर्छ होला । आफ्ना मान्छेलाई चाहिँ बचाउँछ, अर्कालाई मात्रै पार्छ भन्ने भ्रमहरू धेरै छर्न कोसिस भएको तपाईंले सुन्नुभएको होला,” उनले थपे, “मैले के भनेको छु भने यो अभियान सानो मनले, विचारले, उद्देश्यले महाअभियान सुरु गरिएको होइन ।”
सनले प्रहरीदेखि सेक्युरिटी फोर्स, अनुसन्धान विभाग सबैलाई निष्पक्ष, निस्वार्थरूपमा काम गर्न निर्देशन दिएको बताए ।
सुन काण्डमा माओवादीका नेताहरूको नाम पनि जोडिएको र सीआईबीको प्रतिवेदनमा पनि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा बाबुछोराको नाम उल्लेख थियो । नाम उल्लेख गरिसकेपछि पनि सीआईबीले पक्राउ नगरेर, बयान नलिएर त्यत्तिकै बस्दा जनतामा भ्रम पर्न गएको उनले बताए ।
“प्रतिवेदनमा नाम उल्लेख गरिदिने, त्यसपछि जनतालाई भ्रममा पार्ने, अनि सरकारलाई अप्ठ्यारोमा पार्ने आफू गिरफ्तार पनि नगर्ने बयान लिन पनि नबोलाउने । के गर्न खोजेको हो भन्ने सन्दर्भमा मैले भनेको छु, दोषी छ भने जोसुकै किन नहोस्, माओवादी, कांग्रेस, एमाले, समाजवादी कोही नछुटून्,” उनले भने ।