site stats
बाह्रखरी :: Baahrakhari
कला
‘ह्यासट्याग माया’को केही दृश्य समेटेर सारुकको गीत ‘माया’ सार्वजनिक 

काठमाडौं । दिवगंत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले आज काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै उक्त गीत सार्वजनिक गरेका हुन् । 

निर्देशक गुरुङले सारुकको चलचित्र नै सार्वजनिक गर्ने उद्देश्य भए पनि सम्भव नभएकाले म्युजिक भिडियोको रूपमा उनले गरेको अन्तिम काम दर्शकमाझ ल्याएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“काम गरिरहँदा त्यस्तो अकल्पनीय घटना घट्यो । त्यसैले चलचित्र पूरा गर्न सकेनौँ । त्यसैले सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ,” निर्देशक गुरुङले भने, “हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । ऊ नरहे पनि उसको काम हामी माँझ रहिरहने छ ।” 

गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारको अभिनय छ । निर्देशक गुरुङका अनुसार बर्दियामा खिचिएका दृश्य म्युजिक भिडियोमा समेटिएको हो । 

कार्यक्रममा सारुककी आमा रुकमणि ताम्राकार सहभागी थिइन् । उनले छोराकै मृत्यु वियोगका कारण श्रीमान् सानु ताम्राकार अस्पताल भर्ना हुनु परेकाले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिएकी थिइन् । उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरिन् । 

अभिनेता ताम्राकारले गत असार २१ गते रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्