site stats
बाह्रखरी :: Baahrakhari
देश
के मनसुन निष्क्रिय हुँदै छ ?
फाइल तस्बिर ।

काठमाडौं । केही दिनयता देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । भारी/धेरै भारीसम्म वर्षा मापन गरिएको छ । देशभर एकै किसिमको पानी भने परेको छैन ।

मनसुनी वायु भित्रिएको एक महिना बितिसक्दा कतिपय स्थानमा सुक्खाजस्तो न्यून वर्षा भएको छ । कतै भेलबाढी निम्तिइसकेको छ । मधेस प्रदेशमा मनसुनजस्तो आभास छैन ।

अझै केही दिन मनसुनको अवस्था तत्कालकै जस्तो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “मनसुन तत्काल अत्यधिक सक्रिय नहुने र निष्क्रिय पनि नहुनेजस्तो देखिन्छ,” महाशाखाका मौसमविद् डेविड ढकालले बाह्रखरीसित भने, “हिजोअस्तिकै जस्तो हुने अवस्था छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अर्थात्, देशभर सुक्खा भइहाल्ने स्थिति नरहेको उनले बताए । ठाउँअनुसार वर्षाको मात्रामा भने फरक पर्ने उनले स्पष्ट पारे । “हामीले हेर्दा त सुक्खा हुनेजस्तो देखिँदैन,” उनले भने, “बरु, केही भूभागमा भारी वर्षाको सम्भावना पो देखिन्छ ।”

आउँदो सोमबार (असार २३)सम्मको पूर्वानुमानमा कोसी, मधेस र वाग्मती प्रदेशको तुलनामा पश्चिम नेपालका धेरै स्थानमा भारीसम्म वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । “कोसी, वाग्मतीभन्दा पश्चिम नेपालमा भारी वर्षाको सम्भावना बढी छ । भारी वर्षाको सम्भावना रातिको समयमा बढी हो,” उनले भने, “कोसीतिर पनि नभएको होइन, सम्भावना एक/दुई ठाउँमा मात्र छ ।”

समग्र देशमा तत्काल सुक्खा नहुने भए पानी धेरै पर्ने सम्भावना छ त ? मौसमविद् ढकालले भने, “मोडेलहरू चाँडै अपडेट भइरहेको छ । त्यसैले यस्तै हुन्छ भन्न कठिन हुन्छ । हरेक दिनजसो अपडेट भइरहनुपर्ने हुन्छ ।”

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने अब केही दिन देशमा भारी वर्षाको सम्भावना नरहेको जनाएका छन् ।

“मनसुन ट्रफ नेपालबाट टाढा रहेको र आगामी धेरै दिनसम्म पनि नेपालनजिक नआउने भएकोले नेपालमा भारी वर्षाको सम्भावना देखिँदैन,” उनले शुक्रबार (असार २०) बेलुका सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले मधेस र कोसी प्रदेशमा आउँदो साता पनि औसतभन्दा कम वर्षाको सम्भावना औँल्याएका छन् । “यसको कारणले मधेस र कोसीमा वर्षा एकदमै कम भएको र आगामी हप्ता पनि औसतभन्दा कम वर्षा हुने देखिन्छ,” उनले भनेका छन् ।

यो अवधिमा अरू प्रदेशमा भने सामान्य वर्षा हुने सम्भावना उनले उल्लेख गरेका छन् ।

पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले आइतबार (असार २२)सम्म मनसुन केही सुस्ताउने जनाएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमा उनले यो अवधिमा ठूलो वर्षा नहुने र खण्डवृष्टि (सानो भौगोलिक क्षेत्रमा मात्रै वर्षा) हुने उल्लेख गरेका छन् ।

“यसको अर्थ वर्षा नै नहुने हैन । तराईमा वर्षा हुन गाह्रो पर्ला, तर काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा रातको समयमा हल्का वर्षा त पक्कै होला,” उनले लेखेका छन् ।

आइतबार साँझ गण्डकी प्रदेश क्षेत्र र वरिपरि भारी वर्षाको सम्भावना उनले औँल्याएका छन् । “मंगलबारदेखि पुनः मनसुन सक्रिय हुने सम्भावना छ,” उनले लेखेका छन् ।

नेपालमा सामान्यतः अंग्रेजी क्यालेन्डरका जुन, जुलाई, अगस्ट र सेप्टेम्बरका चार महिना मनसुन अवधि हो । यो वर्ष मनसुन सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् जेठ १५ गते राति नेपाल भित्रिएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  २१:०३
प्रतिक्रिया दिनुहोस्