site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
छोटो बाटो छिचोल्दा

यही असारको अन्तिम साता । मन्दिर दर्शन र भेटघाटका लागि हिँडेको यो यात्रा नितान्त निजी र पारिवारिक भ्रमण थियो ।

टुर मुकाम कलैया थियो । बर्खाको बाटो छिचोल्दै सुमोमा बल्खुदेखि वीरगन्ज पुगेका थियौँ हामी ।

अनि, वीरगन्ज बाइपासको प्रतिमा चोकदेखि कलैयासम्म बिजुली टेम्पोमा ।

Dabur Nepal

भोलिपल्ट भलुवाही पुग्नैपर्ने थियो । लामो समयदेखि भलुवाहीस्थित डिहवारनीथानको दर्शन गर्ने कुरो भए पनि मौका मिलिरहेको थिएन ।

यसपटक औरही जाँदा जाने । जनकपुरसम्म पुगिहालिन्छ, त्यहीँबाट भलुवाहीतिर लागौँला । थान दर्शनको विषयमाथि यस्ता सामान्य कुरो भइरहन्थ्यो ।

कोठामा पटकपटक भएको थियो यस्ता कुरो । तर, विषय जसरी उठ्थ्यो, त्यसरी नै सकिन्थ्यो पनि । ‘लु, जाऊँ न त जाऊँ’ भनेर कहिल्यै खसोखास कुरो भएन ।

त्यसैले २०७१ सालदेखि नै यो यात्रामा अलमलअलमलको मात्रा अधिक रह्यो ।

यसपटक भने भलुवाही जाने निधो नै भयो । सँगसँगै राजविराजस्थित छिन्नमस्ता सखडादेवी मन्दिर, जनकपुरका रामजानकी र संकटमोचन मन्दिर पनि दर्शन गर्दै फर्कने तारतम्य मिल्यो ।

भ्याए जलेश्वरधाम पनि दर्शनका लागि जाने कुरोको टुंगो लाग्यो । यसै मेसोमा यात्रा सुरु भएको थियो, बल्खुदेखि कलैयासम्मको ।

हामीसँगै प्रमोद दाइ र दिदी पनि यो तीर्थयात्रामा जाने कुरोले कलैयादेखि नै स्कोर्पियो जीप लिने तय थियो ।

शनिबार बिहानै हामी हुइँकियौँ दिनभरको यात्रामा । चालकसहित कुल ६ जनाको समूह । 

कलैया छोड्दा भरतचोकको घयटाघरले ६ को घण्ट हान्दै थियो ।

हामीलाई चियाको तलतलले समाएपछि उहिलेको चन्द्रनिगाहपुर (अहिले चन्द्रपुर भन्छन् क्यार)मा केही बेर टी–ब्रेक लिने कुरो भयो । सडकछेउको एउटा चिया पसलमा हामी रोकियौँ ।

मधेसतिरको चियामा बेग्लै स्वाद हुन्छ । सानो ग्लासमा थोरै चिया भएकाले पनि स्वादिलो भएको हो कि ! अथवा, तराई झरेपछि आफ्नो गाउँठाउँ पुगेको अनुभूति हुने भएर होला कि !

चिया पिउँदापिउँदै परिचित साहित्यकारहरू माधव काफ्ले सर र रेणुका जिसीको सम्झना भयो । तर, आफूसँग समय नभएकाले फोनै पनि गर्न सकिनँ । सबैतिर भ्याएर साँझै कलैया फर्कनुपर्ने चटारोले गाँजेको थियो ।

जे होस्, मिठो चिया पिएपछि हामी पूर्वतिर दौडियौँ । पूर्व पनि कोसी नजिकनजिक पुग्नुपर्ने थियो । त्यसैले कतै नअल्मलिएर वाग्मती छिचोल्दै कमला नदी पनि तर्यौँ ।

सललल हुइँकिँदै आएको जीपको गति बन्दीपुरदेखि आधाभन्दा मुनिमा झर्यो । कारण, राजमार्ग मर्मतको काम हुँदै रहेछ । खाल्डाखुल्डी गज्याङगुजुङ राजमार्गमा हल्लिँदै चोहर्वा पुग्यौँ ।

चोहर्वादेखि भलुवाही जाने दक्षिणी बाटो समाउँदा पिच सडक भेटियो । चालक भाइ दंग परे । अनि, आफ्नै लबजमा बोले– यी रस्ता ठिक बा !

