काठमाडौं । एसिया कप–२०२३ को उद्घाटन खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज एकदिवसीय वरीयताकै शीर्ष स्थानको पाकिस्तानविरुद्ध चुनौती प्रस्तुत गर्दै छ ।
एसिया कपमा ‘डेब्यू’ गर्न लागेको नेपाली टिमले सन् १९९२ को विश्वकप विजेतासमेत रहेको पाकिस्तानविरुद्ध पनि पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो ।
एकदिवसीय वरीयताको १५औँ स्थानमा रहेको नेपालले आफ्नो क्रिकेट इतिहासमै पहिलोपटक शीर्ष स्थानमा रहेको टिमविरुद्ध खेल्दै छ ।
आजको खेल जिते नेपाली क्रिकेटले नयाँ इतिहास रच्ने छ । पाकिस्तानको मुल्तानस्थित मुल्तान क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल र पाकिस्तानबीचको खेलअघि बाह्रखरीले दुवै टिमका समान तीन खेलाडीलाई ‘प्लेयर्स टू वाच’मा राखेको छ ।
नेपाल
कुशल भुर्तेल
नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले एकदिवसीय विश्वकपमा टेस्ट राष्ट्र जिम्बाब्वेविरुद्ध ९९ रन बनाएर सबैको ध्यान खिचेका थिए । नेपाली टिमले पाकिस्तानविरुद्ध पनि कुशलबाट यही लयको आशा राखेको छ ।
सहजै बललाई बाउन्ड्रीको रोपसम्म पुर्याउन सक्ने क्षमता बोकेका कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट ४३ इनिङ्समा ९८६ रन प्रहार गरेका छन् । जसमा एक शतक र ६ अर्धशतक समावेश छन् । पाकिस्तानविरुद्ध कुशलको ओपनिङ ब्याटिङले नेपालको लयलाई दिशा दिने निश्चित छ ।
सन्दीप लामिछाने
पाकिस्तानी भूमिको अनुभव भएका एकमात्र नेपाली क्रिकेटर हुन्, सन्दीप लामिछाने । लेगब्रेक गुगलीलाई बलिङ शैली बनाएका सन्दीप अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सबैभन्दा धेरै विकेट लिने बलरसमेत हुन् ।
पाकिस्तानविरुद्ध ५०औँ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका लागि मैदान उत्रिँदा नेपाली टिमबाट सन्दीपको स्पेल टर्निङ प्वाइन्ट बन्न सक्छ । सन्दीपले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १११ विकेट लिइसकेका छन् ।
बलिङमा गुगलीका कारण ब्याटरलाई भ्रममा राख्ने क्षमता भएका सन्दीप ब्याटिङमा पनि लामो बाउन्ड्रीको सक्षमता राख्छन् । पाकिस्तान सुपर लिग (पीएसएल)मा बाबर आजम र मोहम्मद रिजवानविरुद्ध बलिङ गरिसकेका सन्दीप पहिलो खेलमा समर्थकको नजरमा रहने निश्चित छ ।
गुल्सन झा
आईसीसी मेन्स क्रिकेट विश्वकप छनोटमा केही उत्कृष्ट संकेत दिएका युवा अलराउन्डर गुल्सनलाई एसिया कपका नजरअन्दाज गर्नु विपक्षीको गम्भीर भुल बन्न सक्छ ।
आक्रमकरूपमा प्रस्तुत हुनु नै गुल्सनको खेल्ने शैली हो । उनले विश्वकप छनोटमा आयरल्यान्डविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेर आफ्नो शैलीलाई प्रमणीतसमेत गरिसककेका छन् ।
विपक्षी इनिङ्सको मिडिल ओभरहरूमा स्कोरिङ रेट घटाउन पनि गुल्सन नेपालका लागि महत्त्वपूर्ण खेलाडी हुने छन् । गुल्सन पाकिस्तानविरुद्धमात्र नभई एसिया कपमै चम्कन सक्ने ठूलो प्रतिभा भएका खेलाडी हुन् ।
पाकिस्तान
बाबर आजम
पाकिस्तानी कप्तान बाबर आजम एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानमा छन् । बाबर क्रिकेटका तीन वटै संरचनाको ब्याटिङ वरीयतामा शीर्ष पाँच भित्र रहेको विश्वकै एकमात्र ब्याटरसमेत हुन् ।
एकदिवसीय करियरमा बाबरले ५८.४४ का औसतमा ब्याटिङ गरिरहेका छन् । बाबरले एकदिवसीय क्रिकेटमा १०३ खेल खेल्दा पाकिस्तानका लागि पाँच हजार २०२ रन प्रहार गरेका छन् ।
जसमा १८ शतक र २८ अर्धशतक समावेश छन् । कप्तानका रूपमा बाबरले नै नेपालविरुद्ध पाकिस्तानी टिमको नेतृत्व गर्नेछन् । र, जितसहित १५ वर्षपछि पाकिस्तानमा आयोजित प्रतियोगितालाई स्मरणीय बनाउन चाहन्छन् ।
इफ्तिखर अहमेद
पाकिस्तानी टिमलाई कठिन अवस्थामा मध्यक्रम सम्हाल्ने प्रमुख ब्याटरमा पर्छन्, इफ्खिर । १४ एकदिवसीय खेलमा उनले ३६.६२ को औसतमा २९३ रन प्रहार गरेर पाकिस्तानी टिममा आफ्नो महत्व सावित गरिसकेका छन् ।
९५.४३ को स्ट्राइक रेटका साथ अहमेद पाकिस्तानी टिमलाई रनको गति बढाउन आवश्यक अवस्थामा आक्रामक रूपमा प्रस्तुत हुने सक्षमता पनि राख्छन् ।
स्ट्राइक रोटेट गर्न, सहजै बाउन्ड्री प्रहार गर्ने क्षमताका कारण उनको उपस्थितिले पाकिस्तानी टिमको ब्याटिङलाई अझ बलियो बनाउँछ । एसिया कपको पहिलो खेलमा पाकिस्तानी टिम अहमेदबाट स्वभाविक लयको खोजीमा हुनेछ ।
नसिम साह
पछिल्लो एक वर्षयता नसिम साह पाकिस्तानको मुख्य बलरको रूपमा उदाएका छन् । २० वर्षीय युवा बलरले पाकिस्तानका लागि १० एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा २५ विकेट लिएर आफ्नो लय र क्षमतालाई प्रमाणित गरिसकेका छन् ।
नसिम मुख्यतः विपक्षी टिमको साझेदारी तोड्न र टिमलाई आवश्यक अवस्थामा विकेट दिलाउनमा पोख्त छन् । नेपालविरुद्धको उद्घाटनमा खेलमा पाकिस्तानी टिमबाट नसिम ‘गेम चेन्जर’ बन्न सक्छन् । घातक बलिङका लागि परिचित नसिम ब्याटिङमा पनि लामो बाउन्ड्री प्रहार गर्नसक्ने क्षमता राख्छन् ।