
काठमाडौं । इरानमा आक्रमण मिसनमा संलग्न इजरायली युद्धक विमानले त्यहाँ प्रयोग नभएको र बाँकी रहेका बम तथा मिसाइल गाजामा खसालेपछि अवतरण गर्ने गरेको द टेलिग्राफले खुलासा गरेको छ ।
इरानमा आक्रमण अभियानको सुरुआती समयमा इजरायल फर्कने पाइलटले बाँकी रहेका हतियार (बम र मिसाइल) हमासविरुद्ध प्रयोग गर्न प्रस्ताव गरेका र आईडीएफ ग्राउन्ड कमान्डरबाट त्यो निर्णय स्वीकार गरिएको सैन्य स्रोतले पुष्टि गरेको द टेलिग्राफले जनाएको छ ।
प्रस्तावपश्चात् इजरायली वायुसेनाका कमान्डर मेजर जनरल टोमर बारले इरानमा आक्रमण गरेर बाँकी रहेका हतियारको व्यापक प्रयोग गर्न आदेश दिएका जनाइएको छ ।
त्यसपछि इरानमा आक्रमण गरेर फर्किएका इजरायली युद्धक विमानले त्यहाँ प्रयोग नभएको बम र मिसाइल गाजामा खसालेका थिए । विश्वको ध्यान इरानसँगको युद्धमा भएका बेला इजरायलले एक तीरबाट दुई सिकार गरेको जनाइएको छ ।
तर, सुरुआती केही आक्रमणबाहेक यस्ता सबै हमला उचित रूपमा योजनाबद्ध र वैधानिक लक्ष्यमा सञ्चालित नभएको जनाइएको छ ।
इरानविरुद्ध ‘अपरेसन राइजिङ लायन’ सञ्चालन गरिएको जुन १४ देखि २४ सम्मको अवधिमा अन्तर्राष्ट्रिय ध्यान त्यसतर्फ केन्द्रित थियो । त्यही बेला गाजामा विशेष गरी सहायता वितरण केन्द्रनजिक धेरै गोलाबारीका कारण अत्यन्त रक्तपातपूर्ण अवस्था थियो ।
त्यति बेला हवाई आक्रमणबाट गाजामा कति मानिस मारिए भन्ने स्पष्ट छैन । समग्रमा सयौँको संख्यामा नागरिकको मृत्यु भएको थियो ।
जुन १८ मा गाजाको मगाजी शरणार्थी शिविरमा आईडीएफको हवाई आक्रमणबाट एक महिला र उनका सन्तानसहित १० जनाको मृत्यु भएको वाफा समाचार एजेन्सीले जनाएको छ ।
सोही दिन खान युनिसस्थित अल–अत्तरको टेन्ट क्षेत्रमा गरिएको आक्रमणमा पाँचजनाको मृत्यु भएको एजेन्सीले जनाएको छ ।