site stats
बाह्रखरी :: Baahrakhari
खेल
रग्बीमा नेपाल समूह ‘ए’मा

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको पुरुष रग्बी सेभेन्समा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालसँगै यस समूहमा हङकङ चाइना र फिलिपिन्स छन् ।

हाङझाव एसियाडमा नेपालले पुरुष रग्बीमा सहभागिता जनाउँदै छ । पुरुष रग्बीमा जम्मा १२ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘बी’मा दक्षिण कोरिया, मलेसिया र चाइनिज ताइपेई, समूह ‘सी’मा जापान, सिंगापुर र थाइल्यान्ड तथा समूह ‘डी’मा यूएई, चीन र अफ्गानिस्तान छन् ।

रग्बीका खेलहरू सेप्टेम्बर २४ तारिखदेखि सुरु हुने छ । विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले त्यसै दिन आफ्नो समूह चरणको दुवै खेल खेल्ने छ । नेपालले पहिलो खेल फिलिपिन्स तथा दोश्रो खेल हङकङ चाइनाविरुद्ध खेल्ने छ ।

हाङझाव एसियाड सेप्टेम्बर २३ तारिखदेखि सुरु हुँदै छ । एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो । नेपालको सहभागिता पुरुषमा मात्र रहेको छ । १२ सदस्यीय खेलाडी टोलीलाई श्रीलंकाका सन विजेसिंघेले प्रशिक्षण दिइरहेका छन् ।

नेपाली टोली

विराट श्रेष्ठ (कप्तान), विवेश बासु, विक्रम पुरी, विक्रम भारती, झुकेन्द्र राई, नवीन महर्जन, निरोज कार्की, पुजन फेवाली, सविन महत, श्रीराम श्रेष्ठ, सुजन कुमाल र यदु अधिकारी ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्