
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई अपराधीजस्तो व्यवहार गर्न नहुने बताएका छन् । बुधबार काठमाडौंमा बाह्रखरी मिडियाले आयोजना गरेको 'निजी क्षेत्रको आवाज' विषयक बृहत् छलफल कार्यक्रममा लामिछानेले व्यावसायिक वातावरण भए मात्र देश समृद्ध हुने बताए ।
"व्यापार व्यवसाय गरेर पैसा कमाउनु अपराध हैन । कसैले अपराधीको जस्तो व्यवहार गर्नुहुँदैन," उनले भने, "अर्बौं लगानी गररेर रोजगारी सिर्जना गर्नेदेखि राज्यलाई कर तिर्नेसम्मको काम व्यवसायीले गरेका छन् । उहाँहरूका चुनौती धेरै छन् ।"
उनले सरकारले व्यवसायीलाई व्यावसायिक वातावरण बनाउनुपर्ने तर्क गरे । व्यवसायीलाई अपमान गर्न नहुने उनको भनाइ छ । उनले वैदेशिक लगानी भित्र्याउन नीति नियममा परिवर्तन गर्नुपर्ने पनि लामिछानेले बताए ।
व्यावसायिक वातावरण बनाउन आफू नेतृत्वको दल र सांसद प्रतिबद्ध रहेको पनि बताए । समितिमा पनि आफूहरूले आवाज उठाउने उनको भनाइ छ ।