site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

Chovar-galchi1-1751627785.jpg
काठमाडौंका नदी किनाराका बस्तीमा डुबानको समस्या बढ्दै गएपछि दोष चोभारको गल्छीमाथि थोपर्ने सजिलो उपाय फेला पारियो । नदीका किनार मिचेर बस्ती बसाउनेहरूले गर्न सक्ने पनि यही थियो ।

केही वर्ष यता उपत्यकाका नदीहरूमा बाढीको प्रकोप बढेको छ । यद्यपि काठमाडौं उपत्यकाको वार्षिक औसत वर्षामा भने खासै घटबढ भएको देखिँदैन । अर्थात्, बाढीले गरेको विनाश यहीँका बासिन्दाले निम्त्याएका हुन् ।

एकातिर नदीका किनारामा रहेका जमिन मिचेर बस्ती बसाइयो भने अर्कातिर वर्षाको पानी जमिनले सोस्न पाएन बगेर नदीहरूमा मिसियो । नदीमा पानीको मात्रा थपियो तर बग्ने ठाउँ साँगुरियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साँगुरो ठाउँमा धेरै पानी बग्न परेपछि त्यसको बेग त बढ्ने नै भयो । नदीमा आएको भेलले नजिक परेका घरलगायतका भौतिक संरचना बगाउनु पनि अस्वाभाविक भएन । 

त्यसको कारण खोज्ने क्रमममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले  ‘चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेको’ ठहर गर्‍यो । साथै, ‘समस्या दोहोरिन नदिन आवश्यकतानुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न’ सरकारलाई निर्देशन दिइयो । 

यो निर्णय चोभारको गल्छीमा रहेको चट्टान फोरेर फराकिलो बनाउन खोजिएको समाचारका रूपमा जनतासम्म पुग्यो । फलस्वरूप एउटा पुलमा समुदायले तुल राखेर लेखेका छन्  ( ‘खबरदार १ ऐतिहासिक तथा धार्मिक महत्त्व भएको नेपाल मण्डल सभ्यताको अस्तित्व बोकेको न्हुछिकाप मञ्जुश्री गल्छी कुनै बहानामा एक मुठी बालुवा पनि छुन पाउँदैन होसियार’ ।   

मूलतः घटनालाई अतिरञ्जित गरेर सामाजिक सञ्जालमा प्रस्तुत गर्ने र त्यसैलाई आधिकारी सूचना ठानेर कानै नछामी कागको पछि लाग्ने सामाजिक प्रवृत्तिका कारण स्थानीय जनताले चोभारको गल्छी भत्काउनै खोजेको ठाने । अन्ततः सहरी विकास मन्त्रालयले ‘गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिकरूपमा रहेका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य नरहेको’ स्पष्टीकरण दिनुपर्‍यो । 

जेहोस्, यस प्रकरणले समाज र सरकार दुवैलाई ‘भुइँफुट्टा’को भरपर्नु कति घातक हुन्छ भन्ने सिकाएको हुनुपर्छ । चोभारको गल्छीसम्बन्धमा कुनै निर्णय गर्नुपूर्व त्यससँग जोडिएको जनभावना बुझेर त्यसको सम्मान गरेको भए यस्तो अवस्था आउने रहेनछ ।  अर्को, भरपर्दो स्रोतको सूचनाबाहेक अरूको समाचार पत्याउन नहुने रहेछ भन्ने पनि यस प्रकरणमा देखिएको छ ।

सरकारी विज्ञ र विशेषज्ञहरूले नेपालको भूबनोटको ख्यालै नगरी सिफारिस गर्ने ‘झिल्के विकास’ विनाशको पर्याय बन्ने गरेको छ । पहाडी भेगका खहरे खोलाहरूमा धमाधम गरिएका ‘तटबन्ध’ कहिल्यै नसकिने समस्या बन्दै गए पनि सबै तहका सरकार त्यसमै रमाइरहेका छन् ।  

चोभारका चट्टानहरू विस्फोट गरेर फुटाए त्यसको असर के हुन्थ्यो रु विस्तृत भौगर्भिक अध्ययनविना त त्यहाँ जमेर रहेका भौगर्भिक सामग्री चलाउने चेष्टा पनि गर्नु हुँदैन । त्यसपछि स्थानीय जनसमुदायलाई कुनै पक्ष पनि नलुकाई यथार्थ तथा सम्पूर्ण सूचना दिनुपर्छ ।  

चोभार गल्छीका चट्टानलाई विस्फोट वा अरू कुनै उपायबाट खलबल्याउन खोज्नु सम्भवतः आत्मघाती हुनेछ । यस्तै, नदीको साँध मिच्न छाडेर किनाराको संरक्षण नगर्ने हो भने विनाशकारी बाढी काठमाडौं उपत्यकाको नियमित नियति बन्नेछ । 

नदीको जमिनमा बस्ती बसाउने र नदीलाई तह लगाउन खोज्ने गल्ती संसारका धेरै ठाउँमा आत्मघाती सिद्ध भइसकेको छ । नेपालमा भने त्यही गल्ती दोहोरिइरहेको छ । अब रोकिनुपर्छ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्