
काठमाडौं । जलविद्युतमा निजी क्षेत्रले ठूलो लगानी गरिरहेको छ । निजी लगानीमा अहिलेसम्म झन्डै तीन हजार मेगावाट बिजुली उत्पादन भइसकेको छ । सेयर बजारमा बजार पुँजीकरणको हिसावले जलविद्युत् क्षेत्र १५.५ प्रतिशत हिस्सासहित दोस्रो स्थानमा छ ।
जलविद्युतमा जस्तै अहिले निजी क्षेत्रले एक खर्ब रुपैयाँ भन्दा बढी रिसोर्टसहित केबलकार पूर्वाधारमा लगानी बढाइरहेका छन् । निजी लगानीमा देशभरि धमाधम केबुलकार निर्माण हुन थालेको छ । नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, पहाडहरुमा अहिले केबलकार निर्माणको लहर नै आएको छ । केबलकारमा पनि बैंकहरुले लगानी गरिरहेका छन् ।
चितवन को–ई समूहले मनकामना केबलकार बनाएको दुई दशकपछि निजी क्षेत्र आक्रामक भएर यसमा लगानी बढाएको हो । मुलुकको पूर्वदेखि पश्चिमसम्म जलविद्युत जस्तै केबलकार पूर्वाधार निर्माण भइरहेका छन् ।
मनकामना केबलकारले मनकामनामा रिसोर्ट सञ्चालनमा ल्याइकेको छ भने पोखरामा अर्को केबलकार बनाइरहेको छ ।
केबुलकार मात्र हैन अहिले तल्लो स्टेशन र माथिलो स्टेशनमा पाँचतारे स्तरका रिसोर्टहरु बन्न थालेका छन् । हाल धार्मिक एवंम प्राकृतिक स्थलमा पर्यटक आकर्षित गर्न रिसोर्टसहितको केबलकार निर्माणले तीव्रता पाएको छ ।
अहिलेसम्म पहिचान भएका १५ मध्ये आठ केबुलकार सञ्चालनमा आइसकेका छन् भने केही निर्माणधीन र केही निर्माणका तयारीमा रहेका छन् ।
सञ्चालनमा आइसकेका, निमाणाधीन र निर्माणको तयारीको चरणमा रहेका गरी १५ केबलकारमा मात्र हालसम्म एक खर्ब चार अर्ब रुपैयाँ लगानी हुने सम्बद्ध केबलकार कम्पनीहरूले दिएको लगानी तथ्यांकले देखाएको छ ।
अहिलेसम्म मनकामना, चन्द्रागिरी, कालिञ्चोक, अन्नपूर्ण, मौलाकाली, लुम्बिनी, बन्दीपुर र सिद्धार्थ केबलकार सञ्चालनमा छन् । यस्तै जल्पादेवी, पुम्दिकोट महादेव, चम्पादेवी, पाथीभरा, सिकलेस, छिम्केश्वरी, र विश्वकै लामो मुक्तिनाथ केबलकार निर्माणको तयारीमा रहेको छ ।
नेपालमा विश्वकै लामो मुक्तिनाथ केबुलकार बन्दै छ । मुक्तिनाथ केबुलकार ८० किलोमिटर लामो छ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबलकार बनाउन ५८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । लगानी बोर्डले केबलकार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरी विकासकर्ता कम्पनीसँग वार्ता सुरु गरेको छ ।
मुक्तिनाथको कूल लागतको ८० प्रतिशत अर्थात् ४४ अर्ब के एन्ड आर इन्जिनियरिङ भारतले लगानी गर्नेछ । बाँकी प्राथमिक सेयरबाट लगानी जुटाउने तयारी कम्पनीको छ । चितवन कोई र अग्नि ग्रुपको एक अर्ब ६० करोड ४० लाख रुपैयाँ लगानीमा पुम्दिकोट महादेव केबलकार सञ्चालन हुँदैछ ।
केबलकार पूर्वाधार बनाउन ८० प्रतिशत बैंकको लगानी र बाँकी २० प्रतिशत स्वपुँजी (इक्विटी) हुनेगरी लगानी संरचना बनाइएको छ । केबलकारको लम्बाइ १.१ किलोमिटर रहेको छ । प्रतिकिलोमिटर लागत एक अर्ब ४५ करोड रुपैयाँ पर्ने देखिएको कम्पनीले जनाएको छ ।
विकासकर्ता कम्पनी पुम्दीकोट महादेवले आगामी वर्ष आगामी साउनसम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ । केबलकार परियोजना पोखरा महानगरपालिकाको पुम्दीकोटलाई ध्यानमा राखेर विकास गरिँदैछ । अहिलेसम्म आइएमई ग्रुपले मात्रै तीन केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
आइएमईले काठमाडौं चन्द्रागिरिमा रिसोर्टसहितको केबुलकार सञ्चालन गरिरहेको छ । चन्द्रागिरि केबुलकारमा तीन अर्ब रुपैयाँ लगानी भएको छ । आइएमईकै लगानीमा गैंडाकोटको मौलाकाली मन्दिरसम्म पुग्न मौलाकाली केबुलकार सञ्चालनमा आइसकेको छ ।
यस्तै बुटवलबाट पाल्पा वसन्तपुर कामाख्या देवी मन्दिरसम्म पुग्न लुम्बिनी केबुलकार सञ्चालनमा आइसकेको छ । त्यहाँ पाँचतारे स्तरको होटलको निर्माण भइरहेको छ । मौलाकालीमा दुई अर्ब र बुटवल–पाल्पा वसन्तपुरको लुम्बिनी केबुलकारमा पाँच अर्ब रुपैयाँ लगानी भएको छ ।
आइएमई ग्रुपले मात्रै तीनवटा केबलकार बनाउन १० अर्ब रुपैयाँ लगानी गरिसकेको छ । ग्रुपले ताप्लेजुङ पाथीभरामा पनि केबलकार बनाउने तयारी गरेको छ । पाथीभरा केबलकार बनाउन तीन अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
सञ्चालनमा आइसकेकामध्ये मुलुककै पहिलो केबुलकार मनकामना केबुलकारमा एक अर्ब ५८ करोड रुपैयाँ लगानी भएको छ । दोलखामा कालिञ्चोक केबुलकार सञ्चालनमा छ । कालिञ्चोकमा केबुलकार ४५ करोड रुपैयाँ लगानी भएको छ ।
यस्तै पाँचतारे होटलसहितको बन्दीपुर केबलकारमा तीन अर्ब रुपैयाँ लगानी भएको छ । बन्दीपुर केबुलकार सञ्चालनमा आएको छ । होटलको काम जारी छ । बन्दीपुर केबुलकारले सिसाको स्काइ ब्रिज पनि बनाउँदै छ । यसमा एक अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ ।
बन्दीपुरका लगानीकर्ताले पाँच अर्ब रुपैयाँ लगानीमा तनहुँमा छिम्केश्वरी केबलकार बनाउने तयारी गरिरहेको छ । बुटबलमा सञ्चालनमा रहेको सिद्धार्थ केबुलकारमा एक अर्ब रुपैयाँ लगानी हुने भएको सिद्धार्थ केबलकार लिमिटेडले जनाएको छ ।
सिद्धार्थ केबलकार परियोजना बनाउन एक अर्ब तीन करोड ३० लाख रुपैयाँ खर्च भएको छ । जसमा ५३ करोड रुपैयाँ बैंकको ऋण र बाँकी ५० करोड ३० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी भएको छ । ५१ प्रतिशत ऋण र बाँकी ४९ प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।
बुटवल उपमहानगरपालिकाको वडा नम्बर १ र २ स्थित देउरालीडाँडामा केबुलकारको प्रस्थान बिन्दु रहेको छ । कूल १.९४ किलोमिटर लम्बाइको यो केबुलकार पाल्पाको नुवाकोटसम्म पुगेको छ । तीमध्ये आइएमईले कैलालीको लम्कीचुहा–मोहन्यालमा पाँच अर्ब रुपैयाँ लगानीमा जालपादेवी केबुलकार बनाइरहेको छ ।
कास्कीको मादी गाउँपालिका सिकलेसमा ८ अर्ब रुपैयाँ लगानीमा केबुलकार बन्ने भएको छ । काठमाडौंको चाल्नाखेलदेखि चम्पादेवीमा ६ अर्ब रुपैयाँमा दोस्रो केबलकार बन्ने भएको छ । चम्पादेवीमा विशाल र त्रिवेणी ग्रुपको लगानी रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले ६ प्रदेशमा केबलकार बनाउने घोषणा गरी सोही घोषणाअनुसार उनले धमाधम निर्माणको काम अघि बढाइरहेका छन् ।
केबलकार सञ्चालन भएको ठाउँमा होटल तथा रिसोर्ट निर्माण हुनुका साथै सडक, बिजुली, खानेपानीलगायत सुविधामा विस्तार, विकट ठाउँमा रहेका मठमन्दिरको संरक्षण, सहज पहुँच हुन गई धार्मिक, पर्यावरण, साहसिक तथा मनोरञ्जनात्मक पर्यटन विस्तारमा थप टेवा पुगिरहेको अध्यक्ष ढकाल बताउँछन् ।
उनका अनुसार केबुलकार सञ्चालनपछि नयाँ पर्यटकीय पूर्वाधार बनेको छ ।