site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सांघाईबाट टोकियो उडेको विमान २६ हजार फिट तल झर्दा डराएकी यात्रुले लेखिन् बिदाइपत्र

काठमाडौं । सांघाईबाट टोकियो जाँदै गरेको जापानको स्प्रिङ एयरलाइन्सको यात्रा सोमबार यात्रुहरूका लागि डरलाग्दो बन्यो । केबिनको हावाको चापमा सम्भावित खराबीका कारण बोइङ ७३७–८०० विमान तीव्र रूपमा करिब २६ हजार फिट (११ हजार मिटरबाट तीन हजार मिटर) तल झरेपछि अक्सिजन मास्क खुल्यो र हावामा आत्तिएका दृश्यहरू देखिए । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार, उडान टोकियो नारिता विमानस्थलका लागि थियो । जापानको भूमि, पूर्वाधार, यातायात र पर्यटन मन्त्रालयका अनुसार चालक दलले हावाको चापसम्बन्धी चेतावनी पाएपछि आपतकाल घोषणा गरे  । र, विमान १० मिनेटभन्दा कम समयमा तल झर्‍यो । उडान डेटाले विमान केही मिनेटमै करिब आठ हजार मिटर तल झरेको पुष्टि गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विमानले ओसाकाको कन्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गर्‍यो । यात्रुहरूलाई एक घण्टाभन्दा बढी विमानभित्रै बस्न बाध्य पारिएको थियो । १९१ यात्रु र चालक दलका सदस्यहरू शारीरिक रूपमा घाइते नभए पनि उनीहरू डराएको थिए । 

द स्ट्यान्डर्डका अनुसार, वाङ नामकी एक यात्रुले अक्सिजन मास्क झरेपछि विमानभित्र डरलाग्दो मौनता छाएको र चालक दलका सदस्यहरूको आँखाको डिलमा आँसु देख्दा आफूलाई मृत्युनजिक पुगेको अनुभव भएको बताइन् । 

अर्की यात्रुले विमान तल झर्दा आफ्ना श्रीमानलाई बिदाइ पत्र लेखेको बताइन् । धेरैले सामाजिक सञ्जालमा आफ्नो डर र निराशा व्यक्त गरेका थिए ।

स्प्रिङ एयरलाइन्स जापानले प्रत्येक यात्रुलाई १५ हजार येन क्षतिपूर्ति प्रस्ताव गरेको छ ।
 
यो घटनाले बोइङ ७३७ श्रृंखलाको सुरक्षासम्बन्धी चिन्तालाई फेरि उजागर गरेको छ । सन् २००० यता विश्वभर कम्तीमा यो मोडलका १२ बिमान दुर्घटना भएको बताइएको छ । सन् २०२२ मा चाइना इस्टर्न एयरलाइन्सको यू ५७३५ विमान र सन् २०२४ मा दक्षिण कोरियाको जेजु एयर दुर्घटना भएका थिए । हिन्दुस्तान टाइम्स 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्