
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले गाजामा युद्धविराम प्रस्तावको लागि वार्ता गर्न कतारको राजधानी दोहामा आइतबार एक वार्ता टोली पठाउने योजना घोषणा गरेको छ ।
यो घोषणा इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रमा बमबारी जारी राख्दा भएको हो । बमबारीका कारण विगत २४ घण्टामा कम्तिमा ७८ जनाको ज्यान लिएको अलजजिराले जनाएको छ ।
नेतन्याहुको कार्यालयले इजरायली नेताले वार्ताकारहरूलाई वार्ताको निम्तो स्वीकार गर्न निर्देशन दिएपछि टोली दोहा जान बताएको छ ।
“हमासले कतारी प्रस्तावमा परिवर्तन गर्न माग गरेको कुरा हिजो राति हामीलाई प्राप्त भएको छ र ती इजरायललाई स्वीकार्य छैन,” विज्ञप्तिमा भनिएको छ ।
परिवर्तनका लागि के–के विषय माग गरिएको थियो भन्ने बारेमा विस्तृत जानकारी दिइएको छैन । यो घोषणा हमासले शुक्रबार अमेरिका–मध्यस्थताको प्रस्तावप्रति सकारात्मक भनेर जवाफ दिएको बताएपछि आएको हो ।
इजरायल गाजा युद्ध सन् २०२३ को अक्टोबरमा सुरु भएकोमा अहिलेसम्म कम्तीमा ५७ हजार ३३८ प्यालेस्टिनीहरू मारिएका र कम्तीमा एक लाख ३५ हजार ९५७ जना घाइते भएका बताइएको छ ।
इजरायली आक्रमणले गाजालाई ध्वस्त बनाएको र यसले गम्भीर मानवीय संकट निम्त्याएको छ । हमासले कुनै पनि युद्धविराम सम्झौतामा इजरायलले गाजामाथिको युद्ध स्थायी रूपमा अन्त्य गर्ने ग्यारेन्टी हुनुपर्ने अडान राखेको छ ।
प्यालेस्टिनी समूहले शुक्रबार नयाँ युद्धविराम ढाँचालाई कार्यान्वयन गर्ने संयन्त्रमा तुरुन्तै नयाँ चरणको वार्तामा प्रवेश गर्न पूर्ण रूपमा तयार भएको र गम्भीरतापूर्वक तयारी गरेको बताएको छ ।