गाउँले भाइ शिवजी कामती घरै होलान् भनेर बन्दीपुरबाटै फोन लगाएँ । उनी त लहान पुगेका रहेछन् । गाउँ फर्कंदै गरेको जनाउ दिए ।

अनि, मित्र महेश कामतीलाई फोन गरेँ । उनले आफू छर्रापट्टीको मुखमै नहरतिर बसिरहने बताउँदै ‘आउनुस् न’ भने ।

यता, बन्दै गरेको राजमार्गले डर पैदा गर्यो । चोहर्वाको बाटो भएर राजविराज जाँदा लामो समय लाग्न सक्ने अनुमान गरेँ । यसैबारे प्रमोद दाइसँग सल्लाह भयो ।

“दाइ, यही बाटो भएर जाँदा राजविराज पुग्दै २ बज्ने हो कि ? यसरी त जनकपुर पुग्दा त ७ बज्लाजस्तै छ, अब के गर्ने ?”

हाम्रो यो समस्याको समाधान भलुवाहीमा महेशले दिए । उनले सिरहादेखि राजविराजसम्मको हुलाकी बाटो राम्रो भएको बताए । र, एकडेढ घण्टामा राजविराज पुग्न सकिने कुरोमा हामीलाई ढुक्क बनाए ।

डिहवारनीथानको दर्शनपश्चात् चोकस्थित महेशको स्कुलमा पुग्यौँ । शिवजी पनि त्यहीँ आइपुगे ।

महेश चियापानीको तारतम्यतिर लागे । हामीलाई राजविराज पनि पुग्नुपर्ने भएकाले पानी मात्रै पियौँ । र, लाग्यौँ सिरहा हुँदै सखडामाईतिर ।

“यी रस्ता हमरा मालुम नैखे,” ड्राइभर भाइ बोले ।

“सिधै छ रे !,” महेशका अनुसार हामीले भन्यौँ ।

सिरहा थानादेखि केही परबाट पूर्वतिर पिच सडक जाँदो रहेछ । हाम्रो गाडीले त्यही बाटो समायो र कुद्न थाल्यो फिलिली...।

बाटोमा स्थाननाम लेखिएका बोर्डहरू देखिन थाले । मल्हनिया, बरियारपट्टी, बरसाइन, सुखीपुर, प्रीतमपुर, अर्नाहा यस्तैयस्तै ।

मैले महेशलाई मनमनै धन्यवाद दिएँ । चालक भाइ पनि बाटो राम्रो फेला परेकामा दंग भएर एक्सिलेटर थिच्दै थिए ।

कतैकतै ठाडो उभिएका माइलस्टोनमा अंक उडाइदिएको देखियो । १६ किलोमिटर बाँकी हुनुपर्नेमा १ लाई केरकार गरिदिएर राजविराज ६ किलोमिटरमा झारिदिएका रहेछन्, कसैले । कतै ६ नै केरकार गरिदिएका ।

नयाँ चालकलाई यस्तो माइलस्टोनले कति अप्ठेरोमा पार्ला ! मैले सोचेँ मात्रै ।

हामी किलोमिटर अनुमान लगाउँदै अघि बढ्यौँ । अनुमान लगाउनु पनि टाइमपासको एउटा बहाना बनेको थियो ।

अचानक नजर पर्यो, खर्साल टोलको बोर्डमा । अर्थात्, हामी राजविराज छिरिसकेका रहेछौँ ।

हठात् चालक भाइ बोले, “हमरा मालुम बा सखडा जाए बाला रस्ता ।” लगत्तै उनले गाडी दाहिनेतिरको साँघुरो बाटोमा मोडे ।

राजविराजदेखि करिब १३ किलोमिटरको डगहर छिचोल्न समय लाग्यो ।

सखडामाई मन्दिर जाँदा यसअघि राजविराजदेखि रिक्सामा गएको थिएँ, २०५६ सालको अन्तिमतिर, सपरिवार । २०८० असारमा फेरि पुग्दा २४ वर्ष टेकिसकेको छ । त्यसबखत लामो समय लागेको सम्झना छैन ।

यसपटक भने अत्यायो, १३ किलोमिटरले ! राजविराज–सखडाको बाटो धेर लामो लाग्यो । सायद, कलैयादेखि आएकाले होला ।

सखडामा थोरै बजार विस्तार भएको रहेछ । गाडी पार्किङ गर्ने ठाउँ बनाइएको रहेछ । पसलहरू पनि टन्नै देखिए ।

मन्दिरमा दर्शनार्थीको भीडै थियो । दर्शनमा केही समय लाग्यो । उप्रान्त केही सेल्फी हानियो !

सखडामाईको दर्शनपश्चात् केही खानु जरुरी थियो । किनभने, दिउँसोको १ बजिसकेको थियो । भोकले घण्टी बजाएको अघिदेखि नै हो, तथापि दर्शन गरेरै खाऊँ भनिरहँदा समय घर्किएको थियो ।

भातको भोक मेट्ने ठाउँ सखडा बजारमा फेला परेन । भात खान राजविराज नै पुग्नुपर्ने देखियो ।

छोरीको रहर जनकपुर पुगेर सेफ सन्तोष साहको होटेलमा मिथिला भोजन खाने थियो । तर, जनकपुर पुग्न अर्को अढाईतीन घण्टा लाग्ने भएकाले त्यहीँ सहज भोजन दही–चिउरा खानुको विकल्प देखिएन ।

फर्कंदा ड्राइभर भाइले भने, “आएकै रस्ता जाऊँ, पर्मोद दाइ । यी हे छोट लागल बाटे ।”

गाडी खर्सालटोलबाट आएकै बाटोतिर मोडियो । चालक भाइ भन्दै थिए, “उता हाइवेको रस्ता सबतिर बनाइरहे होला, रुपनीदेखि बन्दीपुरसम्म त खत्तम होला !”

उनले राम्रै कुरोे गरे । आएकै बाटो फर्कने विषयमा कुनै नाइँनास्ती गर्ने कुरोे थिएन । चोहर्वाबाट थोरै मात्र बिग्रेको बाटो पर्थ्यो । त्यसैले ४७० मिटर लामो बलान पुल पार गर्दै गाडी सिरहातिर लम्कियो ।

चलिरहेको रमाइलो गफगाफमा अचानक गाडीको ब्रेकसँगै ब्रेक लाग्यो । बरियारपट्टी चोकमा ढेङ, बाँसका भाँटालगायत सामान लडाएर चक्काजाम गरेका रहेछन् ।

यो अवरोध पार गर्न सक्ने अवस्था देखिएन । अब के गर्ने ? फेरि राजविराज फर्केर रुपनीकै बाटो जानुपर्ने हो कि ! दिमागले सिधै उल्टो सोच्यो । बीचबाट पनि राजमार्ग निस्कने बाटो होला भन्ने सोचिएन ।

अबेला हुने भयो ! यही सोच्दै सबैले खुइय्य गरे । प्रमोद दाइ र म गाडीबाट ओर्लियौँ । सोधपुछ गर्नैपर्ने थियो ।

बिजुली टेम्पो चलाउने एक भाइले सोधे, “कत जाइके है ?”

“जनकपुर जाएके है । यी रस्ता त बन्द भगेलै !”

“कोनो बात नई । ऊ त्यो पोलको बगलबाट उत्तरमाहे लाग्नु, जिरोमाइल पुगिहाल्नुहुन्छ । रस्ता बढियाँ है ।”

ती टेम्पो चालकलाई धन्यवाद दिँदै हामीले उत्तरको बाटो समायौँ । केही बेरमै पिच सडक फेला पर्यो ।

र, करिब २०÷२५ मिनेटमा हामी गोलबजारदेखि पूर्वको धनगढी जिरोमाइल पुगिसकेका थियौँ ।

धन्न ! धेरै लामो बाटो जानु परेन । यदि, फेरि राजविराज फर्किएर रुपनी हुँदै आउनुपरेको भए जनकपुर कति बेला पुगिन्थ्यो होला !

गोदार नाघेपछि कुरोकानीको क्रममै अर्को छोटो बाटोको खोजी भयो । ४ बजिसकेको थियो । मलाई लाग्यो– धनुषाधाम हुँदै जनकपुर मुजेलिया निस्कनु राम्रो होला ।

तर, त्यो सडक वीरेन्द्रबजार, धारापानी, भीमवान, कताबाट जानुपर्छ ? म अलमलमा परेँ । वीरेन्द्रबजारको एउटा पसलमा सोधेपछि उनले भीमवानदेखि दक्षिण लाग्न सुझाए ।

चालक भाइ केही महिनाअघि त्यही बाटो हिँडेका रहेछन् । उनले बाटो बिग्रिएको कुरो गरे । उनको भनाइ ढल्केवर हुँदै जाने रह्यो ।

तर पनि भीमवानमा सोधपुछ गरेपछि बाटो राम्रो रहेको कुरो आयो । सुरुआती चरणमा पिच राम्रै देखिएकाले गुरुजीले गाडी देब्रे मोडे ।

बाटो खासै खराब रहेनछ । कतै पिच त कतै पेलिसकेको ग्राभेल । त्यसैले कुनै अवरोधविना हामी अगाडि बढ्यौँ ।

मन्दिर दर्शन गर्न हिँडेका हामी, धनुषाधाम दर्शन नगरी अगाडि बढ्ने कुरै भएन । म १७ वर्षपछि धनुषाधाम पुगेको थिएँ ।

करिब १० मिनेटको समय रामजीको धनुषको टुक्रा अवस्थित मन्दिरलाई सुम्पिएपछि यात्रा रामजानकी मन्दिरतिर लम्किएको थियो ।

जनकपुर–ढल्केवर राजमार्ग समाउँदा भर्खरै खुलेको भाटभटेनी सुपरमार्केट र त्यहाँ देखिएको भीडले तान्यो ।

मैले सम्झिएँ, हामी जनकपुर बस्दाको त्यो समय । तिनताक सर्ट र प्यान्ट सिलाएरै लगाउने चलन थियो । कहिलेकाहीँ टिसर्ट वा रेडिमेड कपडा किन्नुपरे जनक चोकदेखि जानकी मन्दिर जाँदा पर्ने विभिन्न फेन्सी स्टोरहरूमा पिताजीले हामी चार भाइलाई लैजानुहुन्थ्यो ।

आज जनकपुरमै सुपरमार्केट खुलेको छ । भीड पनि उत्तिक्कै छ ।

मन्दिर दर्शन गरेर महोत्तरी, औरही पनि पुग्नुपर्ने भएकाले त्यो भीडलाई त्यहीँ छोडेर हामी रामानन्द चोकतिर लाग्यौँ ।

पिडारी चोक पुग्दा मन चसक्क भयो । त्यहीँदेखि थोरै पूर्व हाम्रो घर थियो । पिडारी चोक साँझ–बिहान चियाचर्चामा रमाउने थलो थियो, हाम्रा लागि । आज ती सम्झनामा मात्रै सीमित छन् ।

धनुषसागरअघिल्तिर चालक भाइले गाडी रोके । हामी राम मन्दिरतिर लाग्यौँ । मन्दिरमा सुन्दरकाण्डवाचन हुँदै रहेछ ।

राममन्दिर र राजदेवी मन्दिर दर्शनपछि जनक चोकको लस्सीले मन खिच्यो । एउटा लस्सी पसलमा पसेर लस्सी खायौँ, चालक भाइ, प्रमोद दाइ र मैले ।

तर, लस्सीमा मैले पहिलेको स्वाद भेटिनँ । खल्लो लाग्यो । जबकि, जनक चोकको लस्सीले बेग्लै आनन्द दिन्थ्यो ।

खैर, लस्सीको स्वादपछि जानकी मन्दिर, संकटमोचन दर्शन गर्दै हामीले जनकपुर छोड्यौँ ।

जनकपुरमा सन्तोष साहको मिथिला भोजन न छोरीले सम्झी न मैले नै सम्झेँ ।

फर्कने चटारोले जलेश्वरको यात्रा स्थगन भयो ।

धनुषा, महेन्द्रनगरबाट पनि औरही निस्किने बाटो रहेछ । गफिँदागफिँदै यो प्रसंग आएको थियो । हामीलाई पनि छिटो पुग्नुपर्ने थियो । त्यसैले भ्याएसम्म छोटो बाटो खोज्दै हिँडिरहेका थियौँ ।

महेन्द्रनगर, आयल निगमको गेटअघिल्तिरबाट एउटा बाटो जाने रहेछ । त्यही बाटो बिजलपुरासम्म पुग्ने स्थानीयले बताए ।

“रस्ता ठिक है । आराम स चैल जेबै बिजलपुरा ।”

यसले ड्राइभर भाइलाई हौस्यायो । अघिका बाटाहरूजस्तै राम्रै होला भन्ने सबैलाई लाग्यो ।

गाडी त्यही सडकमा होमियो । तर, बाटोले वाक्कै लगायो । खाल्डाखुल्डीमा जमेको पानीमा चक्का चोपल्दै गाडीले बटेश्वर, भँगहा, सीतापुर पार गर्यो ।

फोकटिया बाटोमा कुरोकानीको विषय पनि त्यस्तै बन्यो । धन्न ड्राइभर भाइ हाँसिरहे । उनी आफ्नो काममा मग्न थिए ।

एक ठाउँमा अल्मलिँदा मोटरसाइकलवाला केटो भन्दै थिए, “यी रस्ता ठिक न है । बर्दिबास हो के काहे नै गेली ?”

लु, बरबाद ! फर्किनुपर्ने हो कि ? बरु, नसोधेर सिधै बर्दिबास भएर गएको भए हुन्थ्यो होला ! तर्कनाले रिङ्ग्यायो एकफेर ।

होस्, जे परे पर्ला ! यही भन्दै गाडी अगाडि हिँडिरह्यो । चालक भाइ एकनासले गाडी चलाइरहेका थिए । हामी दिक्क थियौँ, गलत बाटो समातेकामा ।

गाडी बिजलपुरा छिरेपछि मात्रै ढुक्क भयौँ । अब औरही टाढा थिएन ।

मुमा (मेरी पत्नीकी आमा) गाउँमै हुनुहुन्थ्यो । उहाँसँग भेटेर फर्कंदा साँझको ७ नाघिसकेको थियो ।

यतिखेर छोटो बाटोको कुरोे उठेन । छोटो बाटोले फेरि फसाउने डर । तसर्थ, सिधै बाटो बर्दिबासतिर लाग्यौँ, महेन्द्र राजमार्ग समाउन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro