मनाङ । हिमाली जिल्ला मनाङ आउने एक मात्र सडक अवरुद्ध भएको छ । लमजुङको बेँसीसहर नगरपालिका–६, खरखरे, मर्स्याङ्दी गाउँपालिका–४ घोप्टेभीर, रामबजार र च्याम्चेमा पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध भएको छ ।
धेरै स्थानमा पहिरो खसेकाले मनाङको मेरुदण्डका रूपमा रहेको बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए ।
उनका अनुसार सडक निर्माण गर्दै गर्दा माथिबाट पहिरो खस्ने समस्याले बाटो खुलाउन मुस्किल भएको छ । सबइन्जिनियर अधिकारीले भने, “एक ठाउँमा सडक सरसफाइ गरिन्छ, अर्को स्थानमा पहिरो खसेर ट्रयाक नै बगाउने गरेको र वर्षाको समयमा भौगोलिक धरातल कमजोर रहेकाले सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको छ ।”
धरातल कमजोर भएको अवस्थामा साँगुरो बाटोमा २०० मिटरमाथिबाट पहिरो खस्दा सडक खुलाउन नपाउँदै अवरुद्ध हुने गरेको उनको भनाइ छ ।
सबइन्जिनियर अधिकारीले भने, “मनाङ आउने एउटै मात्र सडक छ, यसमा पनि मुख्य सडकसँगै जोडिएर खोलिएका शाखा सडकका कारण समस्या हुने गरेको छ ।”
मुख्य सडकसँग समन्वय नगरी खोलिएका शाखा सडकबाट आउने लेदोसहितको पानीले सडकमा समस्या हुँदै आएको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन आवतजावत र सामान आपूर्तिमा समस्या भएको छ । यहाँको सडक पूर्ण रूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, पथप्रर्दशक र कर्मचारी बीचबाटोमै अलपत्र परेका छन् ।
छिनछिनमा सडक अवरुद्ध हुँदा मनाङका किसानले सास्ती भोग्नाका साथै स्याउ, आलु बिक्रीका लागि बजारसम्म पुर्याउन पनि समस्या भएको स्थानीय किसान सोलबहादुर गुरुङले बताए ।
उनले भने, “किसानलाई सबैतिरबाट सास्ती भोग्नुपर्छ, सडकका कारण बारीमा फलेका स्याउ बिक्री गर्न बजारसम्म पुर्याउन सास्ती भएको छ । अर्डर आएको सामान समयमा बजारसम्म पुर्याउनै सकिँदैन र आम्दानीभन्दा पनि सामान पुर्याउनमै खर्च बढी लाग्ने गरेको छ ।”
यहाँ उत्पादित स्याउ र आलु बिक्रीका लागि लमजुङ, पोखरा, काठमाडौं, चितवनलगायत देशका ठूला सहरबाट माग हुने गरे पनि उत्पादित वस्तु पुर्याउनुभन्दा बढी सामग्री ढुवानीमा खर्चनुपर्ने अवस्था किसानले भोग्दै आएका छन् । रासस