site stats
बाह्रखरी :: Baahrakhari
देश
भोजपुरमा ज्वाइँले ससुराली पुगेर गरे श्रीमतीसहित चारजनाको हत्या

काठमाडौं । भोजपुरमा एकै परिवारका चारजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले सासु ससुरासहित चारजनाको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार बेलबहादुर गिरी, मञ्जु गिरी, मनिषा गिरी र सपन गिरीको हत्या भएको छ। ज्वाइँ राजेन्द्र राईले उनीहरुको सामूहिक हत्या गरेको प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजेन्द्रले परिवारका चार जनाको हत्या गरेपछि आफैँले प्रहरीलाई फोन गरेका थिए । मनिषा राजेन्द्रकी श्रीमती र सपन सालो भएको प्रहरीले जानकारी गराएको छ । सासु, ससुरा, श्रीमती र सालोको हत्यामा संलग्न राईलाई भने प्रहरीले घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । उनको पेटमा पनि धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ ।

कोसी प्रदेश प्रमुख डीआईजी ईश्वर कार्कीका अनुसार ससुराली गएका ज्वाइँले चारैजनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राईले आफू सुतिरहेको बेलामा छुरीले हानेर आफ्नो हत्या प्रयास भएपछि त्यही हतियारले सबैको हत्या गरेको बयान दिएका छन् ।

उनी पनि घाइते अवस्थामा रहेकाले धेरै खुल्न बाँकी रहेको कार्कीले जानकारी दिए । प्रारम्भिक अवस्था हेर्दा भर्खरै विहे भएको र माइतीमा रहेकी श्रीमती लिन जाँदा विवाद भएको पाइएको छ ।

“म सुतिरहेको बेलामा मलाई छुरी हाने, त्यही खोसेर मैले हानेँ भनेर राईले प्रारम्भिक बयान दिएका छन्, उनी पनि घाइते अवस्थामा भेटिएका हुन् । अहिले उनको पनि उपचार जारी छ,” कार्कीले बाह्रखरीसँग भने ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्