site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
नेपाली सिनेमाको भविष्य : झन् अँध्यारो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्रकर्मीले नेपाली सिनेमाको भविष्य थप अन्योल रहेको बताएका छन् । चलचित्रको गुणस्तर समयसापेक्षित रूपमा अपेक्षित वृद्धि नहुनु र वर्ल्ड सिनेमा तथा भिजुल कन्टेन्टमा सहज पहुँच स्थापित हुँदै जानुले यसको भविष्य अन्योलमा रहेको उनीहरूको तर्क छ ।

निर्माता रामकृष्ण पोखरेल अहिले भर्खर प्लेग्रुप तथा स्कुल जान थालेका बालबालिकाको स्कुलिङले भोलिको सिनेमा बजार निर्धारण गर्ने बताउँछन् । भर्खर बोल्न र स्कुल जान थालेका बालबालिकाका लागि नेपाली भिजुअल सामग्री नभएको उनको भनाइ छ ।

“अहिले भर्खर बोल्न थालेको र स्कुल जान थालेको बच्चाका लागि इन्टरनेटमा नेपाली सामग्री केही छैन । दुई/चारवटा राइम्सबाहेक बच्चाले हेर्ने सामग्री छैन,” उनी भन्छन्, “अधिकांश समय इन्टरनेटमा बिताउने बच्चाका लागि त्यहाँ नेपाली सामग्री केही पनि छैन भन्दा पनि फरक नपर्ने अवस्था छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

केही राइम्स जस्तै, ‘चीँ मुसी चीँ’, ‘म्याउम्याउ बिरालो’, ‘ताराबाजी लैलै’बाहेक अहिले इन्टरनेटमा बालबालिकालाई लक्षित गरेर बनाइएका खासै सामग्री पाइँदैन । जबकि, यही समयमा हिन्दी र अंग्रेजीमा यस्ता कैयौँ सामग्री छन्, जसले बालबालिकाको ध्यान आफूतिर सहजै खिचिरहेका छन् ।

इन्टरनेटमा नेपाली सामग्री नभएपछि बालबालिका हिन्दी वा अंग्रेजीमा केन्द्रित हुने गरेको उनी बताउँछन् । यसले आउँदो पुस्ता केमा केन्द्रित हुँदै छ भन्ने स्पष्ट संकेत देखिएको छ ।

Global Ime bank

“हामी अहिले नै नेपाली सिनेमामा दर्शक छैनन् भनिरहेका छौँ । तर, आजको यो अवस्थाले भोलिको दिन झन् कस्तो होला भनेर संकेत गरिरहेको छ,” रामकृष्ण भन्छन्, “बच्चैदेखि हिन्दी र अंग्रेजी कन्टेन्ट हेरेर हुर्किएको बच्चा वयस्क हुँदा नेपाली सिनेमा हेर्छ भनेर कसरी अपेक्षा गर्न सकिन्छ ?” अहिले हुर्कंदै गरेका बालबालिका सिनेमाको दर्शक हुँदासम्म उनीहरूका रोजाइमा नेपाली चलचित्र नहुने उनको धारणा छ ।

अभिनेत्री ऋचा शर्मा अहिलेका बालबालिकालाई लक्षित गरेर इन्टरनेटमा सामग्री उपलब्ध गराउन ढिलो भइसकेको बताउँछिन् । तुलनात्मक रूपमा इन्टरनेटमा बालबालिकाका लागि नेपाली सामग्री नरहेको र त्यसको असर भोलिका दिनमा देखिने चिन्ता उनी व्यक्त गर्छिन् ।

“देशको भाषा, संस्कृति र परिवेशबारे बच्चैदेखि सचेत बनाउनुपर्छ । तर, यसका लागि हाम्रोमा आजसम्म कसैको ध्यान गएको देखिँदैन,” उनी भन्छिन्, “कुन समूहको लागि के र कस्तो सामग्री दिने हो, त्यसबारे स्पष्ट भएर हामीले कन्टेन्ट बनाउनुपर्छ ।”

यसो गर्न सकिए सचेतना र जानकारी सँगसँगै हुने र त्यसको असर दीर्घकालीन रूपमा पर्ने उनी बताउँछिन् । सचेत गराउँदै जानकारी दिने र त्यसमै बालबालिकालाई इंगेज गराउन जरुरी भइसकेको विषयलाई अब पनि नजरअन्दाज गरे अबेर हुने ऋचाको भनाइ छ ।

