सानो छँदा भान्साघरको दराजको एक कुनामा दुर्लभ देखिने टिलिक्क टल्किएका ‘सेरामिक’ का थाल, कचौरा अनि चम्चा सजावटको सामग्रीभन्दा फरक लाग्दैनथ्यो । छर–छिमेकका गृहिणी भान्साघर प्रवेश गर्दा आमाका निम्ति रङ्गीन फूलबुट्टाले सजिएका ती ‘सेरामिक’का सेट, मानौँ धनसम्पत्तिको तुलनामा सुनभन्दा कम गर्व गर्न लायकका भण्डारण थिएनन् ।
जो कोही आए पनि दराजको त्यो विशिष्ट कुनामा आँखा गाड्नेले न्युजपेपरका ओछ्यानमाथि लहरै रहेका ती सेरामिकका आकर्षक भाँडाकुँडाको प्रशंसा नगरी फर्किँदैनथ्यो । आमा र छरछिमेकमा सेरामिक ती भाँडाप्रति विशिष्ट व्यवहार गरेको देखिन्थ्यो ।
अनि भान्साघरमा खुल्ला रूपमा स्टिलका भाँडाकुँडा बेवास्ता राखिन्थे । तर, पछि सेरामिकका थालमा पनि ‘खाना खाने त हो’ भन्ने मेरो बुझाइमा परिवर्तन निम्त्यायो । घरमा पाहुना आउने दिन थियो । एकदिन अगावै तन्ना, सिरकका खोल, सिरानीका खोल सफा गरिए ।
कार्पेट, भुइँ अनि हरेक कुनाका धुलो टकटकाइयो । भान्साघर पनि अरू दिनको भन्दा ज्यादा सफा देखिएको थियो । सामान्यतः बिरानो देखिने ‘डिनर टेबल’माथि सजावटी कपडा अनि नक्कली फूलगुच्छा राखिएको थियो । सामान्य रहने छुट हामीलाई पनि थिएन ।
नुहाइँधुवाइ गरेर सकेसम्म नयाँ देखिने लुगा लगायौँ अनि भान्साघरमा आमालाई परिकार बनाउन सघाउन थाल्यौँ । सम्पूर्ण परिकार नियालेर हेरेँ । भातमा सुकुमेल प्रयोग गरिएको थियो भने खिरमा अरू दिनको तुलनामा ज्यादा काजु–किसमिस ।
अनि दाल ‘दाल’ मात्र नभएर ‘दाल फ्राई’ । त्यो दिन आमाले तयार पारेका प्रत्येक परिकारमा नयाँपन अनि विशिष्टता झल्किन्थ्यो । पाहुनासहित खाना खाने समय भयो । आमाले बडो जतनका साथ सुरक्षित राख्नुभएका ती सेरामिक भाँडाका लस्कर निस्किए ।
आँखा तिरमिर पार्ने ती थाल, कचौरामा ऐनाझैँ अनुहार दर्पण गर्न सम्भव थियो । ती उज्यालो देखिने थाल, कचौराको तेजले केही घण्टाअगाडि घोटेर टल्काइएका किचेनका टाइल्सलाई समेत अँध्यारो देखिन थाल्यो ।
ती सेरामिक तेज, तेज मात्र नभई एउटा चिच्याहट थियो, ‘हामी यो भान्साघरका होइनौँ !’ भान्साघरमा रहेका अन्य सामग्री तथा ती बिल्कुल नयाँ देखिने सरोमिकबीचको विषमता नै त्यस चिच्याहटयुक्त यथार्थको प्रमुख प्रमाण थियो ।
पाहुनाको अतिथि सत्कारपश्चात् आमा ज्यादै खुसी हुनुहुन्थ्यो ।
उहाँले पाहुनालाई विशिष्ट व्यवहारका साथ विशिष्ट ‘डिनर टेबल’मा देखिएका विशिष्ट थाल–कचौरामा विशिष्ट भोजन परिकार खुवाउनुभएको थियो । हामीले चाहिँ उही पुराना स्टिलका थाल–कचौरामा बाँकी रहेका विशिष्ट भोजनको मजा लुट्यौँ ।
वर्ष दिनमा २–४ पटक हुने त्यस्ता अनुभवले मभित्र केही मूल्य–मान्यता स्थापित गर्दै गयो । ‘अतिथिलाई ‘विशिष्ट’ व्यवहार गरिनुपर्छ’ र हामीलाई पढाइने ‘अतिथि देवो भवः’ भन्ने सिद्धान्तले यो विषयलाई मानसपटलमा स्थायी स्थान प्रदान गर्यो ।
माथि लेखिएजस्तो अनुभव (सारमा मात्रै भए पनि) बहुसङ्ख्यक नेपालीहरूको हुनुपर्छ । पाहुना ‘भगवान्’ हुन् । पाहुनालाई गरिने व्यवहार ‘भगवान’लाई गरिने व्यवहारभन्दा फरक हुनुहुँदैन भन्ने भाव देशव्यापी रूपमा स्थापित छ ।
यस अर्थमा नेपालीहरू अतिथि सत्कारमा आफूलाई विशेष मान्छन् । नेपाललाई पर्यटनमुखी बनाउन उक्त चेतनाले उल्लेखनीय भूमिका भने अवश्य खेलेको छ । यसका फाइदा र अर्थतन्त्रमा यसले पुर्याएको टेवाबारे जति चर्चा गरे पनि पर्याप्त हुनेछैन ।
आज म उक्त ‘अतिथि देवो भवः’ ले नेपाली जनजीवनमा छाडेको मनोवैज्ञानिक छापको ‘अर्को’ पाटोबारे चर्चा गर्दैछु । यसले हाम्रो प्रशासनिक, व्यापारिक, राजनीतिक तथा निजी जीवनका मनोविज्ञानलाई कसरी आकार दिएको छ त ?
तैत्तिरियोपनिषद्बाट झिकिएको उक्त वाक्यांशले निजलाई भन्दा दोस्रो व्यक्ति, नभए तेस्रो व्यक्ति अथवा आफू वा आफ्नो समूहभन्दा बाहिरका व्यक्तिलाई प्राथमिकता दिने कार्य गरेको छ ।
दूरीको सन्दर्भमा नजिकको भन्दा टाढाकोलाई बढी महत्त्व दिने गरेको छ । छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङले सन् २०१९ मा नेपालको भ्रमण गरेका थिए । २३ वर्षको अन्तरालपश्चात् चिनियाँ राष्ट्रप्रमुखको नेपाल भ्रमण सामान्य मान्न सकिँदैनथ्यो ।
अतः उक्त भ्रमणलाई विशिष्टभन्दा पनि विशिष्ट बनाउन खोजियो । चिनियाँ राष्ट्रपतिलाई पाहुनामध्येको पाहुना करार गरियो । तात्त्विक रूपमा उनको आगमनको तयारी मेरी आमाले घरमा पाहुना आउँदा गर्नुभएको तयारीभन्दा फरक थिएन ।
चिनियाँ राष्ट्रपति हिँड्ने प्रत्येक सडकको मर्मत–सम्भार गरियो भने, बिजुलीबजारको बन्दै गरेको आर्क ब्रिजको ‘कुरूप’ निर्माण कार्य रङ्गीन पोस्टरले छेकियो ।
त्यतिमात्र होइन, मेरो घरको डिनर टेबलझैँ वर्षौँदेखि बिरानो तीनकुनेको चौरमा चारैतिर (वा भनौं तीनैतिर) हरियो घाँसको कार्पेट बिछ्याइयो र त्यसउपर हतारको वृक्षारोपण गरियो । चिनियाँ राष्ट्रपति आए, स्वागत सत्कार खाए अनि पुनः चीन फर्किए ।
नेपाल सरकार, नेपाली राजनीतिज्ञ अनि सम्पूर्ण नेपाली जनता मेरी आमाझैँ पाहुना सत्कार गर्न पाएकामा दङ्ग थिए ।
चिनियाँ राष्ट्रपति हिँड्नुभएका ती सडकहरूको मर्मत र तीनकुनेको हरियाली, मेरो घरमा पाहुना फर्केपश्चात् बाँकी रहेका खानाझैँ हामीले पनि आ–आफ्नो ‘स्टिलका प्लेट’मार्फत आ–आफ्नो हैसियतअनुसार ‘खायौँ’ ।
यो दृश्यले पाहुनाप्रति हाम्रो उच्च सम्मान देखाए पनि आत्मसम्मान (सेल्फ इस्टिम) बारे हामी पूर्णतः बेखबर रहेको पुष्टि गर्यो ।
अनि, ट्राफिक त्यो सम्मान
ट्राफिक व्यवस्थापनमा यो मनोविज्ञानको उत्पीडनमा पर्नुभएको छ कि छैन ? बत्ती जडान नभएका चोक–चौराहामा प्रतीक्षारत साइडको प्रथम पङ्क्तिमा रोकिनुभएका महानुभावहरूमध्ये ट्राफिक प्रहरीको व्यवस्थापकीय व्यवहारप्रति आजित नभएका सायदै कोही होलान् ।
ट्राफिक लाइट हुँदा कमसेकम दुई पटक हिँडिसक्नुपर्नेहरूलाई (प्रतीक्षारत साइड) चलायमान साइडबाट गुडिरहेका एक–एक सवारी–साधन ‘नतानुन्जेल’ एक इन्च पनि हल्लिने छुट हुन्न ।
यो व्यवहारको प्रमुख पीडित प्रतीक्षारत साइडको प्रथम पङ्क्तिमा रोकिएकाहरू हुन् जो सुरुमै रोकिएर बेसुमार पर्खाइपश्चात् मात्र सवारी अगाडि बढाउने मौका पाउँछन् ।
मानौँ, चौबाटोमा चाँडो पुग्नु अपराध हो र चाँडो पुग्नेलाई ‘प्रतीक्षा’रूपी सजाय दिइएको छ ।
त्यस्तो अवस्थामा मैले प्रायः प्रतीक्षारत साइडका सवारी–चालकको धैर्यता गुमेको देखेको छु ।
त्यस्तो अवस्थामा ट्राफिक प्रहरीको इसाराविरुद्ध प्रतीक्षारत साइड बलजफ्ती अगाडि बढेर दोबाटो, तीन दोबाटो, चौबाटो, सात दोबाटो आदि इत्यादिमा कोलाहल मच्चिएको देखेको छु ।
यहाँ प्रतीक्षारत साइडको प्रथम पङ्क्तिमा रोकिनुभएका महानुभावहरूलाई ‘नजिकका’ अनि ढिला आएर पनि ट्राफिक प्रहरीले ‘तानेर’ पार लगाइएका चलायमान साइडका सवारी–चालकलाई ‘पाहुना’को संज्ञा दिनुभयो भने ‘अतिथि देवो भवः’को मनोविज्ञानको स्पष्टता झल्किन्छ ।
नयाँ–ढिला ‘अतिथि’लाई लाभैलाभ
लामो दूरीको यात्रा गर्दा बस काउन्टरमा अग्रिम बुकिङ गर्न जानुस्, त्यहाँ टिकट एजेन्टले अगाडिको अथवा ‘राम्रो’ सिट खाली भएको स्वीकारोक्ति विरलै सुन्ने गरिएको छ ।
‘राम्रा’ भएका सिट गाडी गुड्न लाग्दा ढिला आउने ‘पाहुना’लाई सुरक्षित गर्नु ‘अतिथि देवो भवः’ कै अर्को विकृत मनोविज्ञान हो । एउटा मासु पसलको म नियमित ग्राहक थिएँ । एक दिन म त्यहाँ पुग्दा ताजा र भर्खर फ्रिजबाट निकालिएको मासु थियो ।
म आइपुगेको केही क्षणमै त्यहाँ अर्को ग्राहक पनि आइपुग्यो । हामी दुवैले ताजा मासुतिरै इसारा गर्यौँ । तर मासु पसलका साहुले ‘हजुर त सधैँ आउनुहुन्छ, उहाँ कहिलेकाहीँ मात्र’ भन्दै ताजा मासुको सम्पूर्ण भाग ती कहिलेकाहीँ आइपुग्ने ग्राहकलाई छुट्याइदिए । ती साहुका निम्ति विरलै आउने ग्राहक ‘पाहुना’भन्दा कम थिएनन् ।
त्यो बखत एउटा नियमित ग्राहकभन्दा उच्च मूल्याङ्कन गर्दै ‘अतिथि देवो भवः’ को पुनः विकृत मनोविज्ञान प्रस्तुत गरे । निजामती सेवामा ‘अतिथि देवो भवः’ को आंशिक मनोविज्ञान ‘चाकडी’ प्रथा मार्फत प्रस्फुटन हुन्छ ।
कतिपय निजामती कार्यालयका बेवास्ता गरिएका झ्याल, ढोका, फूलबारी, सोफा, रिसेप्सन आदि इत्यादिले मन्त्री–प्रधानमन्त्रीको अवलोकनका बेला पुनर्जीवन पाउने गरेका छन् ।
मानौँ, फोहोर, दुर्गन्धित तथा अव्यवस्थित कार्यालयमार्फत सेवा दिनु कर्मचारीको अधिकार हो । सफा, हावादार तथा व्यवस्थित कार्यालय त केवल एकाध पटक देखिने ‘पाहुना’ का निम्ति हुन् ।
अतिथिलाई स्वागत–सत्कार हाम्रो संस्कार तथा संस्कृतिको एक महत्त्वपूर्ण चिनारी हो । तर यो सिद्धान्त अप्रत्यक्ष रूपमा हाम्रा प्राथमिकता नजरअन्दाज गर्ने अनि आत्मसम्मानलाई असर गर्ने कारक बन्नुहुँदैन ।
घरमा आमाले सुरक्षित राख्नुभएको सेरामिकका भाडामा दालभात–तरकारीको स्वाद ‘पाहुना’ ले मात्र चाख्नुपर्छ भन्ने बुझाइले नयाँ वा ‘अब्बल’ वस्तु उपभोग गर्न लायक छैनौँ भन्ने मनोविज्ञान घरका बालबालिकाले अनुभव गर्नु आत्मसम्मानको बाटो बिराउनु बराबर होइन भन्न सकिन्न ।
के त्यो सेरामिकका भाँडाको विलासिताको उपभोग घर–परिवारका सदस्यले गर्न सक्दैनन् र ? घरमा नयाँ देखिएका लुगा लगाउन ‘साइत’ पर्खिनुभएको छ ? छ भने तपाईं पनि ‘समयरूपी पाहुना’ लाई कुरेर बस्नुभएको छ ।
साथीभाइ अथवा अतिथि आउँदा मात्र आफ्नो कोठा सरसफाइ गर्ने जाँगर चलेको छ भने तपाईं पनि ‘अतिथि देवो भवः’को दानवी पक्षको सिकार हुनुहुन्छ ।
आतिथ्यमा ‘अतिथि देवो भवः’ को बेजोड सिद्धान्तले हामीलाई विश्वसामु अत्यन्त ‘सहज’ र ‘मित्रवत्’ भनेर चिनाए पनि यो सिद्धान्तको मार पिँढी दर पिँढी हाम्रो पुस्ताले गुम्दै गएको आत्मसम्मानले खेप्नुपरेको छ । पाहुनालाई राम्रो व्यवहार गर्ने हो, तर राम्रो व्यवहार पाहुनालाई मात्र गर्ने हो भन्ने बुझाइ गलत हो । हामीले हाम्रो समाजको आत्मसम्मान ‘क्यालिबरेट’ गर्नु आजको अपरिहार्य आवश्यकता हो ।
आत्मसम्मान पुनः जागरणको सुरुवात स्वयम् व्यक्तिगत तहबाट नै सुरु हुन्छ । पहिलो सम्मान स्वयंले स्वयंलाई गर्न सक्नुपर्छ । आफूलाई आफ्नो प्राथमिकताको सूचीमा पहिलो नम्बरमा राख्न अत्यन्त आवश्यक छ । जीवनका हरेक पक्षमा यो विषयको महत्त्व हुन्छ । आफूले लगाउने लुगादेखि, शारीरिक तथा मानसिक स्वास्थ्य, व्यक्तिगत सरसफाइ, खानपिनदेखि आफ्नो वरपर भएका सङ्गतसम्मका विषयले आत्मसम्मानको मापन गर्छ ।
हामी हाम्रो व्यवहारको पहिलो पहरेदार हौँ । अरूले नदेखेको खण्डमा जे जसरी पनि बस्न सकिन्छ भन्नु भूलसिवाय अरू केही होइन । आत्मसम्मान कुनै दोस्रो अथवा तेस्रो व्यक्तिको अवलोकनको प्रमाण होइन, यसको प्रमाणपत्र भित्री अन्तरआत्माको देन हो । स्मरणरहोस्, अरूलाई ढाँट्न सकिएला तर आफूलाई ढाँट्न असम्भवप्रायः छ ।
व्यक्तिगत तहबाट माथि आफूसँग नजिक भएका व्यक्ति, पेसा लगायतका विषयवस्तुलाई सामीप्यताका आधारमा प्राथमिकतामा राखी त्यसअनुसार व्यवहार गर्न जरुरी छ । माथिको हरफको मुख्य सार ‘अतिथि देवो भवः’ को सिद्धान्तलाई नयाँ रूपले परिभाषित गर्नुपर्ने आवश्यकतालाई दर्शाउनु हो । हिजोसम्म प्राथमिकताको वर्णानुक्रम बाहिरबाट भित्र आइरहेको थियो भने आजदेखि प्राथमिकताको वर्णानुक्रम भित्रबाट क्रमशः बाहिर लग्नुपर्ने देखिन्छ ।
उदाहरणका निम्ति, घरको सेरामिक भाँडा र सफासुग्घर घरको वातावरण घरका सदस्यका निम्ति दैनिक उपभोगका विषय हुनुपर्दथ्यो । त्यसो हुँदा घरमा आएका पाहुनाले सरोमिकमै खाए पनि घरमा उपभोग हुने विषयवस्तु नै उपभोग गरिरहेका हुन्थे ।
सुरुको परिस्थितिमा ‘औकात’ बाहिर गरिएको सम्मानले पाहुनालाई त ओझेलमा पार्न सकिएला तर आफ्नो भित्री अन्तरआत्माको आत्मसन्तुष्टिबाट पूर्णतः वञ्चित गर्छ । फेरिएको परिस्थितिमा पाहुनालाई गरिने व्यवहार आफूलाई अनि आफ्नो घरपरिवारको सदस्यलाई गरिने व्यवहारभन्दा फरक नहुने हुँदा विशिष्टताको आवरणमा अपेक्षा गरिएको ‘जालझेल’युक्त ‘अतिरिक्त’ आत्मसम्मान प्रस्तुत नभएको हुँदा गुम्ने डर पनि हुन्न । जस्ताको त्यस्तै !
यसको अर्थ आफूलाई गर्नुपर्ने व्यवहार हरेक परिस्थितिमा निजको सापेक्षमा ‘सर्वोत्कृष्ट’ हुनुपर्छ । उक्त ‘आत्मसम्मान’ को अभिव्यक्तिले निजप्रति दोस्रो/तेस्रो व्यक्तिको पनि हृदयदेखिको सम्मान भित्र्याउँछ । सामान्यतः सुकिलो–मुकिलो भएर हिँड्ने, शरीरको स्याहार गर्ने व्यक्तिप्रति सापेक्षिक रूपमा ज्यादा सकारात्मक व्यवहार हुनु पनि यसको यथेष्ट प्रमाण हो ।
राष्ट्रियस्तरमा पूर्वाधार तथा सरसफाइमा अग्रसर रहेको समाज, सहर अनि मुलुकले तेस्रो समाज, सहर अनि मुलुकबाट त्यहीस्तरमै सम्मान प्राप्त गर्दछ । नेपालमा बाटोमा चाउचाउ र पानीका बोत्तल फाल्न थोरै पनि सङ्कोच नमान्ने नेपाली, विकसित मुलुकको विकटतम सडकमै पनि एउटा रौँ झर्ला कि भनेर किन लाज मान्छन् ? किन जेब्रा क्रसिङबाट १० मिटर उत्तर, दक्षिण रहेरै मात्र बाटो काट्न रुचाउने नेपाली, विकसित मुलुकका हरेक साइनबोर्ड अक्षरशः पालना गर्छन् ? यसलाई दण्ड–सजायको मनोविज्ञानभन्दा पनि आत्मसम्मानको नजरबाट नियाल्यौँ भने बढी सान्दर्भिकता भेटाउन सकिन्छ ।
ती विकसित भनिएका मुलुकप्रति, त्यहाँका जनताप्रति स्वस्फूर्त सम्मान जागृत हुनुको कारण के हो त ? ती विकसित मुलुकमा देखिएका विकसित पूर्वाधार, सरसफाइ तथा नियममा आधारित व्यवस्था संस्थागत हुनुको कारण के हो त ?
विकसित मुलुकका पूर्वाधार मात्र विकसित छैनन्, त्यहाँका सडक मात्र सफा छैनन्, नजिकबाट नियाल्नुभयो भने त्यहाँका निजी घर पनि ‘सुकिकला–मुकिला’ छन्, घरका आँगन पनि व्यवस्थित छ, घरभित्रको बेडरुम (बी), हल (एच) र किचेन (के) पनि ‘सुकिकला मुकिला’ छन् । नभन्दै, घरभित्रका प्रत्येक व्यक्ति ‘सुकिकला मुकिला’ छन् ।
विकसित भनिएको मुलुकमा प्राथमिकताको वर्णानुक्रम निजबाट (भित्र) सुरु हुँदै क्रमशः बाहिर सर्दै जान्छ । सारमा भन्नुपर्दा, व्यक्तिले स्वयंलाई, सहरले सहरलाई तथा राष्ट्रले राष्ट्रिय आवश्यकतालाई प्राथमिकतामा राखेको देखिन्छ । त्यहाँका जनताप्रति स्वस्फूर्त सम्मान जागृत हुनुको कारण त उनीहरूको हामीप्रतिको व्यवहार होइन कि उनीहरूको निजप्रतिकै व्यवहार (आत्मसम्मान) प्रमुख कारक देखिन्छ । ‘अतिथि देवो भवः’को सिद्धान्त उनीहरूले वकायदा पालना गरेका छन्, तर अतिथिको वर्णानुक्रममा उनीहरूले निजलाई पहिलो नम्बरमा राखेका छन् ।
यसको अर्थ भोलिका दिनमा चिनियाँ राष्ट्रपति अथवा जो कोही विशिष्टको भ्रमण हुँदा नेपाल सरकारले सरसफाइ, सडक पूर्वाधार, हरियाली व्यवस्थापन, ट्राफिक व्यवस्थापन आदि इत्यादितिर ध्यान नदिऊन् भन्ने होइन, तर ती विषयमा सरकारले सधैँभरि यति ध्यान दिओस् कि विशेष परिस्थितिमा ती पूर्वाधारका निम्ति ‘विशेष’ तयारी गर्नु नपरोस् ।
यसको अर्थ विकसित मुलुकझैँ ‘अतिथि देवो भवः’को पहिलो नम्बरको अतिथि निजीस्तरमा स्वयंलाई र राष्ट्रियस्तरमा नेपाललाई वर्णानुक्रमको पहिलो नम्बरमा राख्न जरुरी छ । दोस्रो वा तेस्रो व्यक्ति (पाहुना) भित्रको भगवान् रिझाउनुअघि स्वयम्भित्रको भगवानलाई रिझाउने प्रयास गरौँ ।
ट्राफिक प्रहरीले ट्राफिक बत्ती जडान नभएका ठाउँमा भीड हेरेर होइन कि समय हेरेर सुरुमै आएर रोकिएकाहरूलाई ‘अतिथि देव’ स्वीकार गरी निकास दिएर न्याय दिऊन् । टिकट एजेन्टले सुरुमा आएका ग्राहकलाई ‘अतिथि देव’ स्वीकार गरी आफूखुसी सिट रोज्ने सहुलियत प्रदान गरुन् । मासु पसलका साहुले नियमित ग्राहकलाई प्राथमिकतामा राखून् । कार्यालय उपभोग गर्ने पहिलो व्यक्ति कर्मचारी नै हुनेहुँदा उक्त कार्यालयबाट प्रतिपादित ‘अतिथि देवो भवः’ को पहिलो नम्बरको अतिथिरूपी देव कर्मचारीले स्वयंलाई स्वीकार गरी कार्यालयको ‘स्वास्थ्य सुधार’ गरुन् ।
माथिका विषयहरू ‘अतिथि देवो भवः’का मनोवैज्ञानिक ‘साइड इफेक्ट’का केही उदाहरणहरू मात्र हुन् । हामी यो मनोवैज्ञानिक अवस्थामा कसरी आइपुग्यौँ त ? भन्ने प्रश्नको उत्तर सहज र सोझो छैन । यसका निम्ति हाम्रो शास्त्रको अध्ययन, हाम्रो सभ्यताको इतिहास, अप्रत्यक्ष उपनिवेशीकरणलगायत विभिन्न आयामबाट खोज–तलास गर्न जरुरी छ । कारण पत्ता लागोस् वा नलागोस्, तर यसको असरबारे हामी गम्भीर हुन अत्यन्त जरुरी छ ।
हाम्रो समाज अगाडि बढ्ने हो भने ‘अतिथि देवो भवः’ को भावले हाम्रो आत्मसम्मानमा प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा हुने ‘साइड इफेक्ट’ बाट सुरक्षित राख्न जरुरी छ । त्यसका निम्ति समाजका प्रत्येक निकाय (निजीदेखि सार्वजनिक) ले पहिलो नम्बरको अतिथि वा अतिथिरूपी देव आफूलाई स्वीकार गरेर अगाडि बढ्नुको विकल्प छैन ।
अब हामीले हाम्रो घरको सेरामिकका थालमा पहिले आफैँले खाने हिम्मत गरौँ, ताकि हाम्रो घरमा आउने पाहुनाले हाम्रो विशेष तयारी होइन, हाम्रो सामान्य तर आत्मसम्मानयुक्त जीवनको अनुभव गर्न पाऊन् । अरूको सम्मान जति ‘अरूलाई सम्मान’ गरेर कमाइँदैन, त्यति आफू स्वयम्लाई गरेर कमाइन्छ ।