site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
देउवाले सम्झिए सम्बन्ध– गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन् । स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा शनिबार (असार २१) काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देउवाले कोइराला र आफूबीचमा झगडा पनि भएको स्मरण गरे । पार्टीबाट आफूलाई निकालिएको उनले बताए । त्यसपछि नयाँ पार्टी खोलेको पनि उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीबाट निकालेपश्चात् र प्रधानमन्त्रीबाट बर्खास्त गरेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्र शाह एउटै हुन् भन्ने गरेको उनले बताए ।

उनले स्व. कोइराला ‘लडाकु’ व्यक्ति भएको टिप्पणी गरे । गणतन्त्र ल्याउने पहिलो श्रेय कोइरालालाई जानेमा उनले जोड दिए ।

कार्यक्रममा देउवाको भनाइ पढ्नोस्–
स्व. गिरिजाबाबु र मेरोबीचमा झगडा पनि भएकै हो, सबैलाई थाहा छ । उहाँले पार्टीबाट निकालिदिनुभयो । मैले अर्को पार्टी खोलेँ फेरि । त्यसकारण अनि मैले एकपटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ । एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो । राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो । शाही आयोग मान्दै मान्दिनँ भनेर मैले बढो डेन्जरले भनेँ । मुद्दा हाले पनि सर्वोच्चबाट जितिहालेँ म । थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु । पार्टीमा एक भएर काम गर्‍यौँ । गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो । उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन । त्यस्तो आँटिलो व्यक्ति हो । हिम्मतिलो व्यक्ति हो । गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए । उहाँले हिम्मत गर्नुभएकै हो । अरू पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधानसभाबाट संविधान बनेन, तर गणतन्त्र पहिलो संविधानसभाको पहिलो दिनमै पास भयो । गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय । उहाँले गणतन्त्र ल्याउनुभएको हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्