उनी भन्छिन्, “अहिले इन्टरनेटमा हेर्ने हो भने हाम्रो केही राइम्सबाहेक केही छैन । नानी एन्ड बाबु भन्ने च्यानलमा एकाध राइम्स छन्, यसबाहेक त्यति धेरै साम्रगी भएजस्तो मलाई लाग्दैन । तर, त्यही प्लेटफर्मममा हिन्दी, अंग्रेजीसहित विश्वका सयौँ भाषाका कैयौँ कन्टेन्ट छन् । अहिलेका बच्चा त्यसमै छन् ।”

नेपाली लोककथा, नेपाल र नेपालीको इतिहास, यहाँको परिवेश, संस्कार र संस्कृतिजस्ता विषयलाई बालबालिकालक्षित गरी उत्पादन गरेर इन्टरनेटमा राख्न सकिने उनी बताउँछिन् । तर, त्यसतर्फ धेरैको ध्यान नगएको ऋचाको बुझाइ छ ।

बालबालिकालक्षित सामग्री उत्पादनका लागि स्वयं फिल्ममेकर र सरकारी निकायको ध्यान खिचिनुपर्ने उनको धारणा छ । यो अभ्यास बलिउड र हलिउडजस्ता सिनेमा उद्योगमा रहेको ऋचा सुनाउँछिन् ।

“हलिउड तथा बलिउडमै हामी त्यहाँका फिल्ममेकरले सचेतनाका लागि थुप्रै सामग्री निर्माणमा काम गरेको देख्छौँ । कुन समूहका लागि के आवश्यक छ, त्यसमा केन्द्रित भएर कन्टेन्ट जेनेरेट गरेको देखिन्छ । तर, हाम्रोमा यो अभ्यास भएको छैन,” ऋचा अगाडि थप्छिन्, “हाम्रोमा अहिले फिल्म मेकिङमा आएको पुस्ता जसले यो काम गर्न सक्छ । र, पावरफुल मेकर जसका सिनेमा हेर्न दर्शक आउनुहुन्छ, उहाँहरूले यो काम चाहेको खण्डमा सहजै सक्नुहुन्छ ।”

दयाहाङ राई, दीपकराज गिरीजस्ता कलाकार तथा मेकर यसतर्फ अग्रसर हुनुपर्नेमा उनी जोड दिन्छिन् । “अहिले दयाहाङ राईका सिनेमा हेर्न धेरै दर्शक जानुहुन्छ । दीपकराज गिरीले बनाएको सिनेमा भनेपछि हलमा दर्शक उर्लिनुहुन्छ । उहाँहरूले बालबालिकालक्षित गरेर कन्टेन्ट बनाउनु भयो भने त्यो पक्कै पनि प्रभावकारी हुन्छ ।”

यो दायित्व सरकारको भए पनि निजी क्षेत्रले लिड गर्न सक्ने ऋचाको धारणा छ । हरेक देशमा यस्ता सामग्री निर्माणमा सरकारभन्दा निजी क्षेत्रले अग्रसरता देखाउने गरेको उनी बताउँछिन् ।

नेपाली लोककथाभित्र जीवन र जगत् बुझाउने थुप्रै विषय हुने गरेको उनको अनुभव छ । आफ्नो सानो छोरालाई त्यस्ता लोककथा, बालगीत र त्यसभित्रका प्रसंग बताउने गरेको ऋचा सुनाउँछिन् । आफ्नो समयमा मुना पत्रिकाबाहेक कुनै बालसामग्री नरहेको उनी स्मरण गर्छिन् ।

केही समयअघि रिलिज गरिएको सिनेमा ‘ऐना झ्यालको पुतली’ले बालमनोविज्ञानका विषयमा धेरै कुरा भनेको उनी बताउँछिन् । यस्ता सिनेमालाई स्कुलस्कुलमा लगेर देखाउनुपर्ने उनको मत छ । “तर, यो सिनेमा कति स्कुलले आफ्ना विद्यार्थीलाई देखाए ?,” उनको प्रश्न छ ।

कलाकार तथा निर्माता दीपकराज गिरी अहिले बालबालिकालाई जसरी ग्रुमिङ गरिन्छ, पछि त्यस्तै हुने बताउँछन् । बाल्यकालमा जता झुकाव भयो, वयस्कमा सोही दिशा लिनेतर्फ अहिले नै सचेत हुनुपर्नेमा उनको जोड छ ।

“अहिले भर्खर हुुर्किंदै गरेको जेनेरेसनले अहिले इन्टरनेटमा जुन भाषामा कन्टेन्ट हे¥यो, भोलि पनि त्यही भाषाको सिनेमा हेर्ने डर पनि छ,” दीपक भन्छन्, “त्यसैले अहिलेबाट नै हाम्रा बच्चाहरूलाई कसरी ग्रुम गर्ने भन्ने हो । अहिले जसरी ग्रुम हुन्छ, भोलि उसको बानी–व्यवहार त्यस्तै हुने हो ।”

अहिलेका टेलिभिजन कार्यक्रम र युट्युबका कन्टेन्टले बालबालिकालाई इंगेज गर्न सक्नुपर्ने उनी बताउँछन् । बालबालिकाले कस्तो कन्टेन्ट चाहन्छन् भन्ने बुझेर सामग्री तयार गर्नुपर्ने उनको धारणा छ ।

“हिजो हामी टेलिभिजनमा ‘तीतो सत्य’ कार्यक्रम लिएर आउँथ्यौँ । त्यहाँ हामीलाई हेर्ने दर्शक नै आजको हाम्रो सिनेमाको दर्शक हो । यो अंकलले हँसाउँछ, त्यसैले सिनेमा हेर्न जाऊँ भनेर आउने हो,” दीपक भन्छन्, “अहिलेको जेनेरेसनको भावना, आकांक्षा र चाहना के हो, त्यसलाई बुझेर कन्टेन्ट बनाउनु अहिलेको आवश्यकता हो ।”

तर, अझै अधिकांश टेलिभिजन र युट्युब कार्यक्रम ‘तीतो सत्य’जस्तै हुने गरेको उनको टिप्पणी छ । अहिलेको हास्यव्यंग्य वर्तमान पुस्ताले चाहे र खोजेजस्तो हुनुपर्नेमा उनको जोड छ ।

“तर, त्यस्तो भएजस्तो लाग्दैन । एकाध कार्यक्रमलाई छोडेर हेर्ने हो भने हास्यव्यंग्यको क्षेत्रमा अहिले पनि ९० प्रतिशतभन्दा धेरै टेलिभिजन कार्यक्रम र युट्युबका कन्टेन्ट तीतो सत्यजस्तै छन्,” उनले भने, “सधैँ एउटै व्यक्ति वा समूहले लिड गर्दैन, हरेकको निश्चित समय हुन्छ । हामीले मात्रै सधैँ लिड गर्ने होइन र त्यो सम्भव पनि छैन । अहिले टेलिभिजन र सिनेमामा आएको नयाँ पुस्ताले अहिलेको र आउँदो जेनेरेसनलाई लक्षित गर्दै इंगेज गर्न सक्नुपर्छ ।”

अन्यथा, हलिउड र बलिउडमा रहेको आकर्षणले निरन्तरता पाउनेमा शंका नरहेको र यो थप बढ्ने डर रहेको दीपकको भनाइ छ । “म ‘गदर–२’ किन हेर्छु भने यसको पहिलो सिरिजले सम्भवतः मेरो युवा अवस्थाको केही सम्झना गराएको थियो होला । त्यसैले अहिले म यो सिनेमा हेर्छु होला,” उनी भन्छन् । आफ्नो दर्शक बढाउन अहिलेदेखि नै लक्षित समूह बनाएर काम गर्नुपर्ने उनी बताउँछन् ।

सिनेमा ‘ह्विम’ले पनि चल्नेमा दीपक प्रस्ट छन् । “कुनै सिनेमा राम्रो छ भने वर्ड अफ माउथले पनि चल्छ । फलानो सिनेमा राम्रो छ, हेर्न जाऊँ भनेर जाने पनि धेरै हुन्छन्,” उनी भन्छन्, “तर, रेगुलर दर्शकका लागि अहिलेदेखि नै ग्रुम गराउनुपर्छ ।”

चलचित्र विकास बोर्डका अनुसार आर्थिक वर्ष २०७९/८० मा ५७ स्वदेशी सिनेमा रिलिज गरिएको थियो । ती सिनेमाका २७ लाख १६ हजार २१७ थान टिकट बिक्री भएको थियो । सोही अवधिमा ७८ विदेशी चलचित्र नेपालमा प्रदर्शन गरिएको थियो । ती चलचित्रका २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्री भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०७:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement