
सुब्बा धर्मकान्त । यो नाम नेपाल खाल्डो पश्चिमपट्टिको गाउँका जनजनलाई थाहा भएको कुरो हो । अझ गाउँमा सुब्बाको रवाफ र इज्जतको त कुरै नगरौँ । दौलत, सरस्वती र सौर्यमा बुढासँग कुनै जोरीपारीले ठोकाबाजी गर्ने आँट राख्दैनथे ।
चञ्चलाश्री वास गरिदिनाले घरमा नपुग्दो केही थिएन । ईश्वरका कृपाले सबै सन्तान सग्ला र पराक्रमी निस्किए । दौँतरीसँग सन्तानको प्रगतिका विषयमा बातचित गर्दा लाजले मुख छोप्नुपर्ने अवस्था थिएन ।
मधेसको औलोको प्रभाव नेपाल खाल्डोको डाँडासम्म पर्यो । औलोले गाउँ नै सोत्तर बनायो । वैशाखको आधाआधीतिर औलोका मारले सुब्बिनी बज्यै खसिन् । छोराहरू आउन अलमल गर्ने निधो गरी बुढियाको सद्गत गरेर बुढा आफैँ किरिया बसे ।
दोस्रो दिन छोरीहरू आइपुगे । पाँचाैँ दिन बित्यो, गाउँले बिचार लिएर आउन थाले । तर, छोराहरू फिरेनन् । झोक्की सुब्बा रिसले आगो भए । फोन गरेर हप्काए । साताैँका दिन मात्र बल्ल छोराहरू देखापरे ।
कपाल खौरीवरी आठाैँ दिनमा कोरा पसे । बुढियाको आशौचभरिको सबै खर्च बुढाले आफ्नै जेबबाट बेहोरे । कुनै छोराले फुटेको कौडीसम्म झिकेनन् । तिनले एकार्काको मुख ताकेरै बसे ।
०००
आज सोह्रौँको मासे सकियो । नित्य सन्ध्याकर्म निप्टाएर बुढा आफ्नो कोठातिर गए । भर्याङमा आधाआधी मात्र के उक्लिएका थिए, पूजाकोठासँगैको छिँडीमा छोराबुहारीले आफ्नो विषयमा गन्थन गर्दै गरेको बुढाले चाल पाए । बुढाले झ्यालनिर लगेर कान थापे ।
“बालाई के गर्ने त, कि तँ राख्छ्स त केटो ?,” जेठोले पन्छिन खोज्दै माहिलोलाई सोध्यो ।
माहिली जरक्क जर्की, “ए ! सम्पत्ति खाने बेला सबै कान्छा छोरा र छोरीहरूले ग्वामग्वाम्ती खाने, पाल्नुपर्नेचाहिँ हामीले ?” माहिलो केही बोलेन, चुपचाप बस्यो ।
“जेठा र माहिला छोरालाई कसरी मार्न सकेका बाबै ?,” जेठीले आगोमा घिउ थप्ने काम गरी ।
अरू बेला पानी बाराबारको अवस्था रहेका जेठी र माहिलीको भने यस कुरामा मन मिल्यो । जेठी र माहिलीको मिलापले कान्छीको देउता जाग्यो ।
“छोरा त उहाँ मात्र होइन होला ! तपाईंहरूको पनि केही कर्तव्य होला नि त,” जवाफ फर्काइहाली । सेढाईंकी छोरी, के चुप बस्थी !
“खाने बेलामा चाहिँ हामीलाई सम्झेथ्यौ र ?,” माहिलो उड्क्यो ।
“नकच्चरीलाई दाजुभाइको सम्पत्ति घिच्न अलिकति पनि लाजशरम किन नलागेको ?,” माहिली फेरि फलाक्न थाली ।
“हाम्रो सरोकारको कुरो होइन । जसले सम्पत्ति खाएका छन्, तिनीहरूले नै पाल्छन्,” जेठोले मुखमा मुख मिलाएर भन्यो ।
“त्यसो भए ज्ञानेश्वरमा कसका खुट्टा नाचेका छन्, मेरा कि मेरा जहानका ? ओहो ! दुई भाइ मिलेर लुडाएका होइनौ ?,” कान्छो रिसले मुर्मुरिँदै उफ्रियो ।
“कि वृद्धाश्रमतिर लगेर ठेगान लगाइदिने त दाइ, के भन्नुहुन्छ ?,” एकछिनपछि कान्छीले जेठाजुहरूतिर हेर्दै सोधी ।
बाहिर बसेका सुब्बाको अघि नै रन्केको कनसिरी कान्छी बुहारीको कुराले झन् भुतुक्कै भयो ।
“तेरीमा झ्याँक्ने हो, तिमीहरूलाई हाडछाला घोटेर यत्रायत्रा भुस्तिघ्रे बनाएको आज यही दिन देख्नलाई हो ? कोही राहुहरूले केही गर्नु पर्दैन मेरा लागि । एक्लै जन्मे, एक्लै बाँच्छु, एक्लै मर्छु,” बुढा फलाक्दै उकालो लागे ।
धेरैअघि मौसुफ महेन्द्र सरकारले सुब्बा बुढालाई ज्ञानेश्वरमा घर बक्सिस बक्सिएको थियो । त्यो घर जेठो र माहिलो छोराले लिने इच्छा जाहेर गरे । अकुत सम्पत्तिका मालिक, दौलतको के पीर ! ‘लौ गरी खाओ’ भन्दै दुवै छोरालाई दिए ।
कान्छोले पनि आस गरेको थियो । तर, ‘बाँकी सबै सम्पत्ति तेरो भयो’ भनेर मुख बन्द गराए । जेठो र माहिलोलाई अरू सम्पत्ति दिएनन् ।
यही कुरामा बाबुछोराबीच तिक्तता बढ्यो । कान्छो पहिल्यै नेपालको सम्पत्ति नपाएर रुष्ट । बिचरा, बुढाबुढी के गरून् ! सम्पत्तिको किचलोले नै आधा झाट्टिए ।
केही सम्पत्ति अर्को जन्मलाई हुन्छ भनेर दान र धर्मकर्ममा खर्च गरे । पशुपतिमा देवल बनाए । देवघाटमा धर्मशाला बनाउन चन्दा दिए । मधेस जाने मुसाफिरहरूका लागि गाउँमा पाटी बनाइदिए ।
कुवा खने । चौतारो बनाए । गए साल सप्ताह समेत लगाए । कठै ! छोरीहरू त्यसैत्यसै दाजुभाइका आँखाको तारो बने । तिनै छोरीहरूले बुढाबुढीबाट गोडा दुईदुई हजार रुपैयाँसिवाय एकसुको पनि भेटेनन् ।
रातभर तीन दाजुभाइ भनाभन नै गरिरहे । छेडछाड र हानथापमै उज्यालो भयो । जेठो र माहिलो एक गाँस पनि नटिपी जहानसहित एकाबिहानै सहर हिँडे । कान्छो भने गएन । घरै बस्यो ।
०००
साउनको महिना । मानिसहरू खेतीपातीभन्दा पनि धर्मकर्मको ज्यादा फिक्री गर्छन् । सेढाईं बुढाले शिवपुराण लगाउने रे, चुले निम्तो आयो । यता कान्छीको भुइँमा खुट्टा छैन ।
अझ लाखबत्ती पनि बाल्ने अरे ! आउँदा दुईचार हजार बत्ती कातेर ल्याउनु भन्ने मर्जी भएको छ । यता वर्ष दिनसम्म देउतालाई भागभोग केही नचलेको, ससुराले शिवपुराण लगाउने भएपछि कान्छोको मनमा पनि काइदा नै भयो भन्ने छ ।
साउनको टड्कारो घाम, बिहान काटेर सुकाएको गोरुको छाला बेलुकासम्म सुकिसक्छ भन्छन् । दिउँसोतिर बाहिर बस्छु भनेर आँटसम्म गर्न सकिँदैन । खलखली बनाइहाल्छ ।
बेलुकापख हावा खान सुब्बा बुढा बाहिर निस्के । छेवैको फलैँचा पुछपाछ पारेर बसे । कान्छी आँगनमा सुकुल ओछ्याएर बत्ती कात्दै थिई । कान्छो भने मकै छोडाउँदै थियो ।
बुढालाई मालपुवा खान मन लागेको अहिलेदेखि होइन । मनलाई थामथुम गरेर राखेका थिए । चौपट्टै भयो, सकेनन् । आज मुख फोरेरै बुहारीलाई भरे मालपुवा बनाइदिन भने ।
बुढाले यति के भनेका थिए, छुराजस्तो कान्छीको मुख सलबलाइहाल्यो । “भएभरको पैसाजति सबै तिम्रा प्यारा छोराछोरीलाई पोस्छौ, अझ तिमीलाई मालपुवा खानुपर्ने ? तिम्रा स्वादे जिब्रो !”
बुढालाई भाउन्न भयो । रन्केर माथि कोठमा गए । आफ्नो झोलीतुम्बाको कुम्लो पारी देवघाट जान्छु भनी निस्किए । पछि खै के सोचे कुन्नि, ‘मेरा पाखुरीले जमाएको सम्पत्ति तँ च्याखुरी च्याँट्ठिदैमा छाडिहाल्छु र !’ भन्दै कोठामा पसे ।
श्रीमती खसेदेखि यस्ता घटना बुढाका लागि नौला भने होइन । बेलाबखत भई नै रहेको हुन्छ ।
एकताका बुढाले पाहुनापासा टार्न भनी पुग्दो रकम आफ्नो पेन्सनबाट कान्छोको हातमा थमाइदिए । कान्छोले अलिअलि पैसा खर्च गर्यो । बाँकी पैसाले बुढीलाई गहना किन्दियो ।
नाम चलेका सुब्बाका पाहुनापासालाई कान्छाका दम्पतीले खासै राम्रो मेजमानी गराएनन् । साधारण खानामै टारे । सत्कार पनि भन्न लायकको थिएन ।
कान्छी छोरी पनि रित्तो हात घर फर्किइन् । यी सबै नजिकबाट नियालेका सुब्बाको मन कुँडियो । उनलाई कान्छो छोराको व्यवहारउपर पटक्कै चित्त बुझेन । अझ चेलीबेटीलाई वास्ता नगरेको देख्दा बुढाको रिसको पारो चुलियो ।
बुढाले चेलीबेटीलाई रित्तो हात पठाएकोमा असन्तुष्टि पोखे । यसै त बटारिएको कान्छो, बुढाको कुरा सुन्नेबित्तिकै कुर्लिहाल्यो, “तिम्रा मुट्ठीभरका टिलाले यत्रा हन्तकालेहरूलाई ज्युनार गराउनु कि तिम्री महारानीहरूलाई तोफा बक्सिनु ?”
कान्छोका कुराले बुढाको कनसिरी रन्किए । बाह्र गाउँ खाएका सुब्बा, आखिर के चुप बस्थे ! बसेनन् । आफ्नो सुब्बांगी देखाइदिए । छोराबुहारीलाई अनेकअनेक भन्दै घण्टौँसम्म फलाकिरहे ।
त्यसपछि महिना दिनसम्म कान्छो बाबुसँग बोलेको थिएन ।
सुब्बिनी बितेदेखि रसाएका बुढाका आँखा आजसम्म पनि ओभाएका छैनन् । आफ्नी रमणीले चौरासी व्यञ्जन पकवान तयार पार्थिन् । बुढा छोराछोरीसँग बसेर मिठो मानीमानी खान्थे । बेलाबखत उनीहरूका मुखमा एकदुई गाँस हालिदिन्थे ।
जीवन स्वर्गजस्तो थियो । सौर्य र पराक्रमपूर्ण थियो । विश्व ब्रह्माण्डसँग एक्लै लड्ने ताकत थियो । इज्जतमा कहिल्यै आँच आएन । यश, नाम र कीर्ति सबै थिए ।
परन्तु, आज बुहारीले खान मन लागेको कुरा माग्दा पनि दिइन । उल्टो वचन लगाई । रमणीसँग काटेका जीवनका कुनाकुन्दरा बुढाले झलझल्ती सम्झिए ।
धिक्कार छ मेरो जिन्दगी भन्दै दुईचारपटक दलिनमा टाउको बजारे ।
रमणी हुँदाका बखत सिंहजस्ता हृष्टपुष्ट बुढा दुब्लाएर लुतोले सकेको मरन्च्याँसे कुकुरजस्तै देखिए । शरीरमा हाडछालासिवाय केही बाँकी रहेन ।
०००
पुसको महिना । पोहर सालको तुलनामा सर्दीले सीमा नाघ्यो । ठण्डीका कारण गाउँका प्रायजसो केटाकेटी र बुढापाका कक्र्याककुक्रुक परे । चिप्लिहाल्ने डरले कतिपयले आफ्ना बाआमाको दशदान वैतरणीसम्म गराउन भ्याए । चिसोका कारण धेरैजना ढले ।
पुसको अन्त्यतिर धर्मकान्तलाई पनि चिसोले लडायो । बिमारले उनी सिकिस्त भए । छोराबुहारीले वास्तासम्म गरेनन् । कान्छी बुहारीले यसो बिहानबेलुका मोटा चामलको भात ल्याएर कैदीलाई झँै ठ्यास्स फालिदिनेसिवाय एक वचन ‘बा, तपाईंलाई कस्तो छ ?’ भनेर समेत सोधिनन् ।
बुढा गुहुमुत एकै ठाउँ हुने गरी थला परे ।
छिमेकी हरिशरणले बुढालाई चारपाँच दिनसम्म बाहिर देखेनन् । केही साह्रोगाह्रो पो पर्यो कि ! उनी बुढालाई भेट्न पुगे । भुंग्रो ज्वरोले गर्दा बुढा इन्तु न चिन्तु भई मुढो लडेझैँ लडेका थिए । मुखभरि र्याल र सिँगान लतपतिएको थियो । उराठलाग्दो श्रीहीन अनुहार, जिङ्रिङ्ङ परेको रुखो केश, पटपटी फुटेको ओठको दृश्यले उनको मन कटक्क खायो ।
काती परेको कमिज र सुरुवाल लगाएका थिए । दोलाई पनि मैलो न मैलो, बाह्र वर्षसम्म नधोएको जस्तो । पिकदानीमा खकार टिलपिल देखिन्थ्यो । त्यसउपर भनभन्ती झिँगा भन्किरहेका ।
त्यसै मिल्किरहेका जुठा भाँडा, कैयौँ दिनसम्म नफालेको कोपराको दिसापिसाब, वरिपरि छरिएका कपडा देखेर उनलाई बुढाको अवस्थाउपर दया लाग्यो । उनको मानसपटलमा केही सालअघिसम्मको घटना फनफनी घुम्न थाल्यो ।
हरिशरणको विवाह गरेको तीस वर्षसम्म पनि छोरा भएन । छोराको आसमा ६ वटी छोरी नै छोरी जन्मे । यही कुरालाई लिएर धर्मकान्त साथीभाइसामु अपुत्रो भनी उनको खुब मजाक उडाउँथे ।
साँच्चै भनौँ भने बुढालाई तीन छोराको बाउ भएकोमा बडो घमण्ड थियो । हरिशरण हाँसीहाँसी भन्थे, “अचानोमा राखेर गिड्नुपर्ने खालको छोरा जन्मिनुभन्दा छोरीको बाउ हुनमै हाइसुख !” उनको जवाफले धर्मकान्त भुतुक्कै हुन्थे ।
हरिशरणले मनमनै भने, ‘आज छोराको बाउको हविगत पनि देखियो ! के गर्नु, आखिर छोराहरू कुलंगार निस्किएपछि कसको के लाग्छ !’
केही क्षण गौर गरी हरिशरणले डाक्टर बोलाए । एकछिन भट्टट गर्दै एउटा थोत्रे मोटर धर्मकान्तको घरअगाडि रोकियो । कान्छाका दम्पती झ्यालबाट यत्रायत्रा आँखा पारेर हेर्न लागे ।
डाक्टरले चेकजाँच गरी औषधि लेखिदिए । हिँड्ने बेलामा ‘अवस्था नाजुक छ, राम्रोसँग ख्याल राख्नुहोला’ भनी निस्किए ।
बेलुकातिर हरिशरणले छोरीहरूलाई फोन गरिदिए । भोलिपल्ट दिउँसो कान्छी छोरी प्रभा आइपुगिन् । डाक्टरले दिएको दबाईको गुणले वा अरू केले हो, प्रभा आइपुग्दा बुढा मस्त निद्रामा थिए ।
आँगनमा बिस्कुन सुकाउँदै गरेका कान्छाका दम्पती एक्कासि प्रभालाई देख्दा आपसमा खासखुस गर्न थाले ।
ढोका खोलेर भित्र पस्नेबित्तिकै प्रभाका आँखा भीमकाय दुरावस्थासामु बजारिन पुग्यो । बाबुको हरिबिजोग देखेर प्रभाले मन थाम्न सकिनन् । उनको भक्कानो फुटेर आयो । आँखाबाट बरर्र आँसु खसे ।
उनले गहभरि आँसु पार्दै कोठा सफा गरिन् । दोलाईको खोल फेरिदिइन् । मैला कपडा धोएर डोरीमा टाँगिदइन् । कोपरा र पिकदानी पखालेर घाममा सुकाइदिइन् ।
बुढा ब्युँझिएपछि नयाँ कपडा फेरिदिइन् । छोरीले दिएको बार्लीसँग बुढाले बेलुकाको औषधि खाए । आफ्नी रमणीसँग बिछोड भएबाट बुढाले खाएको अलि मिठो खाना आज नै थियो ।
राति कान्छाका बुढाबुढी गाइँगुइँ गरेको सुनियो । कान्छी भन्दै थिई, “गोहीको आँसु किन चुहाउनुपर्यो ? त्यस्तै माया लागे उतै लगेर पाल्नु नि आफ्नो बाउलाई ! हाम्रो पनि बाउआमा छन्, खै यस्तो चटक त पार्दैनौँ ए ! हामी त हाम्रो दाजुभाइले जसरी पालेका छन्, त्यसैमा सन्तुष्ट हुन्छाँै । हुँदा नहुँदाको कुरा लगाएर बुढालाई बंग्याउने यही हो । खोइरो खनेकी छ बाबै !”
“के गर्नु त, देखी नसक्नी भई चण्डालले ! एकदुई दिन बित्न पाएको छैन, पोको बोक्यो खुर्र दौडियो ।” लागेको चोटमा दाजुका कुराले नुनचुक छर्किएजस्तो भयो ।
नखाएको विषले प्रभालाई भतभती पोल्यो । बिचरीले आफ्नी आमा नभएपछि माइती हुँदैनन्, आमा छउन्जेल मात्र माइती हुन्छन्, माइती भनेकै आमा हुन् भन्ने कुरा आज बुझिन् ।
भोलिपल्ट झिसमिसेमै माघेसंक्रान्ति मनाउन भनी कान्छो सपरिवार ससुरालितिर लाग्यो । अपराह्नतिर मोटरमा डाक्टर आइपुगे । भित्र छिर्दा उनले कोठाको रौनक नै बदलिएको पाए ।
बुढा पनि जाज्वल्यमान देखिन्थे । डाक्टरले चेकजाँच गरी औषधि लेखिदिए । केही बेरमा प्रभा पनि चिया लिएर आइपुगिन् ।
“सुर्ता नलिनु बा, तपाईंको आधा रोग उहाँले नै फालिदिसक्नुभयो,” डाक्टरले प्रभातिर इसारा गर्दै भने । बुढा केही बोलेनन् । बस्, मुस्कुराइरहे ।
जाने बेलामा डाक्टरले प्रभालाई बोलाएर ‘बिमारले च्याप्दै लगेको छ, के हुन्छ भन्न सकिन्न, राम्रो ख्याल राख्नुहोला’ भनी निस्किए ।
डाक्टरका कुराले प्रभा आत्तिइन् । उनको मुटुले ठाउँ छोड्यो ।
साँझपख जेठी छोरी कान्ति र माहिली छोरी शान्ता पनि आइपुगे । तीनै छोरीको अविराम स्याहारसुसार र डाक्टरको दबाईमुलोका बाबजुद बुढाको व्यथा बीसबाट उन्नाइससम्म पनि झरेन ।
ज्वरो झन् बढ्दै गयो । बुढाका शरीर सुन्निएर थिलथिलो भयो । दमले झन् पेल्दै लग्यो ।
माघेसंक्रान्तिको पाँचौँ दिनको बिहानीपख बुढाले आफ्नो जीवनको अन्तिम श्वास लिए ।
०००
अपराह्नसम्म तीनै छोरासामु खबर पुग्यो । जम्मा तीन कोसको बाटो, हिँडेको भए सबै सबेरै आइपुग्थे । तर, साँझसम्म पनि फिरेनन् ।
घरअगाडि तिलको दानो राख्ने ठाउँ छैन । आँगन गाउँलेहरूले खचाखच भरियो ।
भोलिपल्ट हरिशरणले ‘लास यत्तिकै नराखौँ, छोरीहरूले दागबत्ती दिँदै गर्छन्’ भन्दा ‘कोराचाहिँ तिम्रा बुढा ससुरा आएर बस्छन् ?’ भन्दै पुरेतले अड्को थापे ।
दोस्रो दिन पनि लासलाई घाटसम्म पुर्याउने स्थिति अनुकूल बनिदिएन । गाउँलेहरू आपसमै कुरा काट्न थाले ।
“दिने बेलामा आँखा नहेरी सबै सम्पत्ति खुसुखुसु छोरीहरूलाई दिए, अनि काँबाट हेर्छन् त बाबुसाहेबहरूले ! त्यो प्रभे पातर्नी कम कि छे ? त्यही भएर अस्ति स्वाङ पार्न अरूभन्दा पहिला मुन्टेकी,” बिर्खेकी स्वास्नीले सबै कुरा आफैँले देखेझँै पँधेरोमा गौँथलीसँग खोकी ।
खत्रीनी बुढीले बिर्खेकी स्वास्नीको कुरा बीचमै काटिन्, “भोभो, धेरै नखोक्, छोराबुहारी पनि सक्नुका छन् र ! छोरा बज्याहरूलाई स्वास्नीको पाद सुँघ्दैमा फुर्सद छैन ! बुहारीहरूलाई नखरा देखाउँदैमा ठिक्क छ, ससुरो मरोस् कि बाँचोस् के मतलब ! उनीहरूका बाउ मरेको भए पो ! आ, छोरा बज्याबाट सुख पाउनु त उही हो, बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधैमाथि !”
बिर्खेकी स्वास्नीलाई कुरा काटेको मन परेन । “पिण्ड खाने बेला भइसक्यो, बुढी खुब पण्डितनी बन्छे ! सबै कुरा उसैलाई थाहा भएजस्तो,” ऊ नाक बंग्याउँदै गाग्री बोकेर बाटो लागी ।
बिस्तारै तेह्रदिने सहोदर दाजुभाइ भेला हुन थाले । तर, सद्गत र किरियाको विषयमा कसैको मुख मिलेन ।
तेस्रो दिन लास कुहिएर गनाउन थाल्यो । पिठिउँतिर नीलानीला धब्बाहरू देखापरे । तर, कुनै छोरा पनि फर्केनन् । न त कुनै खबर नै आयो ।
अब के गर्ने ? कसैसँग केही उपाय थिएन । हरिशरणले ‘तपार्इंहरू चुप लागेर बसेर भएन, अघि सर्नुपर्यो’ भन्दै तेह्रदिने दाजुभाइलाई घचघचाइरहे । तर, समय हानथापमै गुज्रियो ।
बाहिर कुरुवा बसेकाहरूको कल्याङमल्याङ कम भएन ।
यता बुबाको मृत शरीरनिर झोक्रिएर बसेकी प्रभाको मनमा कुरा खेल्न थाले, ‘मैले मेरो बुबाको काजकिरिया गर्न किन नपाउने हँ ? एउटै कोखबाट जन्मिएका दाजुभाइले पाउने, फेरि त्यही कोखबाट जन्मिएका छोरीहरूचाहिँ परचक्री गनिने ? यो कहाँको न्याय हो ! ममा पनि त्यही बाबुआमाको प्राण छ, जुन दाजुभाइमा छ । ममा पनि त्यही बाबुआमाको कोषिकामा बग्ने रगत बगेको छ, जुन तिनीहरूको शरीरमा बगेको छ । छोराछोरी दुवैले एउटै लाम्टो चुसेका हौँ । दुवैमा त्यही बाबुआमाले दिएको एउटै श्वास दौडिएको छ ।
त्यसो भए कन्यादान, गोत्र परिवर्तन – योचाहिँ के गर्छेस् ?
यो त यो पक्षपाती समाजको देन हो, ताकि छोरीहरूले आफ्ना बुबाआमाको सेवा गर्न नपाऊन् । मलाई प्रकृतिले नै परचक्री बनाएको भए पो एउटा कुरो हुन्थ्यो । जुन बुबाले मेरा लागि आफ्नो जीवन समर्पण गरे, उनको अन्त्येष्टि मैले चाहेर पनि गर्न नपाउनु ?’
प्रभाको रगत उम्लिएर आयो । जुरुक्क उठेर कड्किइन्, “मलाई जिन्दगीभर आफ्नो हृदयमा बसालेका मेरा बुबाको किरिया म गर्छु । म दिन्छु मेरा बालाई दागबत्ती ।”
उनको बोली कोठाका भित्तामा ठोक्किएर यताउति गर्न थाल्यो । बाहिर हल्ला गरिरहेकाहरु सब चुप भए । पुरेतदेखि लिएर तेह्रदिने दाजुभाइ कसैले पनि चुइँक्क एक शब्द निकालेनन् ।
मृत शरीरलाई घाटमा पुर्याइयो । गाउँलेहरूले मिलेर चिता बनाए । बुढाको मृत शरीरलाई चितामा राखियो । हरिशरणले तीनै छोरीको कपाल गंगामा खौरिदिए । पुरेत बाजेले मन्त्र पढे ।
कान्छी छोरी प्रभाले तीनफेर घुमेर बुढाको मुखमा बत्ती राखिदिइन् । हेर्दाहेर्दै बुढाको शरीर यो पापी संसारबाट विलुप्त भयो ।