site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चन्द्रबहादुरको ‘चन्द्रघण्टा’ आतङ्क

सामान्यतः प्रशासकहरू राजनीतिज्ञहरूजस्तो इतिहासका पात्र हुँदैनन् । राजनीति गर्नेहरू भने नायक वा खलनायकका रूपमा इतिहासका पानामा अटाउने गर्दछन् । रुखो र निरस प्रशासन चलाउनेहरू त्यसै पनि जनप्रिय हुँदैनन् र उनीहरूका राम्रा कामको जस नेताहरूले लिने गर्दछन् । तर अपवादको रूपमा नेपालमा केही औँलामा गन्न सकिने प्रशासकहरूको नाम सदैव आदरपूर्वक लिने गरिन्छ । चन्द्रबहादुर थापा यस्तै अपवाद हुन् । उनको सैनिक र प्रहरी जीवनदेखि नेपालको प्रशासनिक नेतृत्वको बखान स्वयम् उनका विरोध गर्नेहरू समेतले गर्ने गर्दछन् । उनको जागीरे जीवनका घटनाक्रमहरू कुनै किंवदन्ती र दन्त्य कथाझैँ रोमाञ्चक लाग्दछन् । 

राणाकालमा कर्नेल रहेका उनी राणा विरोधी राजनीतिलाई निर्मम ढङ्गले दबाउने कठोर सैनिकका रूपमा चिनिन्थे । सिंहदरबारको पुतली बगैँचामा गणेशमान सिंहलगायतका क्रान्तिकारीहरूलाई असह्य यातना दिने काम यिनैले गर्दथे रे ! प्रजातन्त्रको आगमनसँगै यिनै कडा कर्नेलको ‘जर्नेल’मा बढुवा भयो । त्यसपछि वन तथा मालपोत विभागको डाइरेक्टर, भ्रष्टाचार निवारण कार्यालयको प्रमुख, नेपालको पहिलो मुख्य सचिव र पहिलो महालेखापरीक्षक भए । विभिन्न भूमिका निर्वाह गरेका उनी प्रशासनिक समाजमा आफ्ना सम्झन लायक काम र लोकोक्तिका कारण प्रख्यात छन् ।

नेपालमा प्रजातन्त्रको स्थापनापछि बनेको संयुक्त सरकारमा विश्वेश्वरप्रसाद कोइराला गृह मन्त्री भए । उनलाई यिनै चन्द्रबहादुरले पक्राउ गरेर केरकार गरेका थिए । यस सन्दर्भलाई कोइरालाले ‘आत्मवृत्तान्त’मा लेखेका छन्, “राणाकालमा सङ्घर्षरत हुँदा थापाका सुरक्षाकर्मीले पक्राउ गरे । त्यसपछि ठाडो शैलीमा चन्द्रबहादुरले सोधे— तिमी को हौ ? जवाफ मिल्यो— म विश्वेश्वरप्रसाद कोइराला !”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चन्द्रबहादुरको ठाडो टिप्पणी आयो, “चिन्हाउने मान्छे छन्, चिन्हौँला !”(कोइराला, विश्वेश्वरप्रसाद – आत्मवृत्तान्त, जगदम्बा प्रकाशन, २०५५) 

आफूप्रति यस्तो कठोर व्यवहार गर्नेलाई बदला लिनुको बदला कोइरालाले उल्टो ‘जर्नेल’मा बढुवा गरिदिए । यसलाई लिएर काँग्रेसकै नेताहरूले विरोध गरेका थिए । गणेशमान सिंहले त ठाडै कोइरालासामु असन्तुष्टि व्यक्त गरेका थिए भनिन्छ । जवाफमा कोइरालाले “उहाँ राणाजस्तो निरङ्कुश नभएर एउटा इमानदार र कर्तव्यनिष्ठ व्यक्ति हो, यसकारण हामीलाई उहाँजस्तो व्यक्तिको खाँचो हुन्छ ।” कोइरालाको यस निर्णयबाट स्वयम् चन्द्रबहादुर थापा पनि आश्चर्यमा परेका थिए । 

उनले त्यस बेला एउटा लेखमा “मैले प्रशासनयन्त्रको भालाको तिखो टुप्पो बनेर उपत्यकामा काँग्रेसी आन्दोलन दबाउन कोसिस गरेको थिएँ । काँग्रेसीहरू सत्तामा आएपछि अवश्यमेव मलाई सियोले घोचेर मार्नेछन् भनी जनता भन्दथे । यसको उल्टो काँग्रेसी सरकारले मेरो कदर गर्‍यो ।” त्यतिमात्र होइन, राजा त्रिभुवनले पनि “राणा प्रशासनमा जे–जति गर्‍यौँ, तिम्रो दोष नभएको र कर्तव्य कर्म गर्‍याैँ” भनी धाप मारेका थिए । त्रिभुवनको भनाइ उद्धृत गर्दै थापाले लेखेका थिए, “तिमीले त्यस बेला पक्राउ गरी जेलनेल ठोकेका काँग्रेसी नेताहरू तिम्रो बफादारी र इमानदारीको सराहना मसँग गर्दछन् ।” (थापा, हरिबहादुर – अब चन्द्रबहादुरहरू जन्मन्छन् र ? – अन्नपूर्ण पोष्ट जेष्ठ २४, २०७७ बाट उद्धरण)
 धन्य, त्यस बेला विश्वेश्वरप्रसाद कोइरालाजस्तो उचाइको उदार नेतृत्व थियो, योग्य र क्षमतावान् प्रशासकको कदर भयो । अहिलेको जस्तो क्षुद्र राजनीति गर्नेहरू भए चन्द्रबहादुरको हालत के हुन्थ्यो होला !

२००८ सालमा चन्द्रबहादुर थापा वन तथा मालपोत विभागको डाइरेक्टर भए । त्यसै बेला उनले ‘हरियो वन नेपालको धन’ लोकोक्ति प्रचलनमा ल्याएका हुन्, जुन अद्यापि चर्चित छ । ०१२ सालमा उनी पहिलो मुख्य सचिवमा नियुक्त भए । सैनिक पृष्ठभूमिका उनले जङ्गी प्रशासनको जस्तै कडा अनुशासन निजामती सेवामा पनि लागू गर्न सफल भए । कर्मचारीहरू कामचोर हुन्छन्, त्यसैले थापाले कार्यालय समयको पालना कडा ढङ्गले गराउन डरको सञ्चार गर्न खोजे । उनले सिंहदरबारको पहिलो चोकमा ठूलो घण्टा राखे, जसलाई कर्मचारीहरूले ‘चन्द्रघण्टा’ नाम दिएका थिए । 

प्रशासनिक इतिहासमा रुचि राख्ने बलराम सापकोटाका अनुसार, यो घण्टी चन्द्रबहादुरको आदेशमा कृष्णबहादुर थापाले बजाउने गर्दथे । बिहान १० बजे र अपराह्न ५ बजे घण्टी बजाइन्थ्यो । १० बजेको घण्टी बजेपछि कुनै कर्मचारी सिंहदरबार प्रवेश गर्न पाउँदैनथे र ५ बजेको घण्टी नबजेसम्म कसैले अफिस छाड्न सक्दैनथे । चन्द्रबहादुर थापाको यस्तो कडा प्रशासनको पालना गराउने यिनै कृष्णबहादुरलाई रिसले कर्मचारीहरूले पुड्के चन्द्रबहादुर नाम दिएका थिए, चन्द्रबहादुर थापाको चम्चे भनेर । मुख्य सचिव थापा अग्ला कदका थिए र द्वारपाले पुड्के थिए । त्यसैले उनको नाम ‘पुड्के चन्द्रबहादुर’ भन्न थालियो । पुड्के चन्द्रबहादुर निकै कडा थिए । एक/दुई मिनेट पनि सहुलियत दिँदैनथे । उनको बारेमा पनि रोचक भनाइ सुनिन्थ्यो । एक दिन उनले मन्त्रीलाई नै फर्काइदिएका थिए रे ! केही पुराना कर्मचारीहरूको भनाइअनुसार उनले तत्कालीन युवराज वीरेन्द्रलाई नै सिंहदरबार छिर्न रोकेका थिए रे ! दुवै चन्द्रबहादुरको आतङ्क नै छाएको थियो, त्यस बखत सिंहदरबारमा । यिनै पुड्के ढोकापालेको फन्दामा परेका डा. भेषबहादुर थापाको सम्झना पनि रोचक छ । उनले आफ्नो पुस्तक ‘राष्ट्र–परराष्ट्र’मा लेखेका छन्, “सिंहदरबार पुगेपछि म ढोकापालेको फन्दामा परेँ । ढोकेको नाम चन्द्रबहादुर थापा थियो । भित्र आवतजावतमाथि बढी कडाइ गर्ने उनको शैली रहेछ । म मुख्य सचिवकहाँ जान लाग्दै थिएँ । 

उसले सिधै भन्यो— ओ मिस्टर, कहाँ जान लागेको ? मैले जवाफ दिएँ— अफिस जान लागेको, योजनामा ! फेरि उसले सोध्यो— तपाईं को ? मैले फेरि जवाफ दिएँ— म योजनाको सदस्य–सचिव भेषबहादुर थापा । तर उसले चर्कै आशङ्का गर्‍यो । फेरि थप्यो— म यत्रो वर्षदेखि सिंहदरबारमा काम गरिरहेको छु । सारा कर्मचारी चिन्छु । मैले नचिन्ने पनि सचिव हुन्छ ? तपाई कहाँको सचिव ? फेरि तपाईँको टोपी खोइ ? त्यति बेला म २४ वर्षको मोटोमोटो भर्खरको ठिटो थिएँ । ढोकापालेको अप्रत्यासित व्यवहारबाट म असमञ्जसमा परेँ । त्यसपछि योजना परिषद्मा उसैलाई टेलिफोन गर्न लगाएँ । त्यति बेला त्यहाँ कायममुकायम सचिव भरतबहादुर प्रधान रहेछन् । प्रधान स्वयम् ढोकामा लिन आएपछि म ढोकापाले चन्द्रबहादुरको फन्दाबाट मुक्त भएँ ।” (थापा, भेषबहादुर – राष्ट्र–परराष्ट्र — फाइनप्रिन्ट, २०८०)

अहिले सिंहदरबारको सुरक्षाका लागि प्रहरीको छुट्टै युनिटलगायत अन्य सुरक्षा निकायहरूका युनिट पनि छन् । सिंहदरबारको सुरक्षाको प्रबन्ध गर्न एउटा समिति नै छ । यस्तो व्यवस्था हुँदा पनि त्यहाँको सुरक्षा फितलो देखिन्छ तर एउटा ढोकापाले ‘पुड्के चन्द्रबहादुर’को सुरक्षा त्यति मजबुत हुनु निकै प्रशंसनीय मान्न सकिन्छ । मुख्य सचिव चन्द्रबहादुर थापाको बारेमा भेषबहादुर थापा लेख्दछन्, “त्यसो त मुख्य सचिव चन्द्रबहादुर थापाको नाम त्यस समयमा आतङ्कको परिचायक मानिन्थ्यो । उनी सारै कडा मिजासका मानिस थिए । सैन्य जीवनबाट सचिव बनेका थापा किंवदन्तीका पात्र मानिन्थे ।” 

चन्द्रबहादुर थापा ०१६ साल असार १५ मा पहिलो महालेखापरीक्षकमा नियुक्त भए । यसअघि छुट्टै स्वतन्त्र लेखापरीक्षण संस्था थिएन । ००८ सालमा महालेखापालको कार्यालय खुलेको थियो । यसैले लेखापरीक्षणको कामसमेत गर्दथ्यो । यो संस्था अर्थ मन्त्रालय मातहत थियो । ०१५ सालमा ‘नेपाल अधिराज्यको संविधान’ जारी भएपछि महालेखापरीक्षकलाई संवैधानिक निकायको रूपमा रहने व्यवस्था भएको हो । थापा महालेखापरीक्षक बनेपछि देशको आम्दानी खर्चलाई हिनामिना र अनियमितता हुन नदिन अत्यन्त कडारूपमा प्रस्तुत भएको उदाहरण पाइन्छ । 

०७५ सालमा ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ नामको उनको जीवनीमा आधारित स्मृतिग्रन्थ सार्वजनिक कार्यक्रममा तत्कालीन महालेखापरीक्षक टङ्कमणि शर्माले तत्कालीन शासकीय व्यवस्था, लेखापरीक्षणको शुरुवाती स्थिति र विधि तथा पद्धतिको अभावमा समेत लेखापरीक्षणको स्वतन्त्रता सम्बन्धमा स्पष्ट अडानसहित लेखापरीक्षणबाट निस्केका नतिजाहरू निर्भीकतापूर्वक राष्ट्रप्रमुखसमक्ष पेश गर्ने थापाको अदम्य साहस र भूमिकाको प्रशंसा गरेका थिए । लेखापरीक्षणमार्फत सुधारका कार्यमा थापाले देखाएको साहस र भूमिका हाम्रा लागि सदैव प्रेरणाको स्रोत बनिरहने कुरामा जोड दिँदै आफूले थापाले स्थापित गरेको पद्धतिलाई अँगाली उनकै मार्गमा हिँडिरहेको उनको भनाइ थियो ।

थापाले त्यस बेला तयार पारेको प्रतिवेदनमा सरकारी साइकल, मोटरसाइकल हुन्थ्यो भने अहिलेको अवस्थामा प्राडो, हेलिकप्टर बेरुजु हुने शर्माको भनाइ थियो । थापा आफैँ पनि कडा आर्थिक अनुशासनमा रहने गरेको सन्दर्भ त्यस कार्यक्रमका वक्ताहरूले उल्लेख गरेका थिए । हिमालयशमशेर राणाले आफ्ना सम्झनाहरू सुनाउँदै थापा मुख्यसचिव रहेको बेला आफूले सिंहदरबारबाट हिँड्दै घरतिर गएको भेटेको स्मरण गर्दै मन्त्रिपरिषदको काम अबेरसम्म गरेर राति अबेर हिँडेर घर जान लागेको आफूलाई बताएको चर्चा गरेका थिए तर अहिले भने सामान्यभन्दा सामान्य कामका लागि पनि सरकारी सम्पत्ति दुरूपयोग हुने गरेको उनले बताएका थिए । 

उनी महालेखापरीक्षक भएपछि उच्च पदस्थ कर्मचारीहरू थर्कमान भएका थिए रे, उनको कारबाहीको डरले । उनले सरकारी साइकल निजी प्रयोग गरेकोमा समेत प्रश्न उठाउँथे । उनी आफैँ भने कहिले पैदल, कहिले रिक्सा र सार्वजनिक बसमा आउने–जाने गर्दथे भनेर उनलाई चिन्नेहरूले बताउने गर्दछन् ।

महालेखापरीक्षकको पहिलो प्रतिवेदनमा लेखामा देखिएको भद्रगोल र अनियमितता निर्भीकतापूर्वक उल्लेख गरेका थिए । उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो, “अनियमितताको स्पष्टीकरण माग्दा कसैले निचमारी बस्ने, कसैले अधकल्चो जवाफ पठाउने, उपयुक्त तहबाट लेखी आउनुपर्दछ भन्ने सुझाव अर्पित गर्दा कसैकसैले सो लेखी पठाउनु शोभनीय भएन । अनियमितता समयमै पत्ता नलागी आवश्यक कारबाही नभई लाखौ“ रुपियाँ जिन्सी मालसामान हिफाजतसाथ राखिएको छैन । लेखापरीक्षणको सन्दर्भमा तत्सम्बन्धी कागजात संविधानबमोजिम सेवकले हेर्न पाउनेमा अर्थ मन्त्रालयले हेर्न नदिन खिचलो झिकेको थियो ।” उनको कडा प्रतिवेदनप्रति राजा महेन्द्र पनि चिन्तित हुन पुगेका थिए भनिन्छ । मन्त्री सचिवहरूसँग महेन्द्रले भन्थे रे, “भोलि महालेखापरीक्षकको प्रतिवेदन अध्ययन गर्नेहरूले त्यो पैसा राजाले खाएछ भन्नेछन् ।” उता थापा भने मुलुकको ढुकुटीबारे यथार्थ बताउनु सेवकको दायित्व भएको मान्यता राख्दथे । राजतन्त्र भएको बखत संवैधानिक पदाधिकारीहरूले आफूलाई राजाको सेवक भन्न–लेख्ने गर्दथे ।

सूर्यबहादुर थापाको स्मरण पनि चन्द्रबहादुर थापाप्रति निकै सकारात्मक देखिन्छ । उनको जीवनीमा आधारित ‘मेरा नौ दशक’मा यसरी चर्चा गरेका छन्, “मन्त्रिपरिषद्को अध्यक्ष हुँदाको एउटा घटना म कहिल्यै भुल्दिनँ । त्यति बेला महालेखापरीक्षक थिए, चन्द्रबहादुर थापा । एकदमै कडा र खरो स्वभावका । उनका छोराहरू मसँगै पढेका थिए । उनलाई म कसको छोरा भन्ने पनि थाहा थियो । एक दिन मेरो कार्यकक्षमा आएर भने— अध्यक्षज्यू, यी नेपाली भनेका जिउँदाका मलामी जाने हुन् । म मरेपछि कोही मलामी जाँदैन । तपाई“को अघिल्तिर ज्यू–हजुर गर्दछन्, हामी सब ठीक गर्छौ“ भन्छन् । यिनीहरू जम्मैको चाला यस्तै हुन्छ । यिनको चक्करमा नपर्नुहोला । उनले मलाई कडा हुनुपर्दछ भनेका थिए । म चन्द्रबहादुर थापाले सुझाइदिएको यथार्थ कहिल्यै भुल्दिनँ । उनी मसँग अत्यन्त मिल्ने पनि होइनन् । खासमा त उनी मेरो आलोचक नै थिए तैपनि उनले मलाई सत्यबोध गराए ।” (थापा, सूर्यबहादुर – मेरा नौ दशक, बुकहिल पब्लिकेशन प्रा.लि. २०७९)

कोही पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन । यदि त्यसो हुँदो हो त ऊ मानिस नभई भगवान् मानिन्थ्यो । चन्द्रबहादुर थापाको व्यक्तित्व र व्यवहारलाई हेरेर आलोचना गर्नेहरू पनि हुने नै भए । उनको स्वभावको कारण कर्मचारीवृत्तमा ‘आतङ्कको पर्याय’ भनेर चर्चा गरिन्थ्यो । प्रणाली बसाउन एकहदसम्मको कडाइ ठीकै भए पनि भय सञ्चार नै हुने कुरा अपाच्य हुने गर्दछ । माथि भेषबहादुर थापाले त्यति राम्रो नभनेको सन्दर्भको चर्चा गरिएकै छ । 

थापा मुख्यसचिव भएको समयमा डा. के.आई. सिंह प्रधानमन्त्री भएपछि दुवै जङ्गी स्वभावका भएकाले सम्बन्ध राम्रो भएन । सिंहले मुख्य सचिवसहित केही उच्चपदस्थ कर्मचारीहरूलाई भ्रष्ट भन्दै खोस्न खोजेको र त्यसको डरले चन्द्रबहादुर थापा बिदामा बसेको सन्दर्भ अलि अर्कै खालको देखिन्छ । सिंहको सरकार अल्पअवधिमै विघटन गरिएकाले थापालाई कारबाही गर्न नसकिएको भनेर विशेष अदालतमा उनले बयानमा भनेका थिए तर सिंहबाहेकका अन्य सरकार प्रमुखहरू चन्द्रबहादुर थापाको कामबाट प्रभावित हुनुले उनी राम्रा प्रशासक थिए भन्नेमा द्विविधा छैन ।

पत्रकार हरिबहादुर थापाले अन्नपूर्ण पोस्टमा ‘अब चन्द्रबहादुरहरू जन्मन्छन् र ?’ शीर्षकको लेखमा लेखेका छन्, “राष्ट्रको ढुकुटी खोक्रो हुनुमा तिनै शासकीय वृत्तका पात्रहरूमा भ्रष्ट मनोवृत्ति हाबी हुनु हो । नियन्त्रणका साँचो बोकेकाहरू छुचो हुन र खतरा मोल्न चाहँदैनन् । अझ शासकीय वृत्तबाट हराएको शब्द बनेको छ, ‘अनुशासन’ र ‘निष्पक्षता’ । सरकारी पदमा आसीन पात्रहरू रातारात नवधनाढ्य वर्गमा स्थापित हुन्छन् । छोराछोरी महँगा विद्यालयमा अध्ययन गर्दछन् । तिनको तलब हेर्ने हो भने जो–कोहीको पनि हातमुख जोर्न धौ–धौ हुनुपर्ने हो । यसको अर्थ हो, सरकारी धनमा लुट मच्चाउनु । यतिखेर सरकारी संयन्त्रमा न ‘चन्द्रघण्टी’ बज्छ, न माथिदेखि तलसम्म ‘चन्द्रबहादुरहरू’ नै छन् ।” 

चन्द्रबहादुर थापा अनुशासन र निष्ठाका पर्यायजस्तै भएकाले प्रशंसाका साँच्चै हकदार हुन् भन्नेमा कुनै शङ्का छैन । ‘हरियो वन नेपालको धन’, ‘चन्द्रघण्टी, जिउँदाका मलामी’जस्ता उक्तिहरूले सधैँ उनको स्मरण गराउँदछ । 

(लोक सेवा आयोग पूर्वअध्यक्ष तथा पूर्वप्रशासक उमेशप्रसाद मैनालीद्वारा लिखित ‘सुनेको शासन : भोगेको प्रशासन’ पुस्तकको अंश) । यो पुस्तक आज बिहान साढे ११ बजे विमोचन हुँदै छ । